नुवाकोटका ३८१ जना गणक घरदैलोमा

तस्बिर : बिरोचन खनाल

विदुर । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ सुरु भएको १२ औं राष्ट्रिय जनगणना जारी रहेकोे छ । विवरण संकलन गर्न तथ्याङ्क कार्यालयबाट खटिएका गणकसहितको टोली नागरिकहरुको घरघरमा पुगेका छन् । प्रत्येक १० वर्षमा गरिने जनगणना यसपटक सूचनाप्रविधि अनुकूल हुने भएको छ ।

जिल्ला जनगणना कार्यालय नुवाकोटका प्रमुख नरेन्द्र शर्मा भट्टका अनुसार नुवाकोटमा ३८१ जना गणकहरु खटिएका छन् । ९५ जना सुिपरिबेक्षक र ३८१ जना गणकहरुले प्रत्येक घरघरमा पुगेर तथ्याङ्क संकलन गरिरहेका छन् । मंसिर ९ गतेसम्म हुने जारी जनगणनामा सबैलाई सहभागिता जनाउन आग्रह गर्दै जुनसुकै भूगोल र क्षेत्रमा रहनुभएका जुनसुकै समुदायका जनतालाई जनगणनामा सहभागी हुन कार्यालयले आग्रह गरेको छ ।

जनगणनामा गणकले हरेक घर–परिवारसम्म पुगेर कूल ८० वटाको हाराहारीमा प्रश्न सोध्नेछन् । परिवारमा एक जना गणकले औसत २० मिनेट लगाउनेछ भने १५ दिनमा १७५ परिवारको गणना गर्नुपर्ने छ ।

जनगणनामा समुदायमा आधारित प्रश्नपत्र तयार गरी सामुदायिक गणना सुरु गरेको छ । गणकले सबै गणना पूरा गरेपछि वडा कार्यालयमा पुगेर सामुदायिक गणना गर्नेछ । समुदायबाट संकलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ । तर प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने तयारी भइरहेको छ । जनगणना सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै उनले त्यसलाई सहजीकरण गर्न केन्द्रदेखि वडासम्म सहजिकरण समिति गठन गरिएको बताए ।

विभागले जिल्लास्तरमा सिडियोको अध्यक्षतामा जिल्ला जनगणना समिति र पालिकास्तरमा प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तहको प्रमुखको संयोजकत्वमा वडास्तरीय सहजीकरण समिति रहेको छ ।

केन्द्रले गणकको योग्यता १२ कक्षा उत्तीर्ण र सुपरीवेक्षकको योग्यता स्नातकतह पूरा गरेको हुनुपर्ने उल्लेख छ । गणक छनोटमा स्थानीयलाई प्राथमिकता दिइएको थियो ।
यसअघि बि.सं. २०६८ मा ११ औं जनगणना भएको थियो । त्यस बेला पशुपक्षीको पूर्ण गणनासमेत समेटिएको थियो । विसं १९६८ पछि नेपालमा प्रत्येक एक दशकमा जनगणना हुँदै आएको छ ।

सही तथ्याङ्क आउनेमा शंका

विदुर । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले जारी राष्ट्रिय जनगणनाबाट सही तथ्याङ्क आउनेमा शंका व्यक्त गरेका छन् ।

सरकारले खटाएका गणक, कर्मचारीहरु अपरिपक्व र त्यसको अनुगमन गर्ने कुनै निकाय नभएको भन्दै सही तथ्याङ्क संकलन हुनेमा उपसभामुख तामाङले आशंका गरेका हुन् ।

उपसभामुख तामाङले विवरण संकलन गर्न आएका गणकहरुले आफूसँग आधारभूत विवरण नै नलिएको अनुभव सुनाए । उनका अनुसार कलेज पढ्दै गरेका अपरिपक्क गणक भएका कारण विवरण संकलनमा भन्दा छिटो काम सकाएर हिड्नमा हतारिएको पाइएको छ ।

गणकहरुलाई विवरण संकलन गर्दा सबै प्रश्न सोधेर नागरिकको जवाफ जस्ताको तस्तै संकलन गर्न भनिएको छ । तर गणकले आफूलाई नसोधी दोस्रो भाषामा आफैंले चिन्ह लगाएको उपसभामुख तामाङले बताए ।

अहिलेको तरिकाबाट सही तथ्याङ्क नआउने भन्दै उपसभामुख तामाङले अबको जनगणना स्थानीय सरकारमार्फत गरिनु पर्ने बताएका छन् ।

रसुवामा ७८ गणक
विदुर । रसुवामा राष्ट्रिय जनगणनाको लागि ७८ जना गणक खटिएका छन् । जिल्लाको आमाछोदिङ्मोमा १०, गोसाइँकुण्डमा १८, कालिकामा १५, उत्तरगयामा १७ र नौकुण्ड गाउँपालिकामा १८ जना गणक खटिएको जिल्ला जनगणना अधिकारी कपिल धितालले बताए ।

२ मंसिर २०७८, बिहीबार २१:११



तपाईको प्रतिक्रिया