हिमपातबाट जोगिन पूर्वतयारी

रसुवा । हिमाली जिल्ला रसुवामा हिमपातबाट जोगिन पूर्वतयारी सुरु भएको छ । चिसो मौसम सुरु भएसँगै हिमपात तथा चिसोलाई मध्यनजर राख्दै हिमाली जिल्ला रसुवामा पूर्वतयारी सुरु गरिएको जिल्ला प्रसासन कार्यालय रसुवाले जनाएको छ ।

हिमपातको समयमा जिल्लामा हुनसक्ने जोखिमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय रसुवामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी हिमपातबाट जोगिन तथा हुनेसक्ने क्षतिका लागि पूर्वतयारी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

हिमपातबाट प्रभावित हुन सक्ने सम्भावित स्थानको पहिचान गरी पूर्व तयारी सुरु गरिएको उनले बताए । क्षति न्यूनीकरणका लागि हिमपात पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको छ । मंसिर मसान्तसम्म तयारी अवस्थामा रहने गरी २१ बुँदे कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अकिधकारी जैसीले बताए ।

योजना अनुसार जिल्लामा हिमपातबाट प्रभावित क्षेत्र, परिवारका गरिब तथा विपन्न घर परिवारको पहिचान गरी लगत संकलन गरिने भएको छ । चिसोमा जोखिममा रहेका घरपरिवारका लागि हिमपातको समयमा न्यानो कपडा, तातो सुप, सिरक, डसना लगायतका सामग्री वितरण गरिने भएको छ । जाडोका लागि आवश्यक पर्ने काठ, दाउरा समयमै उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइने भएको छ । आपतकालिन अवस्थामा आश्रयस्थलहरू आवश्यक हुने हुँदा जिल्लाको २७ वटै वडामा आश्रय स्थलको पहिचान गरिने भएको छ ।

त्यसैगरी, जिल्ला स्थित पाँच वटै गाउँपालिकाका वडास्तरमा हिमपात र चिसोबाट बच्नको लागि प्रहरी समुदाय साझेदारी कार्यक्रम सञ्चालन गरिने भएको छ । स्वास्थ्यकर्मी तथा औषधिहरू पर्याप्त मात्रामा राख्ने र द्रुत प्रतिकार्य समूह परिचालन गरी तयारी अवस्थामा राखिने भएको छ । खोज तथा उद्धारका सामग्री तयारी अवस्थामा राखिने भएको छ ।

खोज तथा उद्धार सम्बन्धी तालिम प्राप्त कम्तीमा पनि ५० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ । हिमपहिरो खोज तथा उद्धारमा लाग्ने सामग्रीहरू खरिद गरी कम्तीमा १० जना जनशक्ति तयारी अवस्थामा राखिने जनाइएको छ ।

६ पुष २०७८, मंगलवार १५:००



तपाईको प्रतिक्रिया