बहादुरसिंह लामाले जगदीश्वरनरसिंह केसी र प्रकाश राई बाहेक सबैलाई हराए

केही नेता क्याम्प फेर्दा चिप्लिए

विदुर (नुवाकोट) । नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ मा जगतबहादुर तामाङको प्यानलनै विजयी भएको छ । काँग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङ निकटका तामाङ कार्य समितिमा सभापति सहित २२ वटै पदका उम्मेदवारहरु उनको प्यानलबाट निर्वाचित भएका छन् ।

२५ जना महाविधेशन प्रतिनिधिमा तामाङ प्यानलका २३ जना र काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी निकटका क्षेत्रिय सभापति मछिन्द्रनरसिंह प्याकुरेल प्यानलका दुई जना निर्वाचित भएका छन् । मंसिर ६ गते भएको मतदानको अन्तिम मत परिणाम हिजो मंसिर ८ गते राती आएको छ । जस अनुसार ४७ पदमा भएको निर्वाचनमा केसी पक्षका दुई जना र ४५ जना बहादुरसिंह लामा पक्षका निर्वाचित भएका छन् । बहादुरसिंह लामा तामाङलाई काँग्रेसका केन्द्रिय सह–महामन्त्री डा. प्रकाशशरण महत र केन्द्रिय सदस्य डा. रामशरण महतको साथ रहेको छ ।

केसी समुहबाट निर्वाचित हुने जम्मा दुई जनामा एक जना जगदीश्वरनरसिंह केसी नै छन् । उनी महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष खुल्लाबाट उम्मेदवार बनेका थिए । त्यस्तै आदिवासी जनजाती खुल्लाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका प्रकाश राई निर्वाचित भएका छन् ।

तामाङ प्यानलबाट महाविधेशन प्रतिनिधिमा पराजित हुनेहरुमा भर्खरै अर्को पक्षबाट त्यस तर्फ लागेका दुई जना छन् । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की र नुवाकोट काँग्रेसका पुर्व सचिव लक्ष्मण श्रेष्ठ तामाङ प्यानलबाट हार्नेहरुमा परेका छन् । कार्की यही निर्वाचनमा डा. रामशरण महतको क्याम्पबाट बहादुरसिंह लामा तामाङ क्याम्पमा प्रवेश गरेका थिए । कार्की डा. महतको उदयसंगै दुई दशक भन्दा लामो समयदेखि उनी निकट थिए । त्यस्तै लामो समयदेखि केसी क्याम्पमा रहेका लक्ष्मण श्रेष्ठ यो पटक बहादुरसिंह लामा तामाङको क्याम्प प्रवेश गरेका थिए । कार्कीले महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष खुल्लामा तामाङ समुहबाट उम्मेदवारी दिएका थिए । त्यस समुहमा १० जना निर्वाचित हुनेमा उनी ११ औं नम्वरमा परे । अन्तिम मत ३६१ ल्याएका दुई जना हरिकृष्ण श्रेष्ठ र बद्रीप्रसाद मुडवरी निर्वाचित भए भने कार्कीले ३५८ मत ल्याएर ४ मतले पछाडी परे । श्रेष्ठ र मुडवरी तामाङ क्याम्पका हुन् । कार्कीले हारेको समुहमा केसी पक्षका उम्मेदवार काँग्रेस नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी निर्वाचित भए । केसीले तेश्रो बढी मत पाएका छन् । उनको मत ४२३ रहेको छ ।

कार्की जस्तै ४ मतले नै नुवाकोट काँग्रेसका सचिव सुरेन्द्रराज अधिकारीले पनि हारे । उनी केसी गुटका हुन् । उनका सहोदर दाई नुवाकोट काँग्रेसका पुर्व सभापति ध्रुबप्रसाद अधिकारी भने बहादुरसिंह लामा तामाङको क्याम्पमा छन् । उनी भने दोश्रो नम्वरको मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । अधिकारीले ४२४ मत पाएका छन् । केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याउनेमा तामाङ प्यानलका चोकराज शाक्य छन् । उनले ४३१ मत प्राप्त गरे ।

यस्तै, आदिवासी जनजाती खुल्लाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका लक्ष्मण श्रेष्ठ ८ मतले पराजित भएका छन् । तामाङ समुहबाट उम्मेदवार बनेका उनी पराजित हुँदा सो समुहमा तामाङ प्यानलका दुई जना र केसी प्यानलका एक जना निर्वाचित भए ।

नेपाली काँग्रेस विभाजन भएर प्रजातान्त्रिक काँग्रेस बनेदेखि संगैरहेका बासु सापकोटाले डा. प्रकाशशरण महतको क्याम्प छाडेर भर्खरै केसी क्याम्पमा गएका थिए । गुट परिवर्तन पछिको पहिलो चुनावी दौडमै सापकोटाको ‘ब्रेक’ लागेको छ । केसी प्यानलबाट केन्द्रिय महाविबेशन प्रतिनिधिको चुनाव भिडेका सापकोटाले हारेका छन् ।

कस्तो देखियो मतान्तर ?
दुई समुहबीच भएको प्रतिस्पर्धालाई बाहिरि रुपमा जसरी अड्कल गरिएको थियो, मत परिणामले भने त्यस्तो देखाएको छैन । तिब्र प्रतिस्पर्धा र झिनो मतान्तरको अनुमानलाई मत परिणामले फरक देखाएको छ । क्षेत्रिय सभापतिमा निर्वाचित जगतबहादुर तामाङ र मछिन्द्रनरसिंह प्याकुरेलबीचमा १७ मतको फरक देखियो । तामाङको ३७९ र प्याकुरेलको ३६२ छ । त्यस्तै महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष खुल्लामा ताराबहादुर कार्की र सुरेन्द्रराज अधिकारीको निर्वाचित हुनेहरुको भन्दा ४ मत कम देखियो । बाकि रहेका पदका उम्मेदवारहरुमा निर्वाचित हुने र निकटतम रहेकाहरुको मतान्तर फराकिलो छ । नुवाकोट काँग्रेसकै स्थानीय तह निर्वाचनमा एक÷एक मतान्तरले दुई वटा स्थानीय तहको नतिजा आएको अघिल्लो महिनाको घटनाक्रमले अनुमानलाई चाखपुर्ण बनाएको थियो । तारकेश्वर गाउँपालिकाको सभापतिमा केशवराज अर्याल र विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ एक/एक बढी मतले निर्वाचित भएका थिए । निर्वाचित अर्याल र श्रेष्ठ दुवै केसी पक्षका हुन् ।

५० प्रतिशत मत कटाउने को को छन् ?
नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ को ६ गते भएको निर्वाचनमा ८२१ जनाले मतदान गरेका थिए । जसको ५० प्रतिशत भन्दा बढी मत संख्या ४११ हुन्छ । १८१ मत प्राप्त गर्ने पनि निर्वाचित भएका छन् । तर बहुमत मतदाताको रोजाईमा पर्नेमा भने कम नै नेता देखिएका छन् ।

४११ वा त्यो भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवाहरुमा ५ जना छन् । जसमा कार्य समितिका १ जना र केन्द्रिय महाधिवेशन प्रतिनिधिका ४ जना छन् । महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष महिलाबाट निर्वाचित गिता अमात्यको ४६७ मत रहेको छ । महाधिवशेन प्रतिनिधिमा प्रत्यक्ष खुल्लाबाट निर्वाचित चोकराज शाक्यको ४३१ मत, ध्रुबप्रसाद अधिकारीको ४२४ मत, जगदीश्वरनरसिंह केसीको ४२३ मत छ । कार्य समितिको खुल्ला सदस्यमा खस आर्य तर्फबाट निर्वाचित जनक अधिकारीको मत ४२१ रहेको छ ।

सबै भन्दा कम मत १८१ प्राप्त गरेर निर्वाचित हुनेमा भने कार्य समितिको सदस्य पदमा प्रत्यक्ष प्रदेश सभा ख क्षेत्रका दुर्गाप्रसाद लोहनी ‘रामशरण’ छन् । दुई जना निर्वाचित हुने सो पदमा उनी भन्दा कम मत कपिल डंगोलले १६५ ल्याएका छन् । उनी भन्दा बढी मत भने रुपेश पुडासैनीको (१९५ मत) रहेको छ ।

सर्वाधिक मत ल्याउनेमा गिता अमात्य नै छन् । त्यस्तै सबै भन्दा कम मत ल्याउनेमा विष्णुप्रसाद घिमिरे छन् । घिमिरे कार्य समितिको खुल्ला सदस्य पदमा प्रत्यक्ष प्रदेश सभा ख बाट उम्मेदवार बनेका थिए । उनले १२२ मात प्राप्त गरेका छन् । सो पदमा निर्वाचित हुने दुई जनाले २३२ र २२७ पाएका छन् ।

सभाषद् देखि गाउँपालिका उपाध्यक्षसम्म पराजित
नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ को निर्वाचनमा सभाषद् देखि गाउँपालिकाको उपाध्यक्ष र अन्य राजनीति तथा सामाजिक अभियानमा चिनिएका अनुहारहरु पराजित भएको छ । यस्ता चिनिएका १५ भन्दा बढी अनुहार छन् ।

दोश्रो संविधान सभा सदस्य सभाषद् राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, किस्पाङ्ग गाउँपालिकाका उपाध्यक्ष मायादेवी न्यौपाने, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नुवाकोटका काँग्रेसका सचिव सुरेन्द्रराज अधिकारी, पुर्व सचिव लक्ष्मण श्रेष्ठ लगायतले हार ब्यहोरे ।

त्यस्तै, राजनीतिक रुपमा चिनिएका अनुहारहरु बासु सापकोटा, भरत खड्का, मोहनबहादुर खड्का, बिन्दादेवी अर्याल, हिरा पाण्डे लामा, एसके नेपाल, प्रतापसिंह लामाले पनि हारेका छन् । अञ्जली पाण्डे, ओमप्रकाश श्रेष्ठ, कृष्णप्रसाद थपलिया लगायतका सामाजिक अभियान र राजनीतिमा बरोबरी सक्रिय उम्मेदवारहरु पनि पराजित बनेका छन् । उनीहरु सबैले केन्द्रिय महाधिबेशन प्रतिनिधिमा हारेका हुन् ।

कार्य समितिमा को को निर्वाचित भए ?
नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ सभापतिमा जगतबहादुर तामाङ (३७९ मत), सचिवमा ध्रुबप्रसाद ढकाल (४२६ मत) र नवराज पाण्डे (३६३ मत), सह सचिवमा केदारप्रसाद रिमाल (४३५ मत) र गोविन्दबहादुर तिवारी (३८८ मत) बिजयी भएका छन् ।

कार्य समितिको महिला सदस्यमा प्रत्यक्ष प्रदेश सभा क क्षेत्रबाट गीता पाठक (१९५ मत), खुल्ला सदस्यमा प्रत्यक्ष प्रदेश सभ क क्षेत्रबाट दुर्गाप्रसाद लोहनी ‘रामशरण’ (१८१ मत) र रुपेश पुडासैनी (१९५ मत) विजयी भएका छन् ।

कार्य समितिकै प्रत्यक्ष प्रदेश सभा ख महिला सदस्यमा चन्द्रावती ओझा (२२२ मत), प्रत्यक्ष प्रदेश सभा ख क्षेत्रबाट खुल्ला सदस्यमा जितेन तामाङ लामा (२३२ मत) र भोटु तामाङ (२२७ मत) बिजयी भएका छन् ।

यस्तै नेपाली काँग्रेस क्षेत्र नं. २ को कार्य समितिको महिला सदस्यमा सुन्तली सार्की (३८३ मत), प्रत्यक्ष खुल्ला सदस्यमा डुब्दोर्जे तामाङ (३९० मत), रामजीबहादुर श्रेष्ठ (३६८ मत) र सुर्यप्रसाद तामाङ (३७६ मत) बिजयी भएका छन् । खस आर्य महिला सदस्यमा कमला रिमाल (४०३ मत), खस आर्य खुल्ला सदस्यमा जनक अधिकारी (४२१ मत) बिजयी भएका छन् । आदिवासी जनजाती महिला सदस्यमा सीता लामा गुरुङ्ग (३९८ मत), आदिवासी जनजातीमा नयनसागर लामा (३८८ मत) र सिङ्गबहादुर लामा (४०८ मत) बिजयी भएका छन् ।

क्षेत्रिय कार्य समितिको दलित सदस्यमा मैया नेपाली (४०५ मत), मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्ग सदस्यमा रामबहादुर खड्का (४०० मत) बिजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा को को निर्वाचित भए ?
नेपाली काँग्रेस नुवाकोटका क्षेत्र नं. २ को निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । प्रत्यक्ष खुल्लाबाट १०, प्रत्यक्ष महिलाबाट ४, खस आर्य महिलाबाट २, खस आर्य खुल्लाबाट २, आदिवासी जनजाती महिलाबाट २, आदिवासी जनजाती खुल्लाबाट ३, दलितबाट १ र मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गबाट १ जना निर्वाचित भएका छन् ।

केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि प्रत्यक्ष खुल्लामा चोकराज शाक्य (४३१ मत), ध्रुबप्रसाद अधिकारी (४२४ मत), जगदीश्वरनरसिंह केसी (४२३ मत), राजन श्रेष्ठ (४०२ मत), फैसिङ तामाङ (३८३ मत), धनसिंह तामाङ (३७२ मत), जयराम दाहाल (३७० मत), सिंगराज लामा (३६९ मत), हरिकृष्ण श्रेष्ठ (३६१ मत) र बद्रीप्रसाद मुडवरी (३६१ मत) बिजयी भएका छन् ।

यस्तै केन्द्रिय महाधिवेशनका लागि प्रत्यक्ष महिलाबाट गिता अमात्य (४६७ मत), शान्ति लामा गुरुङ्ग (३९८ मत), सुमनमाया गुरुङ (३८२ मत) र रुक्मणी सेढाइँ (३६० मत) निर्वाचित भएका छन् ।

अस आर्य महिलाबाट सरिता अधिकारी (३९५ मत) र पवित्रा पुडासैनी भट्ट (३८० मत) बिजयी भए । खस आर्य खुल्लाबाट श्रीप्रसाद सापकोटा (३८६ मत) र श्यामराज पाण्डे (३८० मत) बिजयी भएका छन् ।

आदिवासी जनजाती महिलाबाट लालीमाया तामाङ (४०५ मत) र बिन्दा थापामगर (३९८ मत) बिजयी भए । आदिवासी जनजाती खुल्लाबाट दिपक लामा (३८५ मत), प्रकाश राई (३५४ मत) र गरबहादुर तामाङ (३५१ मत) बिजयी भए ।

दलितबाट देबकुमारी विक (३८६ मत) बिजयी भएका छन् । त्यस्तै मधेशी वा थारु वा मुस्लिम वा अल्पसंख्यक वा अपाङ्गबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्णमान घले (३७७ मत) बिजयी भएका छन् ।

९ मंसिर २०७८, बिहीबार १३:४१



तपाईको प्रतिक्रिया