नुवाकोटमा गोरु जुधाईको तयारी पुरा हुँदै

विदुर । माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानमा हुने गोरु जुधाईको मेलाको तयारी धमाधम भइरहेको छ ।

नुवाकोटको बिभिन्न स्थानमा हुँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम प्रायः स्थानमा सकिएको छ । माघ १ गते नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिका लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ । अन्य स्थानको भन्दा नुवाकोटको तारुका र बेत्रावतीको गोरु जुधाई मेला विशेष र चर्चित छ । यस पटकको बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरुले विशेष र भब्य बनाएका छन् ।

विभिन्न स्थानका आफ्ना मौलिक परम्परा र इतिहास जिबन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकहरु समेत आकर्षित हुन थालेका छन् ।

बेत्रावतीको गोरु मेलाको प्रचारप्रसार, निमन्त्रणा बितरण, बजारलाई सिगार्ने काम भइरहेको गोसाइँकुण्ड युवा क्लब बेत्रावतीका अध्यक्ष दिपु डंगोलले जानकारी दिएका छन् । गोरु जुधाउनका लागि मैदान सम्याउने काम पूरा भएको उनले बताए । क्लब स्थापनाको २५ औं रजत बर्ष दिवसको अबसर पनि भएकोले यसपटकको मेला बिशेष बनाइएको उनले जानकारी दिए ।

दर्शकहरुको थप मनोरञ्जनका लागि चर्चित हास्य अभिनेता हिमेश पन्त, गायक खुमन अधिकारी, गायिका राधिका हमालको साथमा म्ष्खष्लभ कयग िद्यब्ल्म् को कार्यक्रम समेत रहेको क्लबका सचिब ईश्वर थापाले जानकारी दिएका छन् ।

माघे संक्रान्तिका दिन बिशेष झाकी समेत प्रदर्शन हुने छ । लाखेनाँच, पञ्चेबाजा, बाला भजन खैचडी नाँच, सोरठी नाँच समेतको प्रस्तुती रहने क्लबका पुर्ब अध्यक्ष एवं मेला ब्यवस्थापन उपसमितिका संयोजक सुरज लवटले बताए ।

लडाई जित्ने गोरुको धनी किसानलाइ जनही दश हजार रुपैयाँ र हार्ने गोरुको धनी कृषकलाई आठ हजार रुपैयाँ पुरस्कराको ब्यवस्था गरिएको कोषाध्यक्ष बिबश डङ्गोलले जानकारी दिएका छन् ।

नुवाकोट र रसुवाको सिमा क्षेत्र एतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतीमा सदिऔं बर्ष देखि गोरु जुधाउने परम्परा छ । माघे संक्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरुमा घ्यू चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरुमा लैजादा बेत्रावतीका किसानहरुले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । इतिहासविद्का अनुसार नेपाल र तिब्बत (भोट) चीन बीच बि. सं. १८४९ मा युद्ध हुँदा नेपालतर्फको क्षती जोगाउन एउटा ठुलो एतिहासिक सन्धी बेत्रावतीमा भएको थियोे । यहि बेत्रावती सन्धीको सम्झनालाई जिवन्त राख्न गोरु जुधाउने परम्पराको सुरु भएको स्थानीयको दावी रहेको छ । बेही वर्ष अघिसम्म छरिएर र ठाउँ ठाउँमा हुने गोरु जुधाई एक दशकदेखि ब्यवस्थित र नियमवद्ध रुपमा हुँदै आएको छ । २०५३ मा गोसाइँकुण्ड युवा क्लब स्थापना भएपछि यो परम्परालाई ब्यवस्थापन पारिएको शशिकुमार डङ्गोल बताउछन् । गोरु पाल्ने किसानहरुको हकहित र नेपालको कृषि तथा पशु पर्यटन तथा बेत्रावतीको आन्तरिक ब्यवसायलाई समेत आर्थिकपार्जनमा टेवा पु¥याउने मुल उद्देश्यका साथ हरेक बर्ष माघे संक्रान्तिका दिन बेत्रावतीबजारमा गोरु जुधाउने कार्यक्रम हुँदै आएको उनले सुनाए ।

गोरु जुधाई हेर्नका लागि बेत्रावतीसम्म पुग्नका लागि यातायातको सहजताका कराण पनि दर्शकहरुको उपस्थिति बर्षेनी बढ्दै गइरहेको आयोजकहरुको भनाई रहेको छ ।

२५ पुष २०७८, आईतवार १९:३९



तपाईको प्रतिक्रिया