विदुर । वैदेशिक रोजगराीमा गएका नागरिकहरुले सम्झौता अनुसारको काम पाउने गरेका छैनन् । आप्रवासी श्रोत केन्द्र नुवाकोटमा यस्ता गुनासो आउने गरेको छ ।
सुरक्षित वैदेशिक रोजगारका विषयमा पत्रकारहरुसँग हिजो भएको अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षको मंसिरसम्ममा १९ वटा प्राप्त गुनासोहरु मध्ये १२ वटा सम्झौता अनुसारको काम नपाएकोे तथ्याङ्क छ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषण रहित बनाउन नेपाल सरकार र स्वीस सरकारको सहयोगमा जिल्लाको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा स्थानीय तहको सहयोगमा सामी परियोजना सञ्चालन भइरहेको छ ।
तर आप्रवासी श्रोत केन्द्रमा जिल्लाभरबाट वैदेशिक रोजगारमा गएकाहरुले गुनासो गर्न पाउने छन् । साउनदेखि मंसिरसम्मको ५ महिनामा १२ जनाले सम्झौता अनुसारको काम नपाएकोे, २ जना जेल परेको, १ जनाको वैदेशिक रोजगारकै क्रममा मृत्यु भएको, २ जना सम्पर्क विहिन भएको र २ जनामा स्वास्थ्य समस्या भएको जानकारी आप्रवासी श्रोत केन्द्रलाई प्राप्त भएको परियोजनाका कार्यक्रम संयोजक निरु सूचिकारले जानकारी दिएका छन् ।
परियोजनाले सुरक्षित वैदेशिक रोजगारीको लागि सूचना र परामर्श दिने, वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरुलाई मनोपरामर्श दिने, वितिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने लगायतका कामहरु गर्दै आइरहेको उनले बताएका छन् ।
कार्यक्रमलाई संवोधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले सिप सिकेर मात्र वैदेशिक रोजगारमा जानको लागि आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा नगएर आफ्नै ठाउँमा केही काम गर्न जोड दिँदै उनले युवाहरुलाई स्वरोजगार बनाउनलाई नगरपालिकाले नीति तथा कार्यक्रम मार्फत प्रोत्साहन गरिरहेको बताएका छन् ।
नेपाली समाजको बाध्यात्मक परिस्थिति वैदेशिक रोजगारी रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले वैदेशिक रोजगारको नाममा नेपालीले नेपालीलाई नै ठगी गर्ने प्रवृति रहेको बताएका छन् । वैदेशिक रोजगारीबाट प्राप्त रकम उत्पादन हुने क्षेत्रमा लगानी र वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सिपको दुपयोग गर्न मरासिनीले आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवं अधिवक्ता नवदीप श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी केही कानुनी तथा वैदेशिक रोजगारीको सवालमा सञ्चारकर्मीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । स्वदेशमा नै रोजगारीको सिर्जना गराउने वातावरण बनाउन प्रेरित गराउने समाचारलाई प्राथमिकता दिन सकियो भने वैदेशिक रोजगारीको कारण पारिवारिक रुपमा आइपर्ने विखण्डनमा न्यूनिकरण हुने अधिवक्ता एवं पत्रकार श्रेष्ठको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएका सेवाग्राहीहरुलाई सुरक्षित वैदेशिक रोजगारको विषयमा प्रयाप्त मात्रमा सूचना र जानकारी गराउने गरेको छ । नुवाकोटबाट राहदानी बनाउने मध्ये महिला ३६ र पुरुष ६४ प्रतिशत छन् । वागमती प्रदेशको जिल्लाहरु मध्येबाट वैदेशिक रोजगारमा जाने महिलाहरुको अनुपात अनुसार सिन्धुपाल्चोक पहिलो, काभ्रेपलाञ्चोक दोश्रो र नुवाकोट तेश्रो स्थानमा पर्ने सामी परियोजनाले जनाएको छ ।
९ पुष २०७८, शुक्रबार ११:२८