विदुर । खोलाले बगाएर शुक्रवार राती वेपत्ता भएका विदुर नगरपालिका वडा नं. ७ तुप्चेका ३१ वर्षीय प्रदीप खड्का अझै भेटिएका छैनन् । उनी पानी परिरहेको समयमा शुक्रबार राति आउँटारबाट घरतर्फ जाँदै गर्दा अँधेरी खोलाले बगाएर बेपत्ता भएका हुन् ।
खोलाको पुलमाथिबाट समेत पानी बगेको र उनी सोही पानीको भेल थेग्न नसकेर मोटरसाइकलसहित बेपत्ता भएको स्थानीयलाई उद्धत गर्दै स्थानीय प्रशासनले जनाएको छ । उनी चढ्ने गरेको बा ८९ प ९५३८ नम्बरको कालो रङको पल्सर मोटरसाइकल पुलभन्दा करिब सय मिटर तल फेला परेको छ ।
शनिबार बिहान १० बजेतिर मात्रै मान्छे हरायो भनेर खबर पाएपछि खोजी सुरु गरिएको र आज आइतवार साँझसम्म पनि फेला नपरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार खोजीमा बेपत्ताका आफन्त, छिमेकी, जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिम प्राप्त डिजास्टर म्यानेजमेन्ट टोली खटिएका छन् ।
२१ श्रावण २०८०, आईतवार १९:२७