दुप्चेश्वर सहित पाँच गाउँपालिकामा राती १२ बजेबाट निषेधाज्ञा

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज राती १२ बजेबाट लागू हुने गरी जिल्लाका थप केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । आजै समुदायस्तरमा समेत कोभिड–१९ को संक्रमण देखिएपछि अहिले साँझ बसेको बैठकले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकरी झंकनाथ ढकालले जानकारी दिए ।


उनका अनुसार नुवाकोटको पाँच गाउँपालिकामा निषेधाज्ञा लागेको छ । दुप्चेश्वर गाउँपालिकाको सबै क्षेत्र, पञ्चकन्या गाउँपालिकाको यस अघि निषेधाज्ञा जारी भएको बाहेकको सबै क्षेत्र, शिवपुरी गाउँपालिकाको बाँकी रहेको सबै वडामा निषेधाज्ञा लागू भएको छ ।

त्यस्तै, तादी गाउँपालिकाको वडा नं. २, ३, ४ र ५, तारकेश्वर गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ नम्वर वडाको सबै क्षेत्रमा निषेधाज्ञा लागू भएको छ । यी सबै क्षेत्रमा आठ दिनसम्म लागू हुने छ । नुवाकोटको विभिन्न स्थानीय तह र वडाहरुलाई लागू भएको निषेधाज्ञा सकिन पनि आठ दिन नै बाँकी रहेको छ । साउन २३ गतेको निषेधाज्ञाकै निरन्तरताको रुपमा यी नयाँ स्थानलाई समावेश गरिएको प्रजिअ ढकालले बताए ।


नुवाकोटमा समुदायस्तरमा देखिएको संक्रमण र कोरोनाको फैलदो महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले अत्यावश्यक सेवा बाहेकका सबै सेवा र नागरिकको आवातजावत ठप्प पार्नका लागि निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक भनेर जिल्ला प्रशासनले निषेधाज्ञामा सञ्चालन हुने सेवा र यातायतको विवरण समेत खुलाएर सूचना जारी गरेको छ ।

२६ श्रावण २०७७, सोमबार २१:०८



तपाईको प्रतिक्रिया