तारकेश्वर – तारकेश्वर गाउँपालिकामा असार १० गते पत्रकारमाथि दुर्व्यवहार गर्दै क्यामेरा तोडफोड गर्ने वडाध्यक्षहरुले अहिलेसम्म क्षतिपूर्ति प्रदान गर्ने र घटनाको जिम्मा लिएका छैनन् ।
गाउँसभाको समाचार संकलन गरिरहेका टिभि त्रिशुलीका सुजित भण्डारीको हातबाट क्यामेरा खोसेर फुटाउने तारकेश्वर वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नंं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
क्षतिभएको क्यामेराको मुल्य र घटनाको जिम्मेवारी लिएर माफी माग्नु पर्ने भन्दै पत्रकार सुजित भण्डारीले प्रहरीमा उजुरी दर्ता गराएका छन् । नौं दिन अघि भएको घटनाको अहिलेसम्म उनीहरुले जिम्मेवारी लिएको छैन । तीनै जना वडा अध्यक्षहरुले ११ गते विज्ञप्ती जारी गरेर प्रहरीको हातबाट क्यामेरा फुटेको अभिव्यक्ति सार्वजनिक गरेका थिए । घटना भएको नौं दिनसम्म क्यामेरा फिर्ता भएको छैन । साथै उक्त क्षतिग्रस्त क्यामेराको अवस्थाको बारेमा समेत पत्रकार भण्डारी र सम्वन्धित सञ्चार गृहलाई गाउँपालिका तथा वडाअध्यक्षहरुले जानकारी दिएको छैन ।
घटना भएको यत्तिका दिनसम्म माफी नमाग्ने तथा क्षर्तीपुर्तीको प्रक्रियामा नजाने वडाअध्यक्षहरुको शैलीप्रति पेशागत संघसंस्थाहरुले असन्तुष्टि जनाएका छन् । प्रेस स्वतन्त्रताको हनन् गर्दै, पत्रकारहरुलाई दुब्र्यबहार गर्ने, कार्यक्रम खिचिरहेको क्यामेरा फुटाउने हर्कतको यस अघिदेखिनै आलोचना हुँदै आएको छ । घटनामा सम्लग्न तीनै जना वडा अध्यक्षहरु नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।
त्रिशुली टिभिका समाचार प्रमुख सुजित भण्डारी सहित त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीमाथि समेत उनीहरुले दुब्र्यबहार गरेका थिए ।
पत्रकार भण्डारी चढेर गएको मोटरसाइकल चौथो दिनमा मात्रै विदुर आइपुगेको थियो । १० गते राती आफ्नो सवारी साधन छाडेर प्रहरीको सवारी साधनमा पत्रकार भण्डारी फर्केका थिए । तीन दिनमा गाउँपालिकाले पत्रकारको मोटरसाइकल विदुर ल्याइदिएको थियो । क्षतिभएको क्यामेराको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।
२५ असार २०७७, बिहीबार १३:३०