भब्य बन्दै तामाङको ल्होछार पर्व

बट्टारमा प्रदेश सांसद राधिका तामाङ शिवपुरी गापा उपाध्यक्ष बिरबहादुर तामाङलाई सम्मान गर्दै ।

विदुर । २८५९ औं राष्ट्रिय सोनाम ल्होछार ह्यो ल्हो (खरायो वर्ग) का अवसरमा नुवाकोटमा विभिन्न कार्यक्रमहरू आयोजना भएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति, दुप्चेश्वर गाउँपालिका कार्यसमिति, थ्रिडी युवा क्लब कोलानी, लगायतका विभिन्न क्लवहरूले ल्होछार पर्व भब्यताका साथ मनाएका छन् ।

दुप्चेश्वर गाउँपालिका वडा नं. ३ राउतवेशीमा बिहीवार कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ लगायतको सहभागितामा कार्यक्रम भएको हो । शनिबार नेपाल तामाङ घेदुङ्ग जिल्ला कार्य समिति नुवाकोटले बट्टारमा र थ्रिडी युवा क्लबले कोलनीमा आइतबार ल्होछारका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेका छन् ।

बट्टारमा नेपाल तामाङ घेदुङ्ग नुवाकोटले आयोजना गरेको ल्होछार विशेष कार्यक्रममा नुवाकोटबाट निर्वाचित प्रदेश सांसद राधिका तामाङले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव तथा कार्यक्रम संयोजक जयमान वाइबाले तामाङ संस्कार र संस्कृतिको विकास गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा तामाङ समुदायमा प्रचलित गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, सुरक्षा निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारी र सर्वसाधारणको उपस्थिति थियो ।

उक्त कार्यक्रममा समुदायमा विभिन्न क्षेत्रबाट योगदान पु-याएका तामाङ समुदायको नेतृत्व तहका व्यक्ति र स्थानीय तथा संघीय, प्रदेश निर्वाचनबाट जनप्रतिनिधिमा चुनिएका तामाङ समुदायका व्यक्तिहरूको सम्मान समेत गरिएको थियो ।

विश्वका तामाङले आफ्नो अनुकूलमा फरक–फरक दिन र समयमा ल्होछार पर्व मनाउने गरे पनि यस वर्ष ल्होछारको मुख्य दिन आइतबार माघ ८ गते परेको थियो । आइतबार केन्द्र सरकारले सार्वजनिक बिदा समेत दिएको छ । नुवाकोटको एक स्थानीय सरकारले तीन दिन सार्वजनिक विदा दिएको छ । पञ्चकन्या गाउँपालिकाले शनिवारदेखि आज सोमवारसम्म सार्वजनिक विदा दिएको हो ।

बट्टारमा भएको कार्यक्रममा तामाङ जातिको विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुत भएको थियो । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी जानकारी दिने सामग्रीलाई स्टल तयार गरेर नै राखिएको नेपाल तामाङ घेदुङ्ग नुवाकोटका अध्यक्ष सोमबहादुर तामाङले जानकारी दिए । कार्यक्रमले ल्होछारले तामाङ जातीको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गरेको उनले बताए ।

तामाङहरूले मान्ने ल्होछार चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । ‘ल्हो’ अर्थ साल, वर्ष र ‘छार’को अर्थ नयाँ अर्थात् नयाँ वर्ष भन्ने हुन्छ । विभिन्न पशुपंक्षीको नामबाट १२ वटा ‘ल्हो’ को नाम राखिएको हुन्छ । प्रत्येक वर्ष फेरिने दिनलाई समुदायले ल्हो पोवा, दोवा वा ल्होछार भनिन्छ ।

९ माघ २०७९, सोमबार ०५:४०



तपाईको प्रतिक्रिया