अटेरी आयोजनालाई १५ दिने अल्टिमेटम

विदुर । नेपाल बिद्युत प्राधिकरणले नुवाकोटको देविघाटमा निर्माण गरिरहेको नेपालमै ठुलो सोलार ग्रिड आयोजनाले स्थानीयवासी, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग बिगतमा गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै युवा संघर्ष समितिले आज आयोजनाको ध्यानाकर्षण गराएको छ ।

२५ मेगावाट क्षमताकोे सोलार ग्रिड प्यानलले स्थानीय स्तरमा गरिनुपर्ने बिकास निर्माणलाई बेवास्था गरेको भन्दै प्रभावित वासिन्दाहरुले आयोजना प्रमुख बिकार रघुबंशीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । १५ दिनको अल्टिमेटम सहित यस अघि भएका प्रतिबद्धता कार्यान्वयन नहुनको कारण लिखित रुपमा माग भएको छ । आयोजना अटेरी रुपमा देखिएकोले युवाहरुले कडा चेतावनी पनि दिएका छन् ।

विदुर नगरपालिका क्षेत्रकै बिभिन्न भुगोलामा नेपाल बिद्युत प्राधिकरणले नेपालमै ठुलो सोलार ग्रिड आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्यको आरम्भ हुँदा प्रभावित क्षेत्र र त्यहाँका जनताको हकमा आयोजनाले गरेको प्रतिवद्धता पुरा गर्न युवाहरुले माग गरेका हुन् ।

विदुर नगरपालिका वडा नं. १२ चारघरेका रोजिना ढुङगानाको संयोजकत्वमा युवाहरुले युवा संघर्ष समिति गठन गरेका छन् । युवा संघर्ष समितिले यस भन्दा अगाडी आयोजनाले जनाएको प्रतिबद्धता तत्कालै कार्यान्वयन गर्न माग गरेको छ ।

यस भन्दा अगाडी पनि सोलार सरोकार समिति गठन गरेर प्रभावित नागरिकहरुले पटक पटक आयोजना र स्थानीय तहको ध्यानाकर्षण गराएको छ । बाताबरणिय प्रभाब मुल्याङ्कनको क्रममा समेत स्थानीयको माग सम्बोधन हुनुपर्ने उल्लेख छ । बाताबरणिय प्रभाब मुल्याङ्कनमा समाबेश भएका बिषय र आयोजनाको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वयन नभएकाले युवाहरुले सक्रियता देखाएका हुन् ।

स्थानीय प्रभाबित तथा युवा संर्घष समितिले ध्यानाकर्षण गराउँदै ग्रिड सोलार आयोजनाले स्थानीय प्रभावितसँग सरोकार नराखी न्यूनतम प्रभावित जनताको माग पनि पुरा नगरेको जनाएको छ । पटक पटक नागरिकहरुले सोलार आयोजनासँग बिकासका प्रतिबद्धता पुरा गर्न आग्रह गरे पनि आयोजनाले टार्दै आएको छ ।

आयोजना, निर्माण कम्पनी, स्थानीय प्रभावित र वडा कार्यालयसँग भएको प्रतिबद्धता समेत पुरा नभए पछि प्रभावित नागरिकहरु आक्रोशित छन् । आयोजनाले देबिघाट जलविद्युत् केन्द्रदेखि नौबिसे ज्यामिरेसम्म सडक स्तरउन्नती गर्ने, गौरीबेशीचोकदेखि महेन्द्र माविसम्म सडक स्तरउन्नती गर्ने, आयोजनाले प्रभावितहरुलाई रोजगारी दिने लगायतका मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वनमा भने आयोजनाले चासो देखाएको छैन ।

आयोजना र निर्माण कम्पनीले एक अर्कालाई देखाउदै पन्छिदै आएको छ । आयोजनाले आफ्ना मागहरु पुरा नगरेमा १५ दिन पछि बृहत आन्दोलनको घोषण गर्ने संघर्ष समितिका संयोजक रोजिना ढुंगानाले जानकारी दिए । प्रभाबितहरुको मागलाई बेवास्ता गरेमा आयोजना निर्माणमा प्रभाबित बनाउने समितिले जनाएको छ ।

१० मंसिर २०७८, शुक्रबार १८:५३



तपाईको प्रतिक्रिया