छ गुणा बढी बस भाडा

अराजक सवारी चालकहरु कारबाहीमा

सोमवार प्रहरीले कारबाही गरेर बढी भाडा यात्रुलाई फिर्ता गराएको माइक्रोबस ।

विदुर । सरकारले दिएको निर्देशन पालना नगर्ने सार्वजनिक यातायातका साधन नुवाकोटमा कारबाही पर्न थालेको छ । स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन हुन भनिएको सार्वजनिक यातायताका साधनमा यात्रुहरु कोच्दै आएको समाचार नुवाकोटमा केही दिनदेखि लगातार बाहिर आइरहेको छ । समाचारपछि जिल्ला प्रहरी कार्यालय नुवाकोट र ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सक्रियता देखाएको हो ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ७ तारुका चेकप्वइन्ट स्थित गल्छी त्रिशुली सडकखण्डमा बा १ य १३३५ नम्वरको जम्बो हाईस माईक्रोबस कारबाहीमा परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख बिकल भट्टराईका अनुसार उक्त बसलाई नियम बिपरित बढी यात्रुहरु बोकेको र भाडा पनि बढि लिएको अभियोगमा जरिवाना तिराई छाडिएको छ ।

यसअघि एक सय रुपैयाँ रहेको भाडादरलाई त्यस बसका चालकले स्वाट्टै बढाएको पाइएको छ । प्रतियात्रु ७ सय रुपैयाँ भाडा लिएकोले पाइएपछि बाँकी रकम यात्रुलाई फिर्ता समेत गराइएको भट्टराईले जानकारी दिए । माईक्रोबसलाई ट्राफिक नियमानुसार १५ सय रुपैयाँ जरिवाना गराईएको छ ।

यस्तै, पसाङल्हामु राजमार्गको पैतिसकिलोमा बा २ ख ९८६६ नम्वरको बसले तोकिएको भन्दा बढी यात्रु बोकेको पाएइएपछि त्यो पनि कारबाहीमा परेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रणका लागि गएको चैत्र ११ गतेदेखि जारी रहेको लकडाउनलाई साउन ६ गतेको मध्यरातदेखि खुला गरेर सरकारले जिल्ला भित्र सार्वजनिक सवारीसाधन चल्न दिएको छ । तर त्यसका लागि सरकारले यातायात व्यवसायीहरुलाई दुई जना अट्ने सिटमा एक जना मात्र यात्रु राख्न र साविकको भाडादरमा ५० प्रतिशत मात्र बढाएर लिन निर्देशन गरेको छ ।

आइतवार विदुरमा एक बसमा देखिएको कोचाकोच यात्रु । फाइल तस्बिर ।

 

१३ श्रावण २०७७, मंगलवार ०८:४४



तपाईको प्रतिक्रिया