हेटौडा । पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणको लागि वाग्मती प्रदेश सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सुरुङमार्गका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत अर्थ विविध शीर्षकमा एक अर्ब रुपैयाँ बजेट छुट्याएको हो ।
तीन वर्षभित्र बनाइसक्ने लक्ष्यसहित १५ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि आगामी आर्थिक वर्षका लागि एक अर्ब रुपैयाँ मात्रै बजेट विनियोजन भएको छ । संघीय सरकारको सहलगानीमा बन्ने यो सुरुङमार्गका लागि संघीय सरकारले आगामी आवका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
वाग्मती प्रदेश सरकारले सुरुङमार्गकै लागि भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा ३ करोड ६० लाख रुपैयाँ थप छुट्याएको छ ।
मन्त्रालय अन्तर्गत नै सुरुङमार्ग निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुरुङमार्ग निर्माण आयोजनाका लागि १ करोड रुपैयाँ, आयोजनाका लागि आवश्यक इन्जिनियरिङ तथा अन्य मेसिनरी औजार, ल्याबका सामग्री खरिदका लागि २० लाख रुपैयाँ, डिजाइन रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ, प्रोक्युरमेन्ट डकुमेन्ट रिभ्यु कार्यका लागि २० लाख रुपैयाँ र मदन भण्डारी मार्ग र सुरुङमार्ग निर्माणका लागि मुआब्जा वितरण गर्न एक करोड रुपैयाँ छुट्याइएको छ । चालु आवमै सुरुङमार्गको टेन्डर आह्वान गर्ने तयारी छ ।
१७ असार २०७७, बुधबार २२:२७