वडा अध्यक्षहरु विरुद्ध प्रहरीमा उजुरी

विदुर । पत्रकारमाथी आक्रमण गरेर क्यामेरा तोडफोड गर्ने काँग्रेसका तीन जना वडा अध्यक्षहरुलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ ।

शुक्रवार टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीले उजुरी दर्ता गरेका हुन् । तारकेश्वर गाउँपालिकाको वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा उजुरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटले यस विषयमा अनुसन्धान र छानविन सुरु गरेको छ । प्रहरीलाई समेत आक्षेप लगाएर पत्रकारको क्यामेरा तोडफोड भएको अभिव्यक्ति दिने वडाअध्यक्ष पक्राउका लागि प्रहरीले सूचना संकलन थालिसकेको छ ।

असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनको क्रममा पत्रकार सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर तोडफोड गर्ने तीनै जना वडाअध्यक्षहरुलाई हदैसम्मको कारबाही र क्षतिपुर्तीको माग गरिएको छ । सोही कार्यक्रममा समाचार संकलनका लागि पुगेका त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई समेत ‘हातखुट्टा भाच्ने’ धम्की उनीहरुले दिएका थिए ।

घटनाको जिम्मा लिनुको सट्टा वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले हिजो विज्ञप्ती जारी गरी पत्रकारको हातबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको क्यामेरा तोडफोड कसरी भयो प्रहरीले जानुन् भनेका छन् । पत्रकार भण्डारीको हातबाट खोसेर बाहिर फालिएको क्यामेरा बाहिर लात्तिभकुण्डो भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अहिलेसम्म फिर्ता नभएको उक्त क्यामेरा गाउँसभा भएको स्थल वरपर क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी श्रोतले बताएको छ । घटनास्थलको र क्षति पुगेको क्यामेराको अवस्थाको प्रहरीले मुचुल्ला तयार गरेको छ । क्यामेराका अवस्था दखेकाहरुका अनुसार त्यसमा प्रयोग हुने मेमेरिकार्ड, ब्याट्री हराएको छ । क्यामेरामा जडित शिशाका भागहरु पूर्णरुपमा ध्वस्त भएको छ ।

प्रेस स्वतन्तत्रताको हनन् र जनप्रतिनिधिहरुले गरेको गुण्डागर्दी शैलीको चौतर्फी आलोचना भएको छ । पत्रकार महासंघ जिल्ला, प्रदेश, केन्द्रिय समितिले घटनाको तत्काल छानविन गरि कारबाही गर्न माग गरिरहेको छ । क्षतिपुर्ती अविलम्ब दिलाउन समेत महासंघले माग गरिरहेको छ । त्यस्तै, आदिवासी जनजाती पत्रकार संघ जिल्ला र प्रदेश समिति, फोटो पत्रकार महासंघ जिल्ला, प्रेस संगठन नेपाल नुवाकोट, प्रेस युनियन नुवाकोट लगायतका पत्रकारिता पेशाका छाता संस्थाहरुले घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्न वडाअध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

१८ असार २०७७, बिहीबार १०:५९



तपाईको प्रतिक्रिया