भैरवी मन्दिरले पायो गजुर

नुवाकोट । भुकम्पले गएको साढे ५ वर्षपछि नुवाकोटमा अवस्थित लिच्छविकालीन भैरवी मन्दिर पुनर्निर्माण सकिएको छ । नुवाकोट दरवार क्षेत्र परिषरमा रहेको मन्दिरको मुख्य गजुर समेत स्थापना भएको हो ।

कोरोनाका कारण जारी रहेको निषेधाज्ञाका कारण काठमाडौंबाट तान्त्रिक विधि अनुसार पूजा गर्न गुभाजु ल्याउन नसकिएपछि मन्दिरका धामीले गजुर राखेका हुन् । २०७२ साल बैशाख १२ गते भुकम्पले क्षति पु¥याएको मन्दिरको पुरातत्व विभागले २०७३ सालबाट पुननिर्माण थालेको थियो ।

मन्दिर पुनर्निनिर्माण गर्न निर्माणपक्षले भक्तपुरदेखि कालिगढ झिकाएर टुँडाल, काष्ठकलाका मूर्तिहरु र छाना छाउन लगाएको थियो । प्यागोडा शैलीमा निर्मित उक्त मन्दिरको माथिल्लो छाना सुनको जलप लगाइएको छ । सुनको जलप लगाउन १ किलो ३० तोला सुन लागेको पुरातत्व मातहत रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

गजुर बाहेक छानोमात्र सुनको जलप हालिएको छ । मन्दिरका टुँडाल र मूर्तिहरु काम लाग्ने बाहेक अरु नयाँ हालिएको छ । तल्लो छानो झिंगटी छाइएको छ ।

निर्माण पक्षले निर्धारित समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटक–पटक म्याद थप्दै काम अगाडि बढाईएको थियो । मन्दिर पुनर्निर्माण गर्न ४ करोड ६३ लाख रुपैया लागतमा निर्माण भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए । पुरानो डिजाईनमै निर्माण मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ ।

नुवाकोटको ठूलो शक्ति पीठको रुपमा भैरवीलाई पूजिन्छ । यो मन्दिर १४ औं शताव्दीमा जगज्योति मल्लले पुननिर्माण गराएको इतिहासमा उल्लेख गरिएको छ । १८४९ साल असोजमा नेपाल, चीन र तिव्वत युद्ध हुदाँ तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाएपछि मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त बनाउन लगाएको इतिहासमा उल्लेख छ । मन्दिरभन्दा केहीमाथि डाँडामा रहेको कालिका, मालिका र भैरवी मन्दिरबाट निस्केको अरिंगालले आक्रमणकारी सेनालाई लखेटेपछि चीनले लडाईं हारेको बेत्रावती सन्धी भएकोे ईतिहासमा उल्लेख छ ।

नुवाकोट विजयी गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहले भैरवीसँग शक्ति मागेको र भैरवीले सपनामा आफ्नो आराधना गरेमा कान्तिपुर अधिनस्थ जितिने बताएपछि उनले भैरवीको पूजा गर्न लगाई नुवाकोट विजयी गरेको जनविश्वास छ ।

१५ भाद्र २०७७, सोमबार ११:०८



तपाईको प्रतिक्रिया