विदुर । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेसन द्रुत गतिमा निर्माण भइरहेको छ ।
करिब ६० प्रतिशत काम सकिएको र २०७९ साउनभित्र प्रसारण लाइनको निर्माण सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँ पालिकास्थित थाम्वुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेंसीमा २२९/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली थ्री बि हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन हुनेछ ।
दुवै सब– स्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सब– स्टेशनमा रहने पावर ट्रान्सफर्मर, जीआईएसलगायतका महत्पूर्ण उपकरणको आपूर्ति ६६ प्रतिशत भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये ३० वटाको आंशिक जग हाल्ने काम सकिएको छ । ८ वटा टावर खडा गरिएको छ । आयोजनाले चिलिमे मैलुङसम्म १९ किलोमिटर डबर सर्किट र मैलुङबाट त्रिशूली–३ बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ ।
भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनपर्ने भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा टावरका सामान पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्य सम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयबासीको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण कार्यले प्रभावित भएको थियो ।
जनताको जलविद्युत् कार्यक्रमअन्र्तगत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १.११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ । प्रसारण लाइन अभावमा आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली प्रसारण लाइनको निर्माणको स्थलगत अनुगमन गरेर फर्किएको छ ।
प्रसारण लाइन र सब स्टेसन निर्माणका लागि ठेकेदारसँग २०७४ को कार्तिकमा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको अभावमा रसुवाबासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिटो काम सक्न दिन अनुरोध गरेका छन् ।
२९ मंसिर २०७८, बुधबार ११:५१