प्रकाश राईले महासमिति सदस्य पदमा उम्मेदवारी दिने

विदुर । हिजो जारी भएको मत परिणामले चर्चा दिलाएको काँग्रेस केन्द्रिय महाधिबेशन प्रतिनिधि प्रकाश राईले आफ्नो दुई पदको उम्मेदवारी घोषणा गरेका छन् । खबरपेज डटकमसंग कुराकानी गर्दै उनले महासमिति सदस्य र प्रदेश सदस्यको उम्मेदवारीको घोषणा गरेका हुन् ।

भोली (मंसिर १० गते) विदुरमा हुने जिल्ला अधिवेशनमा महासमिति सदस्य पदमा उम्मेदवारी दिने उनको घोषणा रहेको छ । उनी केसी टिमबाटै उम्मेदवार बन्ने छन् । त्यस्तै काँग्रेसको बागमती प्रदेश कार्य समिति सदस्य पदमा समेत उनको उम्मेदवारी पर्ने भएको छ । ‘संकटको समयमा साथीहरुले माया गरेर मतदान गर्नुभएको छ, थप साथ सहयोगको अपेक्षा गर्दै उम्मेदवारी दिने भएको हुँ’ उनले भने ।

नेपाली काँग्रेस नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं. २ मा अर्जुननरसिंह केसीको टिमबाट उनी र जिल्ला सभापति जगदीश्वरनरसिंह केसीमात्रै निर्वाचित भएका थिए । ४७ पदमा २ पद मात्रै केसी पक्षले जितेको र त्यसमा पनि केसी परिवार बाहिर निर्वाचित हुने उनी मात्रै रहेकोले उनको अहिले चर्चा छ । सोही पदमा काँग्रेस नुवाकोटका सचिव, पुर्व सचिव, सभाषद्, उद्योग बाणिज्य संघका अध्यक्ष, गाउँपालिकाका उपाध्यक्ष लगायतका उम्मेदवार हारेको समयमा उनले निकालेको जितलाई अर्थका साथ हेरिएको छ ।

विदुर नगरपालिका वडा नं. ७ देविघाटका राई ब्यवसायी हुन् । उनी १२ औं महाधिवेशनमा क्षेत्रिय सचिव र १३ औं महाधिबेशनमा नेपाली काँग्रेसको जिल्ला सदस्य निर्वाचित भएका थिए ।

९ मंसिर २०७८, बिहीबार १६:३०



तपाईको प्रतिक्रिया