एउटा ढुङ्गाले ३५ घर जोखिममा

फाइल फोटो

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीको नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ ।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्सातले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो । बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिका स्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ ।

ढुङ्गा बग्न थाले पछि जिल्ला बिपद् ब्यबस्थापन समितिले स्थलगत अध्ययन गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार स्थलगत अध्ययनका क्रममा भेटिएका समस्याहरु बिपद् ब्यबस्थापन समितिको बैठकमा पेस गरेर जोखिम न्युनिकरणको उपाय अबलम्बन गरिने छ ।

ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको भन्दै दुप्चेश्वर गाँउपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार समेत गरेको छ । २०७२ सालको भूकम्पले नेगीगाँउ जोखिमपूर्ण बस्तीमा रहेको प्रतिवेदन यस अघि नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले सार्वजनिक गरिसकेको छ ।

९ भाद्र २०७७, मंगलवार १३:५८



तपाईको प्रतिक्रिया