रसुवा र नुवाकोटमा पहिरोको उच्च जोखिम

सूचक फोटो

विदुर । मनसुन सुरु भएसँगै नुवाकोटमा बाढी पहिरोको जोखिम बढेको छ । नुवाकोट र रसुवामा बाढि पहिरो लगायतका जोखिमका कारण बर्सेनी ठूलो जनधनको नोक्सानी हुने गरेको छ । मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घर खेत बगाएर बिस्थापित हुने समस्या नुवाकोटमा बर्षेनी झेल्दै आएको छ ।

यो वर्ष पनि ठाउँठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ । बर्षेनी निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकोले जनधनको क्षति हुने गरेको छ । तर सरकारले भने सधैं आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ । यसवर्ष पनि पालिकादेखि केन्द्रसम्मका विभिन्न निकायहरुले विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् ।

बाढी पहिरोका हिसाबले अत्यन्तै प्रभावित मानिएको नुवाकोटको किम्ताङ, उर्लेनी, घ्याङफेदी लगायतका क्षेत्रमा स्थानिय तह देखि जिल्ला तह सम्मले रोकथाम तथा नियन्त्रणको लागि तयारी सुरु भइसकेको जिल्ला बिपद् ब्यबस्थापन समितिले जनाएको छ ।

विपद व्यवस्थापन कार्यविधि पारित गरेर विपद व्यवस्थापन समितिका व्यक्तिहरुलाई तयारी अवस्थामा रहनका लागि निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।
मनसुनजन्य विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नेबारे पनि छलफल भैसकेको छ । खोज तथा उद्धार कार्यहरुमा सहयोग पुग्ने खालका कार्यक्रमहरु तीब्र रुपमा सञ्चालन गर्न आवश्यक तयारी भैसकेको उनले बताए । खोज तथा उद्धार कार्यमा प्रयोग हुनसक्ने डोजर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्ट र अन्य उपकरणको खोजि तयारी अवस्थामा राखिएको छ ।

नदी तथा खोलाको जोखिमयुक्त ठाउँ पहिचान गर्ने, नदी कटान जस्ता समस्यामा आवश्यक हुने प्लाष्टिकको बोरा, ग्याबियन जाली लगायतका सामाग्री पनि तयारी अवस्थामा राखिएको बताईएको छ ।

नुवाकोटका सबै स्थानिय तहले बिपद् ब्यबस्थापनको लागी आबाश्यक सामाग्री खरिद गरिसकेको बताएका छन् । नदी तथा खोलाको जोखिमयुक्त ठाउँ पहिचान गर्ने काम पनि सुरु भएको छ ।

यस्तै, पहिरोको जोखिम रहने रसुवामा पनि पूर्वतयारी थालिएको छ । मनसुनजन्य विपद्का सम्बन्धमा नियमित जस्तै बैठक बसेर पूर्वतयारीहरु भइरहेको रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिए । जाखिमयुक्त ठाउँको पहिचान गरेर सुरक्षाकर्मी तैनाथ गर्ने काम भइरहेको उनको भनाई छ । इन्धनको जोहो, लगायतका काम पनि भइरहेको छ ।

यो वर्ष छिट्टै नै मनसुन सक्रिय भएकाले पासाङल्हामु राजमार्ग, गल्छी–त्रिशुली–बेत्रावती, मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक खण्डका विभिन्न ठाउँमा नदी कटानका कारण सडक अवरुद्ध हुन थालिसकेका छन् । भोटेकोशी, त्रिशूली लगायतका नदी तथा खोलाहरुमा जलप्रवाह बढ्न गई आसपासका बस्तीहरुमा जोखिम बढेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिसकेको छ । कुनै पनि प्राकृतिक प्रकोपजन्य घटना भएमा पालिका, सुरक्षा निकाय र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको पनि भट्टराईले बताए ।

यस्तै मनसुनको समयमा सम्भावित विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारी, गैरसरकारी, संघसँस्था, पालिका, जलविद्युत आयोजनाहरु, राजनीतिक दलहरु, नागरिक समाज, सबैलाई समन्वयात्मक रुपमा परिचालित हुन अपिल गरिएको छ ।

१७ असार २०७७, बुधबार २१:४८



तपाईको प्रतिक्रिया