बहिष्कारमा सिडिओ र एसपी

विदुर । नुवाकोटका जनप्रतिनिधिहरुले अषोघित रुपमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई बहिष्कार गर्दै आएका छन् । प्रजिअ झंकनाथ ढकाल र एसपी तुलबहादुर कार्कीले स्थानीय सरकार र सरकार प्रमुखहरुलाई असहयोग गरेको र कानून कार्यान्वयको नाममा ‘सताउन’ थालेको जनप्रतिनिधिहरुको निष्कर्ष छ ।

दशैं अघिदेखि नै नुवाकोटका प्रायः स्थानीय तहका प्रमुखहरुले प्रमुख जिल्ला अधिकारी ढकाल र प्रहरी प्रमुख एसपी कार्की सहभागि भएको औपचारिक कार्यक्रम र बैठक बहिष्कार गर्दै आएका छन् । गाउँपालिका अध्यक्षहरुले कार्यक्रम आयोजकलाई खुलेरै सिडिओ सहभागि बैठकमा आफु सहभागि नहुने बताउन थालेका छन् । साथै जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुने बैठक तथा कार्यक्रममा पनि प्रायः गाउँपालिका अध्यक्षहरुले सहभागि नहुने आन्तरिक सहमती गरेका छन् । ‘सत्य हो, सिडिओले हामीलाई गर्ने अपमान, पेल्ने नै नीति लिएका कारण हामी सिडिओसंग सहकार्य गर्न सक्दैनौं’ एक गाउँपालिकाका अध्यक्षले भने– ‘हामीलाई उहाँले संघीय सरकारको प्रतिनिधि हुँ, तपाईहरु त स्थानीय तहको न हो भन्ने व्यबहार गर्नुहुन्छ ।’ प्रमुख जिल्ला अधिकारी ढकाल र प्रहरी प्रमुख एसपी कार्कीले स्थानीय सरकारसंग सम्बन्धित हुने विषयमा पनि सहकार्य गर्ने नगरेको गाउँपालिका अध्यक्षहरुको भनाई छ ।

सिडिओ ढकालको ‘लहैलहैमा लागेको’ आरोप प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलाई छ । गाउँपालिका अध्यक्षहरुले प्रहरीमा पुग्ने सामान्य विवादमा ब्यबहारिकता हेर्नका लागि आग्रह गरेपछि झन् ‘कस्न’ थालेपछि जनप्रतिनिधिहरुले दुबै जनाको खुलेरै आलोचना गर्न थालेका छन् ।

अधिकांश गाउँपालिकाका अध्यक्षहरुले यसपालीको दशैंमा प्रहरीलाई सहयोग नगरेको खबर प्राप्त भएको छ । दशैं मनाउनका लागि गाउँपालिका अन्तर्गत रहेका प्रहरी चौकीहरुलाई खसी, बोका खरिदका लागि गाउँपालिकाले रकम दिँदै आएको थियो । ‘यस पटक प्रहरी चौकीलाई दिँदै आएको दशैं खर्च बन्द गर्यौ’ एक गाउँपालिका अध्यक्षले भने– ‘प्रहरी चौकीलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुँदै आएको अन्य सुबिधाहरु पनि अब बन्द गरिएको छ ।’ गाउँपालिकामा स्थापना भएको प्रहरी चौकीको कार्यसम्पादनका लागि प्रायः गाउँपालिकाहरुले सवारी साधन (मोटरसाइकल) र ईन्धन उपलब्ध गराउदै आएको छ । दिइसकेको मोटरसाइकल नखोसेपनि प्रहरीलाई पेट्रोलको कुपन दिन गाउँपालिकाले बन्द गरेको छ । प्रहरी चौकीका लागि खरिद गर्न लागेको मोटरसाइलको प्रक्रियालाई एक गाउँपालिकाले अहिले स्थगित गरेको छ । ‘जसरी प्रशासन र प्रहरीले हामीलाई दपेटिरहेको छ त्यो स्विकार्य छैन’, ति गाउँपालिका अध्यक्षले भने– ‘अनि हामी त्यही प्रहरीलाई किन सहायता गर्ने ।’

यसपटकको दशैंमा एक गाउँपालिका अध्यक्षसंग प्रहरी चौकीका ईञ्चार्ज सहयोग नरोक्न भन्दै भेट्नै पुगेका थिए । दशैंका लागि खसी/बोका सहयोग माग्दै टाउको कन्याउन पुगेका चौकी ईञ्चार्जलाई ति गाउँपालिका अध्यक्षले एपसी कार्की वा सिडिओ ढकालले मागे मात्रै दिने भनेर फकाई दिए ।

यसरी स्थानीय सरकारसंगको सम्बन्ध बिग्रिपछि नुवाकोट प्रहरीले भने स्थानीय सामाजिक संघसंस्थाहरुसंग सहयोगको हात फैलाउन थालेको छ । एसपी कार्कीले फर्निचर वा अन्य सामाग्री सहयोग गर्न सक्ने कुनै संघसंस्था भए प्रहरी चौकीका लागि सहकार्य गर्न मातहतमा निर्देशन दिएका छन् ।

नुवाकोटमा सञ्चालित क्रसर उद्योग खुलाउने बिषयमा जनप्रतिनिधिहरु एकातर्फ र सिडिओ तथा एसपी अर्कोतर्फ देखिएका छन् । अदातलको आदेश कार्यान्वय गराउने भन्दै सिडिओ झंकनाथ ढकालले नुवाकोटका क्रसर उद्योगहरुमा ताल्चा लगाएपछि जनप्रतिनिधि, नेकपा र काँग्रेसका नेता उनको बिरुद्धमा देखिएका थिए । असोज पहिलो साता विदुरमा आयोजित एक औपचारिक कार्यक्रममै जनप्रतिनिधि र दलका नेताहरुले सिडिओलाई ब्यवहारिक बनेर उद्योग सञ्चालन गर्न आग्रह गरे । सिडिओ ढकालले अदालतको आदेशको अपहेला गर्न नसक्ने भन्दै क्रसर बन्दनै गराउने अडान राखेर कार्यक्रम हलबाट निस्किएका थिए । अदालतले चार वर्ष पहिला गरेको आदेशकै आधारमा नुवाकोटका क्रसर उद्योग बन्द गराएर चितवन र धादिङ्गबाट नदीजन्य पदार्थ नुवाकोट भित्र्याउनका लागि सिडिओले चलखेल गरेको आरोप राजनीतिक दलका नेताहरुको छ ।

भन्नका लागि चाँही कानून कार्यान्वय गराउने भन्ने र ‘अनेक खोचे थाप्ने’ कामले आफुहरु रुष्ट रहेको जनप्रतिनिधिहरुको त्यही बेलानै प्रतिक्रृया आएको थियो । नेकपा नुवाकोटका अध्यक्ष एवं बाग्मती प्रदेशका सांसद हिरानाथ खतिवडा, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नेकपा नुवाकोटका कार्यालय टिमका सदस्य बुद्धि प्रधान, नेपाली काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले सोही कार्यक्रममा आफ्नो मन्तब्यको क्रममा प्रमुख जिल्ला अधिकारी ढकाललाई ‘राजनीति’ नगर्न चेताबनी दिएका थिए ।

आँखा चिम्लिएको चार घटना

विदुर । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले कानून कार्यान्वयमा आँखा चिम्लन थालेका छन् । राजनीतिक दबाव नआउने उजुरी र मुद्दालाई अतिरञ्जित समेत गराउने र राजनीतिक दबाव आउनसक्ने वा आउने मुद्दालाई पन्छाउने गरेको पाइएको छ ।

नुवाकोटमा राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुसंग समीकरण बिग्रिएकोले सन्तुलनमा ल्याउन प्रमुख जिल्ला अधिकारीले एसपी कार्कीलाई नेताहरुको अनुकुल हुने गरी परिचालन गर्न थालेका छन् । ‘प्रहरीलाई उनीहरुको काममा दबाव दिने गरेको छैन हजुर भन्छन् भन्ना लागि चाँही सिडिओले, तर एसपी कार्की सिडिओ ढकालको कमाण्डमा छन्, समाचार श्रोतले भन्यो– ‘सिडिओ र एसपी स्याङ्जाका मात्रै होइनन्, एउटै गाउँका पनि हुन् ।’

सिडिओ ढकाल र एसपी कार्की नेकपाको एउटा गुटसंग मात्रै नजिक देखिएको छ । ‘नेकपाका केही नेताहरुको वचन पालना गारिरहेको र ति नेता भन्दा फरक लाइनमा रहेका अरुलाई सिडिओले पेलिरहेका छन्’ श्रोतले भन्यो । आफ्नो ‘राम्रो सम्बन्ध’ रहेको नेताको धारमा नपरेका नेकपाकै नेताहरु र गाउँपालिका अध्यक्ष तथा नगर प्रमुखलाई समेत ढकालले खुलेरै चुनौती दिइरहेका छन् ।

बिहिवार विदुर नगरपालिका वडा नं. ५ पिपल्टारमा जुवाको खालबाट पक्राउ परेकाहरुलाई प्रहरीले त्यसै छाडेको छ । दिउँसो तास खेल्दाखेल्दै समातिएका वडा सदस्यका श्रीमान्देखि स्थानीय टाठाबाटढाहरुलाई प्रहरी प्रमुख कार्कीले ‘सम्मानपुबर्क’ छाडेका हुन् । प्रमुख जिल्ला अधिकारी ढकाल र एसपी कार्कीले नेकपा र काँग्रेसका नेताहरु रिझाउन मुद्दा समेत दर्ता नगरी घर पठाए । तासको खालबाट समातिनेहरुमा दुबै पार्टीका स्थानीय नेताहरु छन् ।

विदुर नगरपालिका वडा नं. १२ का वडा सदस्यले छिमेकीलाई दशैं अगाडी मरणासन्न हुने गरी कुटे । ठाकुरप्रसाद भट्ट र उनको बृद्ध आमा अहिले पनि काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार गरिरहेका छन् । वडा सदस्य खड्गराज भट्टले असोज ८ गते सामान्य विवादमा अंगभंग हुनेगरी कुटेको पीडित परिवारको दावी रहदै आएको छ । एक महिना अगाडी नै जिल्ला प्रहरी कार्यालयमा परेको उजुरी अहिलेसम्म दर्ता भएको छैन । पीडित परिवारका अनुसार प्रहरी प्रमुख तुलबहादुर कार्कीले उनीहरुलाई मिल्न दबाव दिइरहेका छन् ।

यस्तै, भदौ १९ गते विदुर नगरपालिका वडा नं. ७ तुप्चेबाट ९ जना जुवाडे पक्राउ परेका थिए । त्यसबेला भर्खरै नुवाकोट हाजिर हुन आएका एसपी कार्कीले नेकपाका नेतालाई खुसी पार्न उनीहरुलाई बेलुका खाना खान घरमै पठाइदिए । श्रोतका अनुसार त्यो मुद्दा पनि दर्ता गरिएको थिएन । तुप्चेको सो जुवाको खालबाट बरामद भएको रकम पनि उनीहरुलाई नै प्रहरीले फिर्ता गरेको थियो ।

तारकेश्वर गाउँपालिकाका तीन वटा वडाअध्यक्षको बिरुद्धमा पत्रकारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएको छ । गएको असार १० गते तारकेश्वर गाउँपालिका वडा नंं. १ का अध्यक्ष दयानिधी अधिकारी, वडा नं. ३ का अध्यक्ष सुर्यमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको कर्यक्रममा टिभि त्रिशुलीको क्यामेरा तोडफोड गर्दै पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार महासंघ नुवाकोटका कार्य समिति सदस्य सुजित भण्डारीले असार १२ गते उनीहरु बिरुद्ध दिएको उजुरीको अहिलेसम्म सुनुवाई भएको छैन । ‘प्रहरी र प्रशासनका प्रमुखहरु शक्तिको पुजारी देखिएको छ, नुवाकोटमा न्याय पाइदैन’ पत्रकार भण्डारीले भने ।

वडा अध्यक्षहरुले तोडफोड गरेको उक्त क्यामेराको क्षतीपुर्ती टिभि त्रिशुलीले अहिलेसम्म पाएको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलबहादुर कार्कीले यस घटनाको विषयमा अनभिज्ञता प्रकट गर्दै आएका छन् ।

१७ कार्तिक २०७७, सोमबार ०८:०८



तपाईको प्रतिक्रिया