दैविक शक्ति बोकेको दुप्चेश्वर महादेव

२०६३ सालको दुप्चेश्वर जात्रा । तस्बिर : कपिलदेव खनाल

‘यहाँको महादेवको दर्शन गरेर मागेपछि पुरा हुन्छ भन्ने सुनिरहेको थिएँ पहिलादेखि, त्यही भएर यो पाली दर्शन गरेर माग्नको लागि आएको हुँ’ –जोत्सना श्रेष्ठ, मेलम्ची सिन्धुपाल्चोक ।

श्रेष्ठ जस्ता हज्जारौं भक्तजन तथा धार्मिक पर्यटकहरु बर्षेनी नुवाकोटको दुप्चेश्वर महादेवको दर्शन र पुजाआजाका लागि आइपुग्छन् र यस्तै भन्छन् । दोश्रो पशुपतीनाथको रुपमा परिचित र आराधन हुँदै आएको दुप्चेश्वर महादेव मन्दिरमा मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको अवसरमा ठूलो जात्रा लाग्दै आएको छ । एक हप्तासम्म चल्ने यस जात्रामा विशेष गरी धान्यपूर्णिमाको अघिल्लो दिन चतुर्दशीका साँझदेखि बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ । जात्राको समयमा भजनकीर्तन र विभिन्न किसिमका नाचगान चल्ने गरेको छ । व्यापार व्यवसायका लागि टाढादेखिका व्यापारीहरु ओइरिन्छन् । परम्परागत पोशाकमा चटक्क सजिएका झाँक्रीहरुको जमघट यहाँ बाक्लै हुन्छ । धान्यपूर्णिमामा हुने विशेष जात्रा बाहेक पनि यहाँ नियमित रुपमा मेला लाग्दै आएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ बताउँछन् ।

२०६३ सालमा जात्रा आएका झाँक्रीहरु परम्परागत रुपमा नाच्दै ।

आफूले चिताएको पुरा हुने, सन्तान त्यसमा पनि छोरा प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ व्याउने जनविश्वासले दुप्चेश्वर महादेवको दर्शन र पुजा आराधना गर्न भक्तजनको ओइरो लाग्ने गरेको छ । त्यस्तै, परम्परागत उपचार विधि र दैविक शक्ति रहेको मानिने धामी–झाँक्रीहरु आफ्नो विधि अनुसार श्री महादेबबाट आफ्नो मन्त्र शिद्ध गर्न पनि यहाँ आउने गरेका छन् । आफु र आफ्नो कुटुम्वमा खान लाउन अभाव नरहोस्, पशु थारो नहोउन् भनेर मार्ग शुक्लपक्षको धान्यपूर्णिमाको बेलामा लामा तथा झाक्रीहरु दुप्चेश्वर महादेवको अनुष्ठानका लागि आउने गरेको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदीका मुल झाक्री अक्कलबहादुर तामाङ बताउँछन् । ‘पुर्खाहरुले राखेको आस्थालाई हामीले कायम गरेका छौं, हामी बर्षेनी यो जात्रामा यसैगरी आफ्नो भेषभुषासहित आउने गरेका छौं’ तामाङले भने ।

हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश जात्रा लाग्ने जिल्लाकै प्रसिद्ध दुप्चेश्वर मन्दिरमा मुख्यतः सन्तान नहुने दम्पतीहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । सन्तानमा पनि छोराको रहर गर्ने दम्पतीहरु यहाँ आउने गरेका छन् । विश्वास र श्रद्धाका साथ दुप्चेश्वर महादेवसंग पुत्र वर माग्दा प्राप्त हुने विश्वास सदिऔंदेखि रहिआएको छ । पुजारी भगवानहरि धिताल धेरै मात्रामा छोरा माग्नेहरु आउने गरेका बताउँछन् । ‘यहाँ आएर माग्नेहरुको सन्ताल लाभ त्यसमा पनि छोरा नै हुने गरेको छ, पछि उनीहरु आएर पुजा गर्छन् र हामीलाई भन्छन्’ पुजारी धितालले भने, – ‘भगवान्ले कसैलाई बिखुम गर्नुभएको छैन ।’

२०६३ सालको दुप्चेश्वर जात्रा ।

अनकण्टार चिसो पहरामा अवस्थित देवाधिदेव यी महादेवको दर्शन र पुजाका लागि नुवाकोट बाहेक काठमाडौं उपत्यका, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, काभ्रे, सिन्धुली, बारा, चितवन लगायतका थुप्रै जिल्ला तथा भारतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेका छन् । दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित यस दुप्चेश्वर महादेव स्थान सबै जातजाती, भाषा तथा धर्मालम्बीहरुका लागि साझा थलोको रुपमा विकास भएको छ । पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले यहाँसम्म आइपुग्नका लागि सडकलाई सहज बनाएको छ, दुप्चेश्वर महादेवको बढ्दो प्रचारले अहिले श्रद्धालु भक्तजनहरुको उपस्थिति बाक्लो रहेको बताउछन् गाउँपालिका अध्यक्ष तामाङ । ‘बिगत चार वर्षदेखि यातायातका कारणले भक्तजनहरुले कुनै समस्या भोग्नु परेको छैन, यही नजिकैसम्म यातायातको साधनमा आउन सकिने अवस्था छ’, उनले भने– ‘जात्राका लागि अन्य पक्षहरु पनि हामी गाउँपालिकाकै सक्रियतामा व्यवस्थित पारेका छौं ।’

झट्न सुन्दा अपत्यरिलो लाग्ने प्रसङ्ग छोरा माग्दा प्राप्त गर्ने यहाँको वरदानका अनगिन्ति साक्षिहरु छन् । निःसन्तानले सन्तान प्राप्त गरेको देखि छोरा प्राप्त गरेको उदाहरण यहाँ आउने दर्शनार्थीहरुमा बाक्लै पाउन सकिन्छ । रसुवा जिल्ला सरमथलीका दोम्बोले तामाङले २०५५ सालमा यही आइ दुप्चेश्वर महादेवसंग आफ्नो सन्तानमा छोरा होस् भनि मागेका थिए । छोरानै प्राप्त गरेपछि यिनी स–परिवार र गाउँघरका अन्य मानिसहरुसित बर्षको कम्तिमा एकपल्ट महादेवको दर्शन गर्न आइपुग्छन् । ‘त्यस बेलामा मैले दुप्चेश्वरसंग मार्ग शुक्लपक्षको धान्यपूर्णिमामा यस दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने जात्रा भर्न आउने अधिकांश दम्पत्तिहरुको एउटै कामना भनेको सन्तान प्राप्ति कै हुन्छ । त्यस बाहेक अन्य भाकलका लागि पनि यहाँ भक्तजनहरुको भिड र आस्था रहेको छ । यस मन्दिर रहेको दुप्चेश्वर गाउँपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेल पनि यस महादेवको दर्शनपछि आफुलाई पुत्र प्राप्त भएको स्मरण गर्छन् । ‘२०४१ सालमा म महादेवको दर्शन गर्न आएको थिएँ, यहाँबाट फर्केको रात मेरो सपनामा दुई बालकहरु तामाको खड्करोमा खेलिरहेको देखेँ, मेरो जीवनमा त्यो सपनाको प्रभाव पर्यो, मेरो जीवनमा पनि पुरा भयो’ गजुरेलले भने ।

२०६३ सालको दुप्चेश्वर जात्रामा सहभागि महिला रातको समयमा बत्ति बाल्दै ।

दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोलेका बालबच्चा बोल्नथाल्ने विश्वासमा टाढाका भक्तजनले भाकल गर्ने र पुरा भएपछि श्री महादेवको दर्शनका लागी आउने गर्छन् । सन्तान नभएकाहरुले सन्तान, विवाह नभएकाहरुले लगन जुराइ माग्ने र पुराभए पछि दर्शन गर्न आउने भक्तजनहरुको अनुभव सुन्न पाइन्छ । गोठमा थारो गाईभैसी हुनेहरु गाई भैसी ब्याओस् भनी भाकल गर्न यहाँ आइपुग्छन् र महादेवलाई दाम्लो चढाएर फर्किन्छन् । तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका अर्जुनबहादुर पण्डितका अनुसार यहाँ बर्षेनी गाईभैसीको दाम्लो चढाउन आउनेहरुको संख्या सयौं रहेको छ । ‘दुध धेरै आउने, नब्याएको पोथी चौपाया ब्याउने शक्ति यहाँबाट प्राप्त हुने देखेको छु’ पण्डितले भने ।

यहाँको जात्रामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री समेत हुने गरेको छ । जात्रा अवधिभर तीर्थयात्रीहरुका लागि खाना र बासको अस्थायी संरचनाहरु तयार हुने गरेका छन् । सन्तान माग्ने आउने कारणले पनि यस क्षेत्र सबै धर्मालम्वीहरुको साझा स्थल बनेको छ । विशेष गरी हिन्दु र बौद्ध धर्मालम्वीहरु बरोवरी आस्था प्रकट गर्न आउने यहाँ अन्य धर्मालम्वीहरुको समेत उपस्थिति रहिआएको सुनाउछन् दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष ध्रुबकर केसी । ‘हिन्दु र बौद्ध धर्मालम्विहरुको संख्या यहाँ आउनेमा बढि छ’, अध्यक्ष केसीले भने– ‘त्यसका साथै अन्य धर्मालम्बीहरु पनि यहाँ आइरहेका छन् ।’

मार्ग शुक्लपक्षको धान्यपूर्णिमा बाहेक सामान्य पूजा र रुद्री लगाउनेहरुको लर्को पनि यहाँ सधै देखिने गर्छ । थाहा पाउनेहरुमा ठूलो आस्था छ यी देवधिदेव महादेवप्रति । यहाँ प्रत्येक वर्ष अक्षय तृतियाका दिन लघुरुद्री गर्ने प्रचलन अहिले पनि छँदैछ । कुनै एक चिज जे मागेपनि पुरा भएको भन्दै फेरि पुजा गर्न र आफ्नो भाकल पुरा गर्न आउने भक्तजनहरुको संख्या दिनानुदिन थामिनसक्नु भएको छ । नेपालको कुनाकुनबाट भक्तजन आउने क्रमले अहिले यत्ति व्यापकता पाएको छ कि, यहाँका पुजारी भगवानहरि धितालसमेत अचम्मित छन् । ‘जो जो दर्शन गर्न आउछन्, मेरो मनोकांक्ष पुरा भयो मात्रै भन्छन्, म त यहाँको श्री महादेवको शक्ति देखेर अचम्मित छु’ पुजारी धितालले भने ।

२०६३ सालको दुप्चेश्वर जात्रा ।

नुवाकोटका छिमेकी जिल्लाहरु रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुरबाट त बर्षेनी मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रामा भक्तजनहरु आउने गरेका छन् । असाध्यै सम्मान र आदरका साथ जात्रामा सहभागि हुने तामाङ समुदाय सिङ्गै गाउँ नै एकै साथ आउने गरेका छन् । केही वर्षअघिसम्म ३÷४ दिन लगाएर पैदल हिडेर दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेकोमा अहिले सडक सुविधाले झन् सजिलो भएको छ । रसुवाको धुञ्चेबाट बर्षेनी दुप्चेश्वर दर्शन गर्न आइरहेका बाबुलाल तामाङ भन्छन्– ‘यो त हाम्रो परम्परा नै बनिसेको छ, पहिला हामी दुई तीन दिन लगाएर हिडेर आउने गरेका थियौं, अहिले यातायातको सहज भएको छ, बस्नका लागि सुविधा छ, त्यो भएरपनि रसुवाबाट दुप्चेश्वर महादेजवको दर्शन गर्न आउने र जात्रा हेर्न आउनेहरुको संख्या बढेको छ ।’

दुप्चेश्वर मन्दिर नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतवेशीमा अवस्थित छ । भक्तजनको मनोकांक्षा तुरुन्तै पुरा गर्ने देवका रुपमा परिचत दुप्चेश्वर महादेवको उत्पत्तिको प्रसङ्ग र ईतिहास अनौठो रहेको छ । प्रचलनमा रहेका केही किम्वदन्ती मध्ये चार सय वर्ष पहिला स्थानीय बासे तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुर भिरमा शिवलिङ्गमाथी गाईले चारवटै थुनबाट बलिन्द्र धारा दुध चढाइरहेको भेटिएको पौराणिक कथनलाई चाँहि धेरै जनाले सुनाउने गरेका छन् । त्यो धान्यपूर्णिमाका दिन रहेकोले त्यसबेलादेखि आजसम्म सोही अवसरमा विषेश पुजाआजा र जात्रा लाग्दै आएको हो । पछि कसैले शिवजीलाई पूर्णिमाको दिन होइन चतुर्दशीका दिन पूजा जुर्छ र त्यस पूजाले शिवजी खुसी हुन्छन् भनेपछि यो पर्व हाल चतुर्दशीका दिन साँझबाट सुरु भएर पूर्णिमाका दिन सकिने प्रचलन रहिआएको छ ।

२०६३ सालको दुप्चेश्वर जात्रामा सहभागि भएर फर्किकाहरु सातविसेमा । त्यसबेला सातविसे बजार भन्दा माथी सडक थिएन ।

अर्को पौराणिक कथन अनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष पिएर रन्थनिएका श्री महादेवले गोसाइँकुण्ड जाँदा यही मार्ग प्रयोग गरेका थिए । त्यसबेलामा अहिलेको दुप्चेश्वर महादेव रहेकै स्थानमा विश्राम लिएको जनश्रुती छ । यहाँको परम्परा र ईतिहासका बारेमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ जानकार छन् । पछिल्लो समय जात्रा आउने र दर्शन गर्नेहरुको शैली र तरिकामा केहि फेरबदल आएपनि संख्यामा भने वृद्धि भएको उनी बताउँछन् । ‘पहिला हिडेर जात्रा आउनुपथ्र्यो, त्यसले गर्दा बाटोघाटामा गीत गाउने, झाक्री आफ्नो परम्परागत नाँच प्रस्तुत गर्दै आउने अवस्था हुन्थ्यो’ तामाङ भन्छन्– ‘अहिले यातायातका सुविधाका कारण यहाँ आउने भक्तजनहरु दर्शन गरेर त्यही दिनै फर्किने अवस्था छ, यसले गर्दा जात्राको शैलीमा केही फरक देखिएको छ ।’

दुप्चेश्वर मन्दिर आठ सय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको सुर्यमती अर्थात् तादी नदीदेखिनै बनाईएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् । मन्दिर र यस वरपरको भौतिक संरचनाको संरक्षण र विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरु तल्लिन देखिएका छन् । दुप्चेश्वर मन्दिरको संरक्षण, विकास र प्रचारका लागि कोषको स्थापना भएको छ । २०७४ सालमा गाउँपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोषको स्थापना गरेको छ । दुप्चेश्वर गाउँ कार्यपालिकाबाट तयार भएको कार्यविधि तथा नियमावली अनुसार सञ्चालित कोष र त्यसको सचिवालयको संयोजन वडा नं. ६ का अध्यक्षले गरिरहेका छन् । कोष सञ्चालन कार्यविधिले दुप्चेश्वर महादेव अवस्थित वडा नं. ६ का अध्यक्षलाई पदेन रुपमा संयोजकको जिम्मेवारी दिएको छ । कोषका संयोजक एवं दुप्चेश्वर वडा नं. ६ का अध्यक्ष किशोर आचार्य विश्वस्तरमा प्रख्याती प्राप्त दुप्चेश्वर महादेवको संरक्षण र धार्मिक पर्यटकको आगमन बढाउन योजनाबद्ध रुपमा काम भइरहेको सुनाउछन् । ‘दुप्चेश्वर महादेव मन्दिर र यस परिषरलाई नुवाकोटको पहिलो पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि हामी लागि परिरहेका छौं’ अध्यक्ष आचार्यले भने । स्थानीय सरकारले पावनभुमी दुप्चेश्वर महादेव मन्दिर र यस परिषरको भौतिक विकासका लागि खास–खास योजना तयार गरिरहेको छ । हिन्दु र बौद्ध धर्मालम्वीहरुको बरोबरी आस्था रहेको र नेपाल राज्यभरिबाटै भक्तजनहरुको ओइरो लागिरहेको दुप्चेश्वरलाई सहज र विकसित गर्न गुरुयोजना तयार गरेर अगाडी बढेको आचार्यले बताए ।

२०७३ सालको जात्रामा सहभागि लामाहरु ।

दुप्चेश्वर महादेवस्थानको पहिचान भएको मार्ग शुक्लपक्षको धान्यपूर्णिमा जात्रा नुवाकोट जिल्लाकै पहिचनाका रुपमा देखिएको छ । धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास भएको यस जात्रामा खासगरी तामाङ र शेर्पा जातीका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । जात्रामा शेर्पा जातिहरु ढ्याङ्ग्रो बजाउँदै झाँक्रीको भेषमा महादेव खुसी पार्न रातभर झाँकी प्रदर्शन गर्छन् । तामाङ सेलो, साइगोले लगायतका तामाङ लोक साँस्कृतिक गीत, नृत्य अनि झ्याउरे भाकाका गीत गाउँदै जात्रा भर्न जानेहरुको लर्को यसको अर्को आकर्षण हो ।

पहिलाको दुप्चेश्वर जात्रा र अहिलको जात्रामा केही परिर्वतन भने आएको छ । पहिला रातनै यही बिताउने गरी हज्जारौं धार्मिक पर्यटक तथा भक्तजनहरु आउने गरेका थिए भने अहिले श्री महादेवको दर्शन गरेर फर्कनेहरुको संख्या बढी छ । यातायताको सहज पहुँच र विकासका कारण यस्तो भएको अनुमान गरिएको छ । र पनि बर्षेनी जात्रामा आउनेहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जात्राको मुख्य आकर्षको रुपमा रहेको लामा तथा झाक्रीहरुको उपस्थिति र सहभागिमा भने हरेक वर्ष कमी हुँदै आएको छ । केही वर्ष अघिसम्म पनि हप्तौ लगाएर नाँच्दै जात्रा आउने झाक्रीहरु अब फाट्टफुट्ट सहभागी हुन थालेका छन् । यो सिप भएकाहरुको कमी र जात्राप्रति टुट्दै गएको आम मोहका कारण यसो भएको अनुमान गरिएको छ ।

२०७३ साल

पुस्तौं देखि परम्पराका रुपमा विकास भईआएको यस चलनलाई मर्न नदिन युवाहरुले अहिले चासो व्यक्त गर्न थालेका छन् । देशैभरी प्रख्याती पाप्त दुप्चेश्वर जात्रामा झाक्रि सहभागिता कायम राख्न घ्याङ्फेदीका २१ वर्षिया मन्जित तामाङ अघि सरका छन् । ‘पहिलाको भन्दा त केही फरक होला हामी युवाहरुले धान्ने परम्परामा, तर यो संस्कृति मर्न नदिनका लागि म जस्ता युवाहरु यसरी ढ्याङ्ग्रो बोकेर लागि परिसकेका छौं’, उनले भने ।

कुनै यस्तो बेला थियो, रिसइवी साध्ने थलोको रुपमा यो दुप्चेश्वर महादेवको जात्रा विकास भएको थियो । जात्रा आउनेहरुले तीन-चार दिनको बाटो समय निकाल्नु पर्ने थियो । पहरामा रहेको मन्दिरमा पुग्ने बाटो व्यवस्थित थिएन । तर अहिले यि सबै कुराहरुको अवस्था फेरिएको छ । स्थानीय सरकार स्थापना भएसंगै कला, संस्कृति र ईतिहास संरक्षणको प्रयास भएको छ । यो जात्रा साँस्कृतिक रुपमा मात्रै नभई आर्थिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ । बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय उत्पादनसम्म जात्रामै विक्रि हुँदा दोहोरो आर्थिक चहलपहल देखिएको छ । यहाँको उत्पादनहरुले निक्कै टाढाटाढासम्म बजार पाएको छ । जात्राबाट बाँस तथा निगालोका थुन्चे, डोका, चाल्नु, डालो, भकारी जस्ता हस्तकालको सामाग्री निर्यात हुँदै आएको छ । स्थानीय कृषि उत्पादन, भेडाच्याङ्ग्राका रौंबाट तयार भएका परम्परागत पोशाकहरुले राम्रो मुल्य सहित बजार पाइरहेको छ ।

२०७३ साल
२०७३ साल
२०७३ साल
२०७३ साल
२०७८ साल

९ पुष २०७८, शुक्रबार १६:१५



तपाईको प्रतिक्रिया