धादिङ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन ।
कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।
सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको छ । निर्माणस्थलमा अहिले १०÷१२ स्थानीय कामदार मात्रै रहेका छन् । गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको हो ।
जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । बन्दाबन्दी लागू भएको एक महिनापछि विकास निर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण बनेको छैन ।
२३ असार २०७७, मंगलवार १२:४६