काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा नुवाकोटका माओवादी नेता हिरानाथ खतिवडाले उम्मेदवारी घोषणा गरेका छन् ।
आसन्न स्थानीय तह निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा बागमती प्रदेशमा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउका लागि आफ्नो उम्मेदवारी प्रदेश अध्यक्ष पदमा रहेको खतिवडाले बताएका छन् । नेकपा माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी, विधि र विधान, पद्दतीमा चल्ने पार्टी निर्माण गर्नका लागि आफुले प्रदेश अध्यक्षको दाबी गरेको खतिवडाले बताए । पार्टीको कार्यकर्ताहरुलाई योग्यता, क्षमता र निरन्तरताको आधारमा, क्षमतावानहरुलाई जिम्मेवारी दिदै जुझारु र गतिशील पार्टी बनाउने आफ्नो अठोट र प्रतिवद्धता रहेको उनको भनाई रहेको छ । ‘सरकार, सदन र सडक तीनै मोर्चामा पार्टीलाई अब्बल बनाउनका लागि मैले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ’ खतिवडाले खबरपेजसंग भने ।
हिरानाथ खतिवडा हाल बागमती प्रदेश सांसद र नेकपा माओवादी केन्द्र नुवाकोट समन्वय समितिका संयोजक छन् । ५४ वर्ष अघि नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा जन्मिएका खतिवडा प्रदेश सभा निर्वाचनमा नुवाकोटको निर्वाचन क्षेत्र २ को ‘ख’ बाट निर्वाचित भएका हुन् । २०७४ सालमा भएको प्रदेश र संघीय निर्वाचनमा तत्कालिन बाम गठबन्धलाई निर्वाचित गराउन खतिवडाको भुमिका महत्वपूर्ण रहेको थियो । नुवाकोटको प्रतिनिभि सभा क्षेत्र २ वटा र प्रदेश सभा निर्वाचन क्षेत्र ४ वटामै बाम उम्मेदवारहरु बिजयी भएका थिए ।
२०४२ सालमा तत्कालिन मशाल (मोटो मशाल)को सदस्यता लिएर कम्न्युष्टि आन्दोलनमा होमिएका खतिवडा २०४४ सालमा जेल समेत परेका थिए । पञ्चायत बिरोधी आन्दोलनमा सक्रिय भएका उनले २०४४ सालमा छ महिना जेल जीवन भोग्नु पर्यो । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा खतिवडा शिक्षण पेशाको स्थायी जागिर छाडेर पूर्णकालिन रुपमा होमिएका थिए । खतिवडा २०५२ सालदेखि अविछिन्न पार्टी, संगठन र जनमुक्ती सेनामा लाग्दै आएका छन् । जिल्ला संगठन प्रमुख, जनमुक्ती सेनाको कमिसार रहेका उनी माओवादी शान्ति प्रक्रियामा आएपछि (२०७१ सालदेखि) नेकपा माओवादी नुवाकोटको प्रमुख भई लगातार काम गर्दै आएका छन् ।
जनयुद्धकालमा हालको बागमती प्रदेशको सबै जिल्लामा जनमुक्ती सेनाको कमिसारको रुपमा कार्यरत खतिवडा अहिले माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि ईच्छा ब्यक्त गरेको नेताहरु भन्दा ‘सिनियर’ छन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको २५ गते काठमाडौंमा प्रदेश सम्मेलन उद्घाटन भएको थियो । २६ गते चलेको बन्दसत्रले प्रदेश सदस्यहरु निर्विरोध निर्वाचित गरिसकेको छ । माओवादी केन्द्रको बागमती प्रदेश सदस्यमा २७५ जना चुनिएका छन् । प्रदेश समितिको पदाधिकारी २७५ बाटै निर्वाचित हुने व्यवस्था रहेको छ ।
२९ मंसिर २०७८, बुधबार २१:५७