नागरिक उस्ता कि बिकासका योजनाकार ?

देविघाट जालपा मन्दिर नजिकै त्रिशुली नदिको यो झोलुङ्गे पुल बनेको ४८ बर्ष पूरा भएछ । यसको आयु सकिएको जानकारी Bridge Building in Local Level (BBLLM Helvetas Nepal, DEPROS Nepal) का प्राविधिक ईन्जिनियरले दिएका छन् । १५ वर्ष अघिसम्ममा यसको भारबहन गर्ने लठ्ठाको कुल मोटाईको एक चौथाई खिएको थियो । खिईनु र छिन्न खोज्नुको कारण लठ्ठा कसेको ठाँउमा घर्षण हुनु र खिया लाग्नु भन्ने जवाफ तत्कालिन जिविस ईन्जिनियरले दिएका थिए । यो पुल २०३० सालमा बनेको भनेर बुढापाका बताउछन् । २०४८ मा पहिलो पल्ट बिम र प्लोरपाता फेरियो तर लठ्ठा उहि कायम भयो । २०६३ सालमा तत्कालिन जिल्ला विकास समितिको सहयोगमा बिम, फ्लोरपाता र माथिल्लो छेकाबार गर्ने लठ्ठा पुनः फेरियो भार बहन लठ्ठा पुन यतावत राखियो । त्यतिबेला भारबहन लठ्ठाको छिन्न लागेको ठाउँ घाम, पानी र खियाबाट जोगाउन र घर्षण कम गर्न एक फुट बाक्लो PCC गरी छोपिएको थियो । त्यो काम भएको पनि १५ वर्ष भैसक्यो । अहिले त्यसको आयु सकिँदा उक्त छिन्न खोजेको ठाँउमा कति प्रतिशत खियो थाहा छैन । किनकी छोपिएको छ । साइड सपोटको लागि फिट गरिएका पखेटे लठ्ठा सबै छिन्ने, झिक्ने, फाल्ने काम १५ वर्ष अघिनै भएको हो ।

रमेशप्रसाद लामिछाने

यस्तो जीर्ण पुल अहिले सर्वाधिक प्रयोग हुने पुल भएको छ । विद्यार्थी, तिर्थयात्री, दुईतिर बजारका स्थानीय बासिन्दा र अन्य यात्रुहरू तथा सर्वसाधारण गरि प्रतिघण्टा यसमा करिव ४०० पैदल यात्री र प्रतिघण्टा करिब १०० मोटर साईकल वारपार गर्दछन् । यात्रु सबैलाई यसको जोखिम थाहा पनि छैन । भिड खचाखच हुन्छ । यसको मर्मत गर्ने वा त्यसै ठाँउमा वा नजिकै अर्काे नयाँ निर्माण गरिदिने व्यबस्थाका लागि दुवैतिरको वडा कार्यालयमा र नगर पालिकामा गतवर्ष सयौं स्थानीयको हस्ताक्षर सहितको पत्र र डेलिगेसन गइयो । प्रारम्भिक सर्वे पनि भयो तर पछि प्रदेश, स्थानीय वा संघीय कतैबाट बजेट परेन । यो पुल भन्दा केही तल र केही माथि २ वटा पक्की पुल पनि केही वर्ष यता बनेका छन् तर ती पुलमा दैनिक २०/३० वटा मोटरसाईकल मात्र तर्छन् । अनि यो छिन्न लागेको झलुङ्गे पुलमा घण्टामै सयौं मोटरसाईकल तार्नु पर्ने किन भयो ? नागरिक उस्ता हुन् कि बिकासका योजनाकार उस्ता हुन् ? वडा कार्यालयले यही छिन्न खोजेको पुलमा मोटरसाईकल तार्न मिल्ने बनाएको अदुरदर्शी विकासले बिनास निम्त्याउने खतरा बढेको छ ।

हामीले पाँच वर्ष अघिदेखि जति भन्दा पनि यो पुलको सुधार नभईकन जनप्रतिनिधिको एक कार्यकाल सकियो । अहिले प्रदेशमा १९ मन्त्री भएको सुनिन्छ । नुवाकोटकै मात्र संघ र प्रदेशमा आधा दर्जन भन्दाबढी सांसदज्यूहरू हुनुहुन्छ । जिल्लाका नेताज्यू प्रदेशमा धेरै पटक मन्त्री भए । उपसभामुखज्यू पनि यहीँकै हुनुहुन्छ । शुक्रवार राती नै प्रदेशमा राज्यमन्त्री थपिनु भएछ । तर धेरै जना भएपछि हाम्रा पीडा सुन्ने कसले कसले पत्तो नहुने भयो । बजेटले साधारण खर्च नपुगेरै होला यो मिति सकिएको र लठ्ठा छिनेको पुलको प्रतिस्थापन नभएको । यो संबेदनशिल अवस्थामा तत्काल कुनै सुधार नभए हामी स्थानीय समुदाय, शिक्षक वा विद्यार्थीमध्ये केही मानिस यो छिनेर यहि जालपादेवीको काखमा त्रिशुली नदीमा विलिन हुँदैछौं । तर त्यो हुनु अघि यति पनि अवस्था सार्वजनिक नगरी मरिएछ भने ईश्वरले मुक्ति नगर्लान् भन्ने डरले यो लेखेको हुँ । अर्काे कुरा नागरिक कर्तब्य पुरा गर्ने कोसिश गरेको हुँ । पुरक बजेटले कुनै सम्बोधन गर्ने आशमा छौं ।

१२ पुष २०७८, सोमबार ११:५०



तपाईको प्रतिक्रिया