विदुर । नेपाली काँग्रेस नुवाकोटको क्षेत्र नं. २ को सभापतिमा जगतबहादुर तामाङ निर्वाचित भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ । सोमवार रातीबाट हुन थालेको मत गणनाको अन्तिम परिणाम बुुधवार रातीसम्म आउने क्रम जारी रहेको छ । १८ मत गणना गर्न बाँकी हुँदै तामाङले २७ मतले अग्रता लिएका छन् । १८ मत नै उनका प्रतिद्धन्द्धी मछिन्द्रनरसिंह प्याकुरेलले पाएपनि उनी ९ ले विजयी हुने छन् ।
मत गणना भएदेखिनै प्याकुरेलले अग्रता लिदै आएकोमा अन्तिम एक सय मत गणनामा मात्रै तामाङ अगाडी देखिएका हुन् । १५० मत गणना हुन बाँकी रहँदा समेत प्याकुरेल ८ मतले तामाङ भन्दा अगाडी थिए । मत गणनाको क्रममा १२० मत गणना हुन बाँकी हुँदा एक पटक मात्रै तामाङ प्याकुरेल भन्दा २ मतले अगाडी देखिएका थिए । १०२ मत गणना हुन बाँकी रहदा दुवै जना बराबरी भएका थिए । तामाङ काँग्रेस केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङसंग र प्याकुरेल काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीसंग निकट छन् । प्याकुरेललाई केसी पक्षका उम्मेदवार मध्ये ‘जित्ने’ उम्मेदवारको रुपमा केही दिन अघिदेखि चर्चा गरिएको थियो ।
प्याकुरेलको हारसंगै अर्जुननरसिंह केसीले नुवाकोटको संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व गुमाएका छन् । यस यस अघि सार्वजनिक भएको नुवाकोट क्षेत्र नं. १ को मत परिणाम अनुसार उनी निकटका सचिव एक जना र महाधिवेशन प्रतिनिधि ५ जना बाहेक सबै हारेका छन् । त्यस्तै केही दिन अघि भएको प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा समेत चार वटै सभापति उनी निकटकाले हारेका छन् । तर स्थानीय तह अधिवेशनमा भने नुवाकोटका दुई नगरपालिका सहित बहुमत स्थानीय तहको नेतृत्वमा केसी पक्षका नेताहरु निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा नुवाकोटमा वडादेखिनै अर्जुननरसिंह केसी एक पक्ष र केन्द्रिय सह–महामन्त्रि डा. प्रकाशशरण महत, केन्द्रिय सदस्य डा. रामशरण महत र केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङ एक पक्षमा देखिएका छन् । कतै महतका उम्मेदवार त कतै बहादुरसिंहका उम्मेदवारले केसी निकटका उम्मेदवारहरुलाई हराएका छन् ।
८ मंसिर २०७८, बुधबार २०:४९