नाका खुल्यो, आएन सामान

रसुवा । सोमबारदेखि नाका सञ्चालन गर्ने निर्णय गरेर अघिल्लो दिन नै सबै तयारी गरेपनि रसुवा भन्सारमा सामान आउन सकेको छैन ।

पारीको केरुङका चिनियाँ अधिकारी र व्यवसायीले चासो नराख्दा मंगलबार पनि उक्त नाका सहज हुन नसकेको रसुवा भन्सारले जनाएको छ । लामो समयदेखि केरुङ सीमा नाकामा अलपत्र सामानहरु सोमवार रसुवा भन्सारमा आउने भएको थियो । राजधानीमा चिनियाँ राजदूतावासका प्रतिनिधि सहित बसेको वाणिज्य तथा आपूर्ति मन्त्रालयको बैठकले एकतर्फी नाका खोल्न निर्णय गरेको थियो ।

गएको बिहीबारदेखि सामान आयात गर्ने प्रक्रिया रसुवागढी भन्सार कार्यालयले अगाडी बढाएको थियो । रसुवा भन्सार कार्यालयका अनुसार चालक, सहचालक र लेबरहरुको कोरोना परीक्षण रिपोर्टसहितको कागजपत्र पुल पारी पठाइसकेका छन् । नाका सञ्चालनका लागी भएको सहमती अनुसार नेपाल पक्षले सबै तयारी पुरा गरेको जनाएको छ । तर चिनियाँ पक्षले जबाफ नदिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खतिवडाले बताए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएयता नाकाहरू बन्द गरिएका थिए । बिस्तारै स्थिति सामान्य बन्दै आएपछि नाका खुलाएर आयात–निर्यात सहज बनाउन सरकार सकारात्मक भए पनि केरुङबाट चिनियाँ अधिकारीहरूले तदारुकता देखाएका छैनन् ।

नेपाली व्यवसायीहरूका अनुसार तातोपानीका तुलनामा केरुङ नाकाबाट ढुवानी केही सस्तो पर्छ । त्यसैले धेरैका अर्डरका सामान लिएर कन्टेनर रसुवा भन्सार हुँदै भित्रिनु पर्ने थियो । नेपाली व्यवसायीले सामान ल्याउन खोजिरहे पनि चिनियाँ नाकाका अधिकारी र व्यवसायीले हतार नगर्दा ढुवानीका साधन वारिपारि गरेका छैनन् ।

१७ असार २०७७, बुधबार २२:०२



तपाईको प्रतिक्रिया