नाकामा कडाई

डा. रेमकुमार राई कोल्पुटारमा तारकेश्वरका अध्यक्ष रमेश वस्तीको जाँचगर्दै ।

विदुर\कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट आम नागरिकलाई सुरक्षित राख्न राज्यले मुलुकलाई ‘सेमि लकडाउन’ को अवस्थामा राखेर आफ्ना सबै संयन्त्रहरूलाई संक्रमण नियन्त्रण अभियानमा परिचालन गरिसकेको छ । नुवाकोटमा पनि कोरोना भाईरस बिरुद्धको अभियानलाई तिब्रताका साथ अघि बढाईएको छ भने संक्रमण नियन्त्रणमा उच्च सतर्कता अपनाईएको छ ।

यसैक्रममा शनिवार काठमाडौं र तराईका जिल्लाहरूबाट नुवाकोट प्रबेश गर्ने प्रमुख नाका गल्छी रसुवागढी सडक खण्डमा पर्ने बेलकोटगढी नगरपालिका वडा नम्वर ६ को कोल्पुटारमा चेकप्वाईन्ट सहित हेल्थ डेस्क सञ्चालनमा ल्याईएको छ । चेकप्वाईन्टको जिल्ला अस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राईले प्रतिनिधिसभा सदस्य नारायण खतिवडाको शरिरको तापक्रम ‘थर्मोमिटर गन’बाट परिक्षण गरेर सुरुवात गरियो । यससंगै यो नाकाबाट प्रबेश गर्ने सबै नागरिकलाई स्वास्थ्य परीक्षण गरेर मात्र जिल्ला प्रबेश गर्न दिईने प्रबन्ध मिलाईएको छ । चेक प्वाईन्टमा विदुर नपा, बेलकोटगढी नपा र तारकेश्वर गापाका स्वास्थ्यकर्मीका साथै प्रहरी चौबिसै घण्टा तैनाथ रहनेछन् । नुवाकोट प्रबेश गर्ने गुर्जेभञ्ज्याङ र ककनी नाकामा समेत चेकप्वाईन्ट सहितको हेल्थ डेस्क स्थापना गरिएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिए । यसअघि कोल्पुटार बजारमा आयोजित स्थानीयहरूसंगको अन्तरक्रियाका क्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल र तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, नुवाकोटका प्रमुख जिल्ला अधिकारी पोखरेल र प्रहरी प्रमुख प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले कोरोना संक्रमण रोकथामका लागि राज्यले चालेका हरेक प्रयासहरूलाई प्रभावकारी बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । त्रिशुलीअस्पतालका मेडिकल सुपेरिण्टेण्डेण्ट डा. रेमकुमार राई र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना रोकथामका लागि भए गरेका प्रयास, उपलब्ध जनशक्ति र प्राबिधिक पक्षको जानकारी गराए ।

यसै बीच, नुवाकोटको पञ्चकन्या गाँउपालिका जाने सबै नाकाहरूमा हेल्थ डेस्कको स्थापना भएको छ । कोरोना अर्थात कोभिड १९ को भाईसको संक्रमण गाउँपालिका भित्रिन नदिनका लागि सहरेटार, छहरे, बुढिशेरा र चौघडामा गापाले केन्द्र राखेको छ । गापाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’का अनुसार अन्य स्थानबाट पञ्चकन्या प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षण गरिने छ । रुखा, खोकी, ज्वरो जस्ता रोगको परीक्षण पनि मात्रै पञ्चकन्या प्रवेश गर्न दिइने छ । केही समय हेल्थ डेस्कमा राखेर ३ पटक तापक्रम लिए पछी उनीहरू गाँउपालिका प्रवेश गर्न पाउने बताइएको छ ।

नागरिकलाई गाउँपाकिलाले सकेसम्म बाहिर नजान आग्रह गरेको छ । साथै, घरघरमा पुगेर भाईरसको संक्रमणबाट बच्ने उपायको बिषयमा जनचेतना समेत फैलाउदै आएको छ । ‘घरको दैलोमा नाग टाँसेको जस्तै गरेर कोरोनाबाट बच्ने उपायको पर्चा घरघरको दैलोमा टाँसेका छौं’ अध्यक्ष तामाङले भने । साथै, गाँउपालिका आफैले सबै वडाको बिभिन्न स्थानमा हात धुने ब्यबस्था समेत मिलाएको छ । त्यसका लागि साबुन र पानीको ब्यबस्था गाउँपालिकाले ठाउँ ठाउँमा गरेको छ । 


९ चैत्र २०७६, आईतवार १३:३५



तपाईको प्रतिक्रिया