विदुर । नुवाकोटको सुर्यगढी गाउँपालिकाको क्वारेन्टिनमा बसेकामा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले निषेधाज्ञा जारी गरेको छ । गए रातीबाट सुर्यगढीको चार किल्ला सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले जानकारी दिए । गाउँपालिकाको साथमा जिल्ला प्रशासन कार्यालयले समय गाउँपालिकामा निषेधाज्ञाको गरिएको सूचना जारी गरेको छ । गाउँपालिका अध्यक्ष तामाङ र प्रजिअ झंकनाथ ढकालले बेग्लाबेग्लै सूचना जारी गरेका छन् ।
संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नका लागि सुर्यगढीको वडा नम्बर २, ३ का पहरेथोक तथा बागेश्वरी माध्यमिक विद्यालय आसपासपका पुर्वमा बोहोरे भन्ज्याङ दक्षिणमा पोखरीडाँडा, वडा नम्बर २ को कार्यालय, होलेटोल, पश्चिममा नयाँ चौतारा र उत्तरमा बागेश्वरी भन्ज्याङमा निषेधाज्ञा जारी गरिएको छ।
तयस्तै, संक्रमण रोग एन २०२० को दफा २ बमोजिम गए राती (आइतबार राती) १२ बजेदेखि अर्को आदेश नभएसम्म गाउँपालिकामा निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका अन्य कार्य गर्न निषेध गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ संक्रमण परीक्षण नतिजा अनुसार हिजो सुर्यगढ़ी गाउँपालिका–२ स्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिमा संक्रमण देखिए थियो।
सूर्यगढी गाउँपालिका वडा नं. १ का ३४ वर्षिय पुरुषमा पोजेटिभ देखिएको हो । गाउँपालिकाको क्वारेन्टिनमा राखिएको ति पुरुषको गत शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणको लागि स्वाब सङ्ककलन गरी काठमाडौं पठाइएको थियो ।
यी युवासंगै नुवाकोटका कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । २ जना त्रिशुली अस्पतालको आइसोलेसनमा र एक जना सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।
नुवाकोटका ३४ जना कोरोना संक्रमितहरुले कोरोना जितेर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार ७७० जनाको पिसिआर परीक्षणमा ३७ जना कोरोना संक्रमित देखिए। स्थानीय तहले बनाएको क्वारेन्टिनमा ७ महिला र ७५ पुरुष छन् ।
१२ श्रावण २०७७, सोमबार ०८:३३