बदलिएको सुनसान र रित्तो मेरो गाँउ ठाँउ

लगभग ३० बर्ष पछी एक हप्ता गाँउ बस्ने निधो गरेर काठमाडौँको ब्यस्त जिन्दगीवाट पुस १ गते नुवाकोट झरें । मैले नुवाकोट छोडेको ठ्याक्कै ३० बर्ष भयो । अवका दिनहरू केही फूर्सतिलो ढंगले विताउने निधो गर्दै मेरो जन्म थलो गाँउको घरलाइ केही आधुनिक ढंगले बदल्ने हिसाबले काम गर्दैछु ।

गाँउको पुरानो घरलाई ७२ सालको भूकम्पले बस्नै नमिल्ने गरी भत्काएको थियो । आज हामी ७८ सालको मध्यमा छौ । ३ आना जतिको मेरो सानो घर पुनः निर्माण गर्न मलाइ ६ बर्ष लागीसक्यो । गाउको घर पुनः निर्माण गर्न घरको परिवारका सदस्य कसैलाई जागरै चलेन । म भने सुरु देखिनै गाँउको भत्केको घर पुनर्निर्माण गर्न‘ पर्दछ भन्ने सोचमा थिए ।

मेरो गाँउको घरको जस्तै आज नेपालको गाँउघरको हालत छ । सहरमा बसेको नेपाल सरकारलाइ गाँउ घर निर्माण गर्ने जागर नै छैन । मेरो सहरमा बस्ने परिवारका सदस्यलाई गाँउको घर पुनः निर्माण गर्ने जाँगर नभएको जस्तो नेपालको गाँउघर पुनः निर्माण गर्ने जागर नेपाल सरकारलाई छदै छैन । पहिलो प्रस्न गाँउ रित्तो छ घर बनाएर बस्ने को ? यो प्रश्नले प्रत्येक दिन चिमोटिरहन्छ । गाँउका प्रत्येक जसो हिजोका घरहरू रित्तो र थोत्रो छ । गाँउ एकदम सुनसान छ । एकाध केही घरहरूमा गाँउमै स्कूलका मास्टरहरूको, केही हातमा सिप भएका ज्यामी, डकर्मी, सिकर्मीका घरहरू परिवार सहित बसेका भेटिन्छन् । अवकाश प्राप्त शिक्षकहरू र थोरै मात्रामा अवकाश प्राप्त सरकारी कर्मचारीका बुढा÷बुढी गाँउको घरमा भेटिन्छन् । केही समय दुई÷चार बर्ष बैदेशिक राजगारीमा गएका र कोभिडको कारण रोजगार गुमाएका तर उतै फर्कने आशमा रोकिएका युवाहरू र तिनका आर्शित परिवारका सदस्यहरू गाँउ घरमा भेटिन्छन् ।

हिजोका भरिभराऊ स्कुलहरू आज केही सिमित विद्यार्थी राखेर पढाई रहेको भेटिन्छन् । स्कुल लाग्दा र छुट्टी हुँदा जुन हिसावले बिद्यार्थीको लर्को हुनु पर्ने थियो त्यो अवस्था आज छैन । सहरमा बसेर समाज रुपान्तरणको दर्शन लेख्न जति सजिलो छ गाँउ घरमा आएर गाँउको समाज रुपान्तरण गर्ने दर्शनको सूत्र निकाल्न निकै कठिन छ । गाँउ घरमा धुले सडकहरू बनेका छन् ति सडकमा हिड्ने मान्छे सिलो खोजे झै खोज्नु पर्दछ । घन्टौ हिड्दा एकाद मानिससंग भेटघाट हुन्छ ।

गाँउघर बदल्ने कसरी ?
गाँउघर आफै बदलिरहेको छ । ७२ सालको भुकम्पले भन्दा अगाडि ५२ सालको राजनीतिक महाभूकम्पले गाँउघरलाई जगैदेखी बदल्ने काम भयो । ५२ सालको राजनीतिक भुकम्पले गाँउको जग आर्थिक आधारलाई पुरै हल्लाइदियो । गाउको आर्थिक आधारलाई भत्काइसकेपछि त्यसको जगमा खडा भएको राजनीतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, कानुनी सबै उपरी संरचना भत्कियो । २०७२ सालको महाभूकम्पले गाँउको बचेखुचेको आर्थिक आधार र त्यसको जगमा खडाभएको उपरी संरचना पुरै रित्तो भयो । सहरको ब्यस्त जीवनमा रमाउने जो कोहीलाई आज गाँउ घरमा एक हप्ता कसरी बिताउने भन्ने चिन्ता हुन्छ । मानिसलाई उसको पहिलो आवश्यकता अर्को उ जस्तै मानिसको हुन्छ । मानिस एक्लै मानिस विना धेरै दिन बाच्न सक्ने जिव नै होइन । मानिसलाई हर पल अर्को आफै जस्तो मानिसको पहिलो आवश्यकता पर्दछ । केही दिन एक्लै बस्न सकिएला तर धेरै दिन मानिस विना मानिस खुसीले बाच्न सक्दैन । मानिसको पहिलो आवश्यकता अर्को मानिस नै हो । सहरमा त मानिस नै मानिसको भिडमा एउटा मानिसलाई अर्को मानिसको कुनै महत्व हुदैन । तर गाँउमा एउटा मानिसलाई अर्को मानिसको महत्व धेरै हुन्छ । मानिसको संख्या जुन स्थानमा बढी हुन्छ त्यहा मानिसको महत्व कम हुने नै भयो । त्यस्तै गरी गाँउमा मानिसको संख्या ज्यादै कम भए पछी मानिसको महत्व वा मूल्य बढने स्वभाविकै हो ।

गाँउघर बदल्ने कसरी ?
५२ सालको राजनीतिक भुकम्प र ७२ सालको प्राकृतिक प्रकोपको महाभूकम्पले थिलथिलो पारेको गाँउघर उठनै नसक्ने गरी रित्तो भएको छ । गाउघर पुरै चिन्नै नसक्ने गरी बदलिएको छ । मानिसहरू बदलिएका छन् । मानिस बस्ने घरहरू बदलिएको छ । मानिसले गर्ने गतिविधिहरू बदलिएका छन् । संस्कार र संस्कृति पुरै बदलिएको छ । जगैवाट गाँउ पुनः निर्माण गर्न‘ पर्नेछ । समाजलाई जगैवाट निर्माण गर्ने भनेको त्यसको आर्थिक आधारको जग निर्माण गर्ने नै हो । समाजको आर्थिक आधार निर्माण नगरी बाकी संरचनाको निर्माणले समाज बन्दै बन्दैन । सडकले समाज बनाउने भन्ने दर्शन नै गलत दर्शन हो । सडक आर्थिक आधार निर्माण गर्ने एउटा आधार हो तर सडक निर्माण संगसगै मानिस आउने क्रम बढन जरुरी हुन्छ । सडक निर्माणले गाँउमा कहिकतै आर्थिक आधारको निर्माण देखिदैन । सडकले मानिसलाई गाँउ भित्रिने आर्थिक आधार भन्दा पनि गाँउबाट बाहिरिने आधार निर्माण भैरहेको देखिन्छ ।

गाँउको कोर कम्पिटेन्सीको खोजी ?
आजको गाँउको ठूलो समस्या मानिसहरूको कमी नै हो । जमीन छ तर जमीनमा टेकेर हिडने मानिस छैन । मानिसलाई गाँउमा अड्यायर राख्ने भनेको आर्थिक आधार नै हो । गाँउको आर्थिक आधारको निर्माण विना मानिसको संख्या बढाउन सकिदैन । गाँउको आर्थिक आधार निर्माण गर्न आजको गाँउको कोर कम्पिटेन्सीको खोजी गर्न‘ जरुरी हुन्छ । कोर कम्पिटेन्सी भनेको अरुसंग नभएको आफूसंग मात्र भएको क्षमता हो ।

आर्थिक गतिविधिको कुनै पनि क्षेत्रमा हात हाल्नुभन्दा पहिले संसारभरका मानिसहरूले आफ्नो कोर कम्पिटेन्सीको क्षमता पहिचान गरेर मात्र आर्थिक गतिविधि गर्ने गर्दछन् । नेपाली गाँउको आर्थिक आधार निर्माण गर्ने हो भने पहिलो काम नेपालको गाँउको कोर कम्पिटेन्सीको क्षमता निर्माण गर्न‘पर्ने हुन्छ ।अबको गाँउ सहरसंग प्रतिस्पर्धा गर्ने क्षमता सहितको गाँउ निर्माण गर्न‘ पर्दछ । प्रतिस्पर्धामा सफलता हासिल गर्न जहिले पनि दुई चिजको आवश्यकता पर्दछ ।

क) कोर कम्पिटेन्सी (मूख्य प्रतिस्पर्धी क्षमता)
ख) डिस्टिन्टिभ कम्पिटेन्सी (फरक प्रतिस्पर्धी क्षमता)

कोर कम्पिटेन्सीसंगै फरक खालको क्षमतालाइ डिस्टिन्टिभ कम्पिटेन्सी भनिन्छ । डिस्टिन्टिभ कम्पिटेन्सी बुझन सजिलो छ । आजभोली कोभिड खोप उत्पादन गर्ने कम्पनीसंग कोभीड खोप उत्पादन गर्ने कोर र डिस्टिन्टिभ कम्पिटेन्सी क्षमता छ भनेर बुझ्न सकिन्छ ।

सहरमा बसेर गाँउ बदल्ने चिन्ता भन्दा गाँउमै महिनामा एक हप्ता बसेर गाँउ बदल्ने चिन्तन गर्ने हो भने थोरै भए पनि गर्न सकिन्छ । सहरवाट डौडिदै गाँउ पस्ने र त्यही दिन रात विरात फेरी सोही दिन सहर पस्ने राजनीतिक नेतृत्वले गाँउको आर्थिक आधार निर्माण हुदैन । आर्थिक आधार विना कुनै पनी मानव समाज निर्माण हुँदैहुँदैन ।

यो महिनाको गाँउ बसाइँ सकिनै लाग्यो । अर्को महिना गाँउ निर्माण को आर्थिक आधारको कोर र डिस्टिन्टिभ कम्पिटेन्सीको चर्चा गरौला ।

१२ पुष २०७८, सोमबार ११:३४



तपाईको प्रतिक्रिया