विदुर । रसुवा प्रवेश गर्ने एक मात्र त्रिशुली–बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेंसी सडक चार दशकअघि निर्माण भएको थियो ।
चार दशकअघि निर्माण भएको उक्त सडकको समय–समयमा मर्मत हुन नसक्दा अहिले सवारीसाधन गुडाउन निकै जोखिम मोल्नुपरेको अवस्था रहेको छ । २०७२ को भूकम्पपछि भारतले नाकाबन्दी लगाउँदा भारतसँगको परनिर्भरता हटाउन नेपाल सरकारले रसुवागढी हुँदै चीनबाट आयात–निर्यात गर्न खोलिएको रसुवागढी नाकामा मालबाहक सवारी–साधनको ओहोर–दोहोर बढेसँगै सडक जीर्ण बनेको हो ।
रसुवागढी नाका सडकको दुरावस्थाले आयात–निर्यात र त्यहाँ सञ्चालित जलविद्यत् आयोजना प्रभाबित हुने गरेको छ । यही सडक भएर नेपाल–चीन आयात–निर्यात मात्र नभई दर्जन जलविद्यत् आयोजनाको उपकरण तथा निर्माण सामग्री यहि मार्ग हुँदै लैजाने गरेको छ । रसुवागढी नाकाको चर्चा जती भएपनि पूर्वाधार विकासमा लगानी नभएकाले यो अवस्था देखिएको नेपाल–चीन व्यापारी गर्दै आएका मानबहादुर तामाङले बताए ।
राम्चे, मूलखर्क, सोले, खोपाङ, भार्खु लगायतका ठाउँमा सडक बिग्रिएको छ । रसुवा जिल्लालाई राजधानीसँग जोड्ने एक मात्र पासाङल्हामु सडकको त्रिशुली–धुन्चे सडक जीर्ण भएपछि सवारी गुडाउन अप्ठ्यारो भएको सवारीचालकले गुनासो गरेका छन् । गत वर्ष पासाङल्हामु सडकको स्याउबारी, राम्चे र ग्राङ–मूलखर्क सडकमा केही स्थानमा ढलान भएकाले सहज भए पनि वर्षात्ले भत्किएको सडक र पहिरो सफा अझै हुन सकेको छैन ।
कालिका गाउँपालिकाको स्याउबारी, राम्चे, गाङ, मूलखर्क धुञ्चेको पारिपट्टि खोपाङ भिरमा पनि सडक जीर्ण भएकाले सवारी आवत–जावतमा समस्या पर्ने गरेको छ । ढुङ्गा बिछ्याएर ठाउँ–ठाउँमा ग्राभेल गरेर यात्रा सहज बनाउनपर्ने स्थानीयको माग रहेको छ ।
२३ मंसिर २०७८, बिहीबार ११:२५