दाङसिङ । तारकेश्वर गाँउपालिकाले महिलाहरुकोे आयआर्जमा बृद्धि गराई उनीहरुलाई लघुउद्यमी बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गरी प्रबिधि हस्तान्तरण गरेको छ । गाँउपालिकाका उपाध्यक्ष तारादेवी रिमालको अगुवाईमा वडा नम्बर १ मा ३ महिने सिलाईकटाई आधारभुत तालिम सम्पन्न भएको छ ।
तालिम पश्चात ८ जना महिलाहरुलाई सिलाई मेसिन र ७ जनालाई सिलाईको लक मेसिन हस्तान्तरण गरिएको छ । तालिममा लोप हुन लागेको तामाङ संस्कृति झल्कने झोला, फेटा, रुमाल, स्यामा लगायतका सामग्रीहरु बनाउन महिलाहरुलाई दक्ष बनाइएको गाँउपालिकाका उपाध्यक्ष रिमालले बताए ।
यसैगरी गाँउपालिकाले युवा पुस्तालाई समेटेर लोप हुँदै गएको दलित समुदायको पञ्जेबाजालाई संरक्षण र सम्बद्र्धन गर्नको लागी तालिम दिई प्रबिधिहरु हस्तान्तरण गरेको छ ।
वडा नम्बर ३ तारुकामा बसोबास गर्दै आएका दलित समुदायलाई लक्षित गर्दै पहिचान झल्कने पञ्चेबाजाको संरक्षण र युवापुस्तालाई त्यसतर्फ आकर्षण गराउने उद्देश्यका साथ तालिम पश्चात पञ्चेबाजा प्रविधि हस्तान्तरण गरिएको उपाध्यक्ष रिमालले बताए ।
उपाध्यक्ष रिमालका अनुसार गाँउपालिकाको विभिन्न वडाहरुमा महिलाहरुकोे आयआर्जनमा बृद्धि गराई आफैमा निर्भर बनाउने उद्देश्यले उद्यमी महिलाहरुलाई बाख्रापालन तालिमका साथै बाख्रा वितरण र दलित समुदायलाई आधुनिक आरन तालिम र प्रबिधि बितरण कार्यक्रमहरु रहेको छ ।
तालिम पश्चात आफुले सिकेको सिपलाई व्यबहारमा लागुगरी आयआर्जन बृद्धि गराई सबल र सक्षम बन्न हौसला मिलेको तालिममा सहभागी महिलाहरुको भनाई रहेको छ । गाँउपालिकाले युवापुस्तालाई लक्षित गरी आफैमा सक्षम र आत्मनिर्भर बनाउन गरिएको कार्यक्रमहरु प्रभावकारी बन्दै गएको उपाध्यक्ष रिमालले बताए । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै युवापुस्ता आकर्षित हुने आधुनिकस्तरको कार्यक्रमहरुमा जोड दिदै जाने उपाध्यक्ष रिमालले प्रतिबद्धता जनाएका छन् ।
१५ असार २०७८, मंगलवार १०:२९