धादिङ । धादिङ स्थित निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद पौडेललाई ४० हजार घूस रकमसहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गएको आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो । उजुरी निवेदनको आधारमा स्ट्रिङ अपरेसनमा कार्यालय प्रमुख पौडेललाई रंगेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।
केही दिनअघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको थियो । त्यही मुद्दा मिलाउन भन्दै लिएको ४० हजार नगदसहित पक्राउ गरिएको बताईएको छ । पक्राउ परेका कार्यालय प्रमुख पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने आयोगका प्रवक्ता रिसालले जानकारी दिए । पौडेलले गत कार्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
१५ असार २०७८, मंगलवार ११:४८