क्षेत्र नं. १ मा ध्रुव श्रेष्ठ विजयी, २ मा मछिन्द्रनरसिंह प्याकुरेलको अग्रता

विदुर । हिजो भएको नेपाली काँग्रेस नुवाकोटको दुई वटै संघीय निर्वाचन क्षेत्रको मतगणनाको परिणाम आउन थालेको छ । क्षेत्र नं. १ को अन्तिम मत परिणाम भर्खरै सार्वजनिक भएको छ । ध्रुब श्रेष्ठ भारी मतान्तरले बिजयी भएका छन् । श्रेष्ठले ५११ मत र उनका प्रतिस्पर्धी बिषम रिमालले ३८७ मत पाएका छन् । श्रेष्ठ १२४ मतान्तरले बिजयी भएका छन् । श्रेष्ठ डा. रामशरण महत पक्षका उम्मेदवार हुने भने रिमाल अर्जुननरसिंह केसी पक्षका हुन् । क्षेत्र नम्बर १ मा जम्मा ९२१ मत खसेको थियो ।

दुई जना सचिवमा भने दुई पक्षको एक/एक जना निर्वाचित भएका छन् । केसी समुहका जगदीश कुइँकेल सचिवमा निर्वाचित भएका छन् । अर्को सचिवमा श्रेष्ठ प्यानलका शिव गुणी निर्वाचित भएका छन् । सचिवमा दुई जना निर्वाचित हुने ब्यवस्था छ । गुणीको ४७६, कुइँकेलको ४४१ मत आएको छ । हारेका अन्य दुई सचिवहरु लालबहादुर तामाङको ४२२ र विकेश पण्डितको ३४५ मत छ ।

महाधिवेशन प्रतिनिधिको भने मत गणना भइरहेको छ । महाधिवेशन प्रतिनिधिमा डा. केदारनरसिंह केसीले पहिलो नम्वरमा मत पाइरहेका छन् ।

 

यता, क्षेत्र नम्बर २ को सभापतिमा अर्जुननरसिंह केसी पक्षका सभापति पदका उम्मेदवार मछिन्द्रनरसिंह प्याकुरेलको अग्रता छ । ३२२ मत गणना हुँदा प्याकुरेलको १७५ र जगत तामाङको १२६ मत रहेको छ । तामाङ बहादुरसिंह लामा पक्षका उम्मेदवार हुन् । केसी पक्षका सभापति पदका उम्मेदवार प्याकुरेल हालसम्म ४९ मतले अगाडी छन् । क्षेत्र नम्बर २ मा ८४१ मत रहेकोमा ८२७ मत खसेको थियो ।

उपेन्द्र मिश्र निर्विरोध निर्वाचित

विदुर । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधिमा उपेन्द्र मिश्र निर्विरोध निर्वाचित भएका छन् । हिजो भएको महाधिवेशनको मनोनयनको क्रममा सभापतिका उम्मेद्धवार धुव्र श्रेष्ठको प्यानलबाट समावेशी अल्पसंख्यक पदबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्धवारी दर्ता गराएका उनी निर्विरोध भएका हुन् । विषम रिमाल नेतृत्को टिमले सो पदमा उम्मेद्धवार दर्ता नगरेपछि मिश्र निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाल विद्यार्थी संघमा लामो समय राजनीति गरेका मिश्र गत स्थानीय चुनाबमा चुनावी कार्यक्रममा सहभागी हुन जाँदा बम आक्रमणमा परी घाइते भएका थिए । उनको सम्मानका लागि अर्को पक्षले त्यस पदमा उम्मेदवारी नदिएको बताइएको छ ।

७ मंसिर २०७८, मंगलवार २१:१६



तपाईको प्रतिक्रिया