जिलिङ । बेलकोटगढी नगरपालिकाको धमलेदेखि जिलिङ ग्रामीण सडक निर्माण भएको २२ वर्षपछि कालोपत्रे सुरु भएको छ । २०५६ सालमा तत्कालीन जिविस सभापति स्व. भरत ढुंगानाले शिलान्यास गरेको यो सडक २२ वर्षपछि कालोपत्र सुरु भएको हो ।
डिजिभन सडक कार्यालय नुवाकोटमार्फत संघीय सरकारको १८ करोड रुपैयाँको लगानीमा उक्त सडक कालोपत्रे सुरु भएको हो । नार्गाजुन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको यो सडक देश पुर्नसंरचना गएसँगै प्रदेश सरकार वा संघीय सरकारको मतहतमा रहने भन्ने विवादले काम एक वर्ष ढिला भएको थियो । दुई वर्ष अघि सम्म हिलाम्मे हुने यो सडक असार महिनाभित्रै कालोपत्र सकिने गरी काम भइरहेको छ ।
पासाङल्हामु मार्गको धमलेदेखि जिलिङसम्मको ११ किलोमिटर सडक विस्तारसहित साढे तीन किलोमिटर क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो । कालोपत्रे गरिने सडकको चौडाइ साढे सात मिटर रहेको छ । बेलकोटगढी र ककनी गाउँपालिकाका नागरिकलाई पृथ्वी राजमार्गको गल्छी जोड्ने सबै भन्दा छोटो मार्ग हुनेछ ।
नागार्जुन कन्स्ट्रक्सन कम्पनीका रामबाबु जिसीले असार १५ भित्रै कालोपत्रे सम्पन्न गर्नेगरी काम अघि बढाएपनि लगायतको वर्षाको कारण केही दिनदेखि कालोपत्रेको काम अघि बढ्न नसकेको बताए । एक सातामै कालोपत्रे सक्ने गरी निर्माणस्थलमा सवारी साधन तथा मजदुर भएपनि लगातारको वर्षाको कारण अवरुद्ध भइरहेको छ ।
प्रारम्भिक चरणमा ४ सय मिटर लम्वाईमा साढे सात मिटर चौडा भएको सडक कालोपत्रे गरिएको छ । तीन किलोमिटर सडक कालोपत्रे गर्नको लागि तैयारी अवस्थामा रहेपनि वर्षाको कारण ढिलाई भइरहेको ठेकेदारले जनाएको छ । सडकको कुल लम्वाई साढे तीन किलोमिटर मध्ये ५ सय मिटर क्षेत्रमा ‘वेस’ ओछ्याउने काम बाँकी रहेको छ ।
यसैबीच, बेलकोटगढी नगरपालिकाको केन्द्र जोड्ने निरञ्जना–बाघखोर सडक स्तरोन्नतीको काम पनि तिब्र गतिमा भइरहेको छ । बागमति प्रदेश सरकारको लगानीमा पूर्वाधार विकास कार्यालयमार्फत झण्डै सात किलोमिटर लम्वाईको सडकमा नाली निर्माण, पर्खाल लगाउने, कजवे, उकालोमा ढलान लगायतको काम अन्तिम चरणमा पुगेको छ ।
वर्षात्को समयमा नगरपालिकाको केन्द्र जानै समस्या हुने उक्त सडकमा अहिले ‘ग्राभेल’ ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ । एक किलोटिर क्षेत्रमा ग्राभेल ओछ्याएपछि नगरपालिकाको केन्द्र बाघखोर वर्षात्को समयमा पनि सजिलै जान सकिनेछ । निर्माण सुरु भएको ६ महिनामै सडकको कालोपत्रे बाहेकको पूर्वाधार निर्माणको झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेको निर्माणमा संलग्न ठेकेदार सुशील फुँयालले बताए ।
५ असार २०७८, शनिबार १८:२५