पहिरो पिडित सुरक्षित स्थानमा

साउन ९ गते बेलकोगढी नपा वडा नं. ८ हर्रेमा एक जनाको ज्यान जाने गरी भत्किएको घरको भग्नावशेष पन्छाउदै सेना र प्रहरी ।

बेलकोगढी । यस बेलकोगढी नगरपालिकामा प्राकृतिक प्रकोप व्यहोरेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहत पनि उपलब्ध गराएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित हर्रे प्रियडाँडा र वडा नं ५ माझगाउँमा पहिराका कारण पाँच परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो । उनीहरुको छ वटा घर पहिरोबाट पूर्णरुपमा क्षति भएको छ । २१ जना प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार पाँच परिवारलाई पाँच थान टेन्ट, पाँच सेट गैरखाद्य सामग्री प्रदान गरिएको छ ।

त्यही पहिरोबाट थप ७ घर उच्च जोखिममा छ । ति घरहरुका २९ जना लाई पनि सुरक्षित स्थानमा राखिनुपर्ने भएको छ । जोखिममा रहेका घरका लागि दुई थान टेन्ट र ४० थान त्रिपाल वडा नं. ५ को कार्यालयमा जिम्मा लगाएको ढकालले बताए । पहिरोबाट प्रभावित परिवारलाई आवश्यक खाद्यान्न र रकम पु¥याउने प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन् ।

खोज उद्धारका क्रममा जोखिममा रहेकामध्ये २० परिवारलाई स्थानीय विद्यालयमा लगी सुरक्षित स्थानमा राखिएको छ । १० घरको सरसामान सुरक्षित स्थानमा सारिएको छ ।

बेलकोट–८ का ६८ वर्षीय अक्कलबहादुर तामाङको आफ्नै घर भत्किएर पुरिँदा मृत्यु भएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार प्रियडाँडामै साढे दुई सय जना पहिरोका कारण समस्यामा परेका छन् । पहिरोमा २१ बाख्रा, दुई राँगा र एक भैँसी पुरिएको छ ।

१४ श्रावण २०७७, बुधबार ०९:१२



तपाईको प्रतिक्रिया