घलेभञ्याङ । पञ्चकन्या गाँउपालिकाको पञ्चकन्या मन्दिरमा लाग्ने प्रशिद्ध मेला सुरु भएको छ । दुई दिन सम्म चल्ने मेला आज साँझबाट सुरु भएको हो । भोलीसम्म मेला लाग्ने छ । कोरोनाका कारण दुई वर्षसम्म यो मेला रोकिएको थियो ।
ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकन्या मन्दिरमा हरेक कृष्णपक्ष चतुर्थी र पञ्चमीका दिन मेला लाग्ने गरेको छ । बिगतका बर्षहरुमा दुई दिन सम्म हजारौँ भक्तजनहरुको उपस्थितिमा मेला लाग्ने गरे पनि कोरोना संक्रमणका कारण पछिल्ला बर्षहरुमा सामान्य पुजाआजा मात्रै हुने गरेको छ । तर यस बर्षबाट पुनः दुई दिनसम्म मेला सञ्चालन हुने भएको छ ।
गाँउपालिकाले समेत मन्दिर संरक्षण समितिलाई बजेटको ब्यबस्थापन गरिदिएको छ । स्थानीय स्तरमा हुने मेला जात्रा ब्यबस्थापनको लागि गाँउपालिकाले बजेट ब्यबस्थापन गरेको पञ्चकन्या गाँउपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’ले जानकारी दिएका छन् । स्थानीय कला, संस्कृतिको प्रदर्शन, बिशेष झाँकी नाँच तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरी धार्मिक तथा ऐतिहासिक स्थलको प्रचार प्रसारको लागी गाँउपालिकाले सहयोग गरेको उनले बताए ।
७ मंसिर २०७८, मंगलवार २०:२०