‘युवा केन्द्रित कामका लागि बजेट बिनियोजन गरेका छौं’ (फोटो र भिडिओ सहित)

पट्टाबारी । लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले स्वरोजगारमा लाग्न चाहाने युवा युवतीलाई लक्षित गर्दै गाउँपालिकाले तालिम तथा अवसरहरु प्रदान गर्ने बताएका छन् । कोभिड–१९ का कारण विभिन्न पेशा, व्यवसाय, रोजगारी छाडेर गाउँ फर्किएकाहरुलाई केन्द्रित गरेर गाउँपालिकाले बजेट विनियोजन गरेको उनले बताए ।

लिखु गाउँपालिकामा सञ्चालित सिलाईबुनाई तालिम समापन समारोहमा बोल्दै उनले घरेलु रुपमा गर्न सकिने कामधन्दालाई स्थापित गर्न गाउँपालिका तयार रहेको बताएका छन् । ‘स्थानीय सरकार स्थापना पछिको यो अवधिमा नागरिकहरुले आफ्नोपनको महशुस गर्न सक्ने गरि हामी अहोरात्र काममा छौं’, उनले भने– ‘लिखु गाउँपालिकाका नागरिकहरु जे चाहान्छन् त्यही मोडलमा हामी विकास निर्माणको नीति र योजनाहरु तय गर्दै जाने छौं ।’

लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ कार्यक्रममा मन्तब्य राख्दै

तीन महिनासम्म सञ्चालन भएको तालिममा लिखुका छ वटै वडाबाट महिलाहरुको सहभागिता थियो । आयोजक संस्था संकल्प, शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालका अनुसार महिलाहरुलाई सिलाई बुनाईमा सुरुवाती सिप प्रदान गरिएको छ ।

४० जना महिलाहरुलाई तालिम दिइएको छ । उनीहरुलाई व्यवसायीक रुपमा सिलाईमा लाग्न र थप सिप प्रदान गर्न समेत संस्थाले स्थानीय सरकारसंगको सहकार्यमा थप कार्यक्रम आयोजना गर्ने बताईएको छ । सहभागि महिलाहरुले विभिन्न १८ किसिममा कपडा सिलाउने सीप जानेका छन् ।

१ कार्तिक २०७७, शनिबार १३:४६



तपाईको प्रतिक्रिया