बढ्न थाल्यो संक्रमितको संख्या

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार देखि पुनः संक्रमण फेला पर्न थालेको छ । मंगलवार एक जनामा देखापरेको संक्रमण आइतवारसम्म पाँच जनामा भेटिएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले पुस १४ गते नुवाकोट कोरोना संक्रमण मुक्त रहेको जनाएको थियो । तर स्वास्थ्य कार्यालय नुवाकोटले पुस २० गते सार्वजनिक गरेको प्रतिवेदनमा एक जना संक्रमित रहेको उल्लेख गरेको छ । यस्तै आइतवार स्वास्थ्य कार्यालयले जारी गरेको दैनिक प्रतिवेदन अनुसार नुवाकोटमा पाँच जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार सुर्यगढी गाउँपालिका, विदुर नगरपालिका, तादी गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाका एक÷एक जनामा संक्रमण देखिएको छ । उनी सबै हाल स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रुपमा घरमै बसिरहेको बताइएको छ । तादी गाउँपालिकामा पुरुष र बाँकी चार ठाउँका महिलामा संक्रमण भेटिएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार पुस १४ गतेदेखि २० गतेसम्म नुवाकोटमा कुनै संक्रमण फेला परेको थिएन । हालसम्ममा विदुर नगरपालिकाका नागरिकहरू बढी संक्रमित भएका छन् । ३३ सय ९० जना विदुर नगरपालिकाको संक्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् । त्यस्तै दोश्रोमा तारकेश्वर गाउँपालिकाको ९ सय ५९ जना संक्रमित भएका छन् । सबै भन्दा कम पञ्चकन्या गापाको १९३ जना र म्यागाङ गापाको १९४ जना छन् ।

जिल्ला अस्पताल त्रिशुलीको ३० वटा, खरानीटार अस्पतालको ३० वटा र १६९ वटा आइसोलेसन सेन्टरहरूका बेड खाली छन् । कोरोनाका कारण नुवाकोटमा ५२ जनाको निधन भएको छ । काठमाडौं वा अन्य जिल्लामा निधन भएको नुवाकोटका नागरिकको संख्या भने यसमा समावेश छैन । जिल्ला बाहिर कत्ति जना जिल्लावासीको कोरोनाका कारण निधन भयो भन्ने यकिन तथ्याङ्क पनि सरकारी पक्षसंगै छैन ।

२५ पुष २०७८, आईतवार १९:२७



तपाईको प्रतिक्रिया