‘आफ्नै गाडीको बजेट रकमान्तर गरेको योजनामा के को भ्रष्टाचार ?’

विदुर । बैकल्पिक खानेपानी आयोजना निर्माणको बिषयमा कान्तिपुर दैनिकमा समाचार आएको प्रति विदुर नगरपालिकाले चासो व्यक्त गरेको छ । धेरै मुल्यमा उपभोक्ता समितिलाई काम सम्झौता गराएर उपभोक्ता समितिले कम रकममा अर्को ठेकेदारलाई काम दिएको आशयको समाचार कान्तिपुरले शुक्रवार प्रकाशित गरेको थियो ।

विदुर नगरपालिकाका उप्रमुख र उपप्रमुखलाई गाडी खरिदका लागि नगरसभाले विनियोजन गरेको बजेट समेत रकमान्तर गरेर सञ्चालन गरिएको आयोजनाहरुमा त्यस्तो हुनै नसक्ने विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

नगरपालिकाले गरेको पत्रकार सम्मेलन बोल्दै पण्डितले तेश्रो साना शहरी खानेपानीको आयोजनाको बिकल्पको रुपमा ५० लाख रुपैयाँ लगानी गर्दै ‘डिप बोरिङ’ गरेर पानी वितरण भइरहेको बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेबकुमार पोखरेलले समाचारमा आए अनुसार ४० लाख रुपैयाँ दुरुपयोग नभएको बताए । महालेखा परीक्षकले ‘हेभी इक्वइकमेन्ट’ प्रयोग गरेको विषयलाई मात्रै प्रतिवेदनमा जोड दिएको उनको भनाई छ ।

बैकल्पिक खानेपानी उपभोक्ता समितिका अध्यक्ष सञ्जिब श्रेष्ठले २ वटा बोरिङ निर्माण गरि खानेपानीको सहज आपुर्ती गर्दा १ करोड २३ लाख रुपैयाँ खर्च भएको बताए । नगरपालिकाले उपलब्ध गराएको ५० लाख रुपैयाँ सहित अन्य संघ संस्थाबाट प्राप्त सहयोगले आयोजना निर्माण सम्पन्न भएको र उपभोक्ता समितले सबै रकम बैकिङ्क प्रणाली मार्फत भुक्तान गरेकोले आवश्यक कागजात र विल भरपाई समितिसँग सुरक्षित रहेको बताए ।

७ श्रावण २०७७, बुधबार २०:४७



तपाईको प्रतिक्रिया