काँग्रेस सभापतिमा ‘भाई’ र ‘भतिजा’को उम्मेदवारी

महत प्यानलमा ‘हेभी वेट’का उम्मेदवार

नुवाकोट (विदुर) । नेपाली काँग्रेस जिल्ला कार्य समिति नुवाकोटको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । डा. केदारनरसिंह केसी र रमेशकुमार महतले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

काँग्रेसको केन्द्रिय राजनीतिमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने चार जना नेताहरु दुई प्यानलमा विभाजित भएका छन् । केन्द्रिय सह महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रिय सदस्यहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी र बहादुरसिंह लामा तामाङ आफु अनुकुल जिल्ला नेतृत्व चयन गर्न लागि परेका छन् । अर्जुननरसिंह केसीले आफ्ना भाई डा. केदारनरसिंह केसीलाई सभापतिको रुपमा मैदानमा उतारेका छन् ।

सह महामन्त्री डा. महत, केन्द्रिय सदस्यहरु डा. महत र तामाङले रमेशकुमार महतलाई सभापतिको उम्मेदवार बनाएका छन् । रमेशकुमार महत महत दाजुभाईका भजिता हुन् । बहादुरसिंह लामा तामाङले शेरबहादुर देउवा लाइनबाट चोकराज शाक्यलाई सभापति उठाउने चर्चा चलिरहँदा शाक्याको उम्मेदवारी महासमिति सदस्य पदमा मात्रै परेको छ ।

दुई प्यानलमा विभाजित नुवाकोट काँग्रेसको चुनावी लडाई चाखपुर्ण मोडमा आइपुगेको छ । हालै भएको स्थानीय तहमा निर्वाचनमा बर्चस्व देखिएको केसी परिवारको राजनीति प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको चुनावमा कमजोर देखिएको छ । जिल्ला अधिवेशनमा मतदान गर्ने काँग्रेस नेताहरुको बहुसंख्या महत दाजुभाई र बहादुरसिंह लामा तामाङको समुहमा देखिएको छ । यस अघिको १३ औं महाधिवेशनमा समेत झण्डै यही प्रकृतिको चुनावी दौडमा जगदीश्वरनरसिंह केसीले रमेशकुमार महतलाई १४ मतले सभापति पदमा पराजित गरेका थिए ।

आज मनोनयन दर्ता भएको दुई प्यानल मध्ये सभापतिका उम्मेदवार मा डा. केदारनरसिंह केसीको उप सभापतिमा उपेन्द्र कुइँकेल र होमबहादुर तामाङ, सचिवमा शिव दाहाल र शंकर पाण्डे, सह सचिवमा झमकराज गुरुङ्ग र रुपबहादुर तामाङ छन् ।

यस्तै सभापति पदका उम्मेदवार रमेशकुमार महातको उप सभापतिमा सन्तमान तामाङ र राजु थापा, सचिवमा बैकुण्ठ मिश्र र श्रीराम श्रेष्ठ, सह सचिवमा यादव नेपाल र उत्तम पाठक छन् ।

यस्तै स्वतन्त्र रुपमा ठाकुरजंग पाण्डेले जिल्ला उप सभापतिमा उम्मेदवारी दिएका छन् । उनी क्षेत्र नं. २ का क्षेत्रिय सदस्यका रुपमा नेपाली काँग्रेसमा काम गरिसकेका छन् । उनले परिवारवाद र गुट अन्त्यका लागि आफ्नो उम्मेदवार रहेको दावी गरेका छन् ।

उम्मेदवारी दिएका पदाधिकारीहरु मध्ये महत प्यानलका उम्मेदवारहरु ‘हेभी वेट’ का देखिएका छन् । महत प्यानलका उप सभापति सन्तमान तामाङ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख हुन् । त्यस्तै अर्का उप सभापति पदका उम्मेदवार राजु थापा काँग्रेस नुवाकोटका यस अघि प्रवक्ता थिए । थापा भर्खरै केसीबाट अलग्गिएर बहादुरसिंह लामाको क्याम्पमा प्रवेश गरेका हुन् ।

सचिव पदका उम्मेदवार बैकुण्ठ मिश्र नुवाकोटको सहकारी आन्दोलनमा स्थापित नाम हो । जिल्ला सहकारी संघमा लामो समयसम्म अध्यक्ष बनेको मिश्रले संघको विकास र जिल्लामा सहकारीको क्षेत्र र सेवा विस्तारमा नेतृत्वदायी र अहम् भुमिका खेलेका छन् । सचिव पदका अर्का उम्मेदवार श्रीराम श्रेष्ठ डा. प्रकाशशरण महतसंग लामो समयदेखि संगै रहेर राजनीति गर्दै आएका पात्र हुन् । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्ष समेत भइसकेका श्रेष्ठ नेविसंघको कन्द्रिय सदस्य समेत बनिसकेका छन् । यस्तै सह–सचिवका उम्मेदवार यादव नेपाल बेलकोटगढी नगरपालिकामा काँग्रेसबाट मेयरमा चुनाव उठेका थिए । अर्का सह सचिव पदमा उम्मेदवार उत्तम पाठक नेविसंघ नुवाकोटका अध्यक्ष हुन् ।

केसी प्यानलका उप सभापति उपेन्द्र कुईकेल भद्र र निष्ठावान नेताको रुपमा स्थापित छन् । पुराना काँग्रेस नेतामा गनिने उनी नेपाली काँग्रेस नुवाकोटको जिल्ला कार्य समितिको निर्वतमान सदस्य हुन् । पञ्चायतकालमै उनी नेविसंघ नुवाकोटको सचिव थिए । काँग्रेस भएकै कारण जेलनेल र यातना भोगेका कुइँकेल हालसम्म कुनै लाभको पदमा छैनन् । अर्का उप सभापति होमबहादुर तामाङ यस अघि काँग्रेस तारकेश्वर गाउँपालिकाका सभापति थिए ।

सचिव पदका उम्मेदवार शिव दाहाल नुवाकोट काँग्रेसका निर्वतमान सचिव हुन् । त्यस्तै अर्का सह सचिव पदका उम्मेदवार शंकर पाण्डे नेविसंघको राजनीतिबाट आएका छन् । हाल नेविसंघ जिल्ला सचिव समेत रहेका पाण्डे २०६५ सालमा त्रिशुली क्याम्पसको स्ववियु सभापति समेत भएका थिए । सह सचिव पदका उम्मेदवार झमकराज गुरुङ्ग र रुपबहादुर तामाङ छन् अहिलेका निर्वाचित वडा अध्यक्ष हुन् । गुरुङ्ग शिवपुरी गाउँपालिका वडा नं. ४ र तामाङ म्यागङ गाउँपालिका वडा नं. २ का अध्यक्ष हुन् । गुरुङ्ग भर्खरै शिवपुरी गाउँपालिका काँग्रेस सभापतिमा निर्वाचित भएका छन् । गाउँ अधिवेशनमा महत खेमाको सहयोगबाट सभापति निर्वाचित झमकराज गुरुङ्ग अहिले केसी प्यानलमा छन् । म्यागाङका तामाङ बहादुरसिंह लामा तामाङको पकड रहेको क्षेत्रमा रहेर पनि सुरुदेखिनै अर्जुननरसिंह केसीसंग नजिक रहेर केसी खेमबाट राजनीति गर्दै आएका छन् ।

मतदान कार्य अहिले २ बजेपछि नेपाली काँग्रेस नुवाकोटको पार्टी कार्यालय विदुरमा हुने छ । २ हजार भन्दा बढी मतदाता रहेको आजको निर्वाचनले जिल्ला कार्य समितिमा ५२ जना र महासमिति सदस्यमा ११ जनालाई निर्वाचित गर्ने छ ।

१० मंसिर २०७८, शुक्रबार १३:०२



तपाईको प्रतिक्रिया