जरिवाना उठाउन प्रहरीलाई पठायो प्रशासनले रसिद

मास्क प्रयोग नगर्नेविरुद्ध कडा बन्यो प्रहरी

नुवाकोट । कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देश गरेको छ । आज ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई परिपत्र भएको छ । गृहको निर्देशनको आधारमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रहरीलाई तत्कालै परिचालन गर्ने भएको छ । मास्क नलाई हिडेकालाई पक्राउ गर्ने र जरिवाना गर्ने तयारी छ । त्यसका लागि प्रशासन कार्यालयले रसिद छपाएर प्रहरीलाई दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार जिल्ला प्रशासनबाट प्राप्त भएको जरिवाना लिने रसिदलाई जिल्लाका प्रहरी युनिटहरुमा पु-याउने काम भइरहेको छ । अहिले पाँच सय थान रसिद प्रहरीले लिएको बताइएको छ ।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यस्तो कडा कारबाहीको आन्तरिक तयारी भइरहेको हो । साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था भएको छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रमण रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने पनि बताइएको छ ।

११ श्रावण २०७७, आईतवार १७:२७



तपाईको प्रतिक्रिया