टुक्रे योजना प्राथमिकतामा

विदुर । नुवाकोटको १२ वटै स्थानिय तहहरुले निति तथा कार्यक्रम र बजेट सभाबाट पास गरेका छन् । संबैधानिक ब्यबस्था अनुसार असार १० गते भित्र स्थानिय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यकारी ब्यबस्था रहेको छ ।

त्यसै अनुरुप सबै स्थानीय तहहरुले बजेट ल्याएका हुन् । बिगतका बर्षहरुमा ल्याईएका बजेट भन्दा यस बर्ष अलि फरक रहेको छ । जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकालको अन्तिम बजेट भएकाले प्रायः स्थानीयतहहरुले चुनाब लक्षित बजेट ल्याएका हुन् । पुराना योजनाहरुलाई समाबेश नगरी नयाँ र महत्वाकांक्षी बजेटहरु यस बर्ष ल्याईएका छन् ।

संघ, र प्रदेशबाट आएको सर्शत बजेट, बिक्तिय समानीकरण, समपुरक बजेट, राजश्व बाँडफाँड र आन्तरिक आयको आकलन गर्दै स्थानीय तहहरुले अनुमानीत आय ब्यय सार्बजानिक गरेका हुन् ।

चुनाब लक्षित बजेट भएकाले पनि यस बर्ष धेरै महत्वाकाङिक्ष बजेटहरु प्रस्तुत भएका छन् । नुवाकोटका केहि स्थानीय तहहरुले चुनाबलाई लक्षित गर्दै कार्यकर्ता रिझाउन र नागरिकहरुको मत आफ्नो पक्षमा पार्नको लागी साना योजनाहरु धेरै ल्याएका छन् । ससाना टुक्रे योजनाहरु ल्याउदै धेरै नागरिकहरुसम्म पुग्न टुक्रे योजनाहरुले प्राथमिकता पाएको हो ।

विदुरको बजेट १ अर्ब ३८ करोड

विदुर । आगामी आर्थिक वर्ष २०७८/०७९ कोे नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै विदुर नगरपालिकाको नवौँ नगर सभा सम्पन्न भएको छ ।

नगर सभामा विदुर नगरपालिकाका नगर प्रमुख सञ्जु पण्डितले शिक्षा समृद्धि कृषि र पुर्बाधारको अभियान, दिगो ब्यापारिक केन्द्र बिदुरको स्वाभिमान भन्ने मूल नाराका साथ पूर्वाधार निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आर्थिक बर्ष २०७८\०७९ को लागी प्रस्तुत भएको कार्यक्रममा, पुर्बाधार बिकास र कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।

५ बर्षे कार्यकालको अन्ति नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरपालिकाको सम्बृद्धिको आधारहरुलाई पछ्याउदै सम्बृद्ध नगर निर्माणको परिकल्पनालाई साकार बनाउन सबे बिषयहरुलाई नीतिगत रुपमै ब्यबस्था गरेको बताए ।

नगर प्रमुख पण्डितले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमलाई पुर्णता दिन यस बर्ष विदुर नगरपालिकाले १ अर्ब ३८ करोडको बजेट ल्याएको छ । नीति तथा कार्यक्रमलाई पुर्णता दिनको लागी नगर उपप्रमुख गिताकुमारी दाहालले बिनियोजन बिद्ययक तथा बजेट प्रस्तुत गर्दै सबै नयाँ योजनाहरुको लागी बजेट बिनियोजन गरेको बताए । पुराना अत्याबश्येक बाहेक अन्य योजनाहरुलाई निरुत्साहित बनाउदै नगरपालिकाले आक्रमक बिकासको लागी बजेट ल्याएको उनले बताए ।

विदुर नगरपालिकाले यस बर्ष कृषिक्षेत्रलाई व्यवसायीकरण गर्ने, व्यवसायिक कृषकहरुलाई उत्प्रेरणा दिने, नीजि क्षेसँगको सहकार्यमा निजि सरकारी साझेदारी अभियान सञ्चालन गर्ने, पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, नगरपालिका भित्र रहेका सबै सार्बजानिक बिद्यालयहरुमा अङग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने, बिकास निर्माण पुर्बाधार बिकासको लागी निर्माण कम्पनीसँग कार्यादेश अनुसार काम गर्ने, तोकिएको समयमा कार्ययोजना अनुसार काम नगर्नेहरुलाई कारबाहि गर्ने नीति विदुर नगरपालिकाले लिएको छ ।

सुर्यगढीको ४२ करोड ४८ लाख

चोकते । नुवाकोटको सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले ४२ करोड ४८ लाख ५ हजार ७०४ रुपैयाँ पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले नवौ गाउँसभामा चालूतर्फ २७ करोड ४४ लाख ४५ हजार र पुँजीगत तर्फ १५ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

शिक्षा, स्वास्थ्य र पर्यटन सहितको पूर्वाधार गतिशिल सूर्यगढी हाम्रो आधार भन्ने नारा तय गरेको गाउँपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशु विकास, सहकारी, पशु र पर्यटन सम्बन्धी विषय समावेश गरेको छ । छात्राहरुलाई शिक्षा तर्फ आकर्षित गर्न अध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने, स्वस्थ्य रहनु सबै भन्दा ठुलो सबै घरमा आधुनिक चुलो कार्यक्रम सञ्चालन गरिने, एक घर एक धारा खानेपानी कार्यक्रमलाई प्राथमिकता दिइने, एक वडा एक खेल मैदानको कामलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले बताएका छन् ।

कृषि, उद्योग तथा वाणिज्य र पर्यटन कार्यक्रमको लागि १ करोड ५५ लाख, आलु तथा तरकारी बारीको साना व्यवहारिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालनको लागि २४ लाख बजेट बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाथोकीले जानकारी दिएका छन् । यस्तै, कोरोना भाइरस कोभिड १९ बाट उत्पन्न परिस्थितिलाई सिकाई सहजीकरणको लागि शैक्षिक कार्यक्रमको लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

यस्तै, शिक्षा स्वास्थ्य खानेपानी तथा सरसफाई संस्कृति प्रबद्र्धन कार्यक्रमको लागि ८ करोड ७५ लाख ४१ हजार रुपैयाँ बिनियोजन भएको छ भने पुर्बाधार बिकासको लागि १० करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष बुढाथोकीको अनुसार कोरोना भाइरस कोभिड १९ को क्षति कम गर्न ७५ लाख रुपैयाँ, १२ महिना नै सञ्चालन हुने हेलिप्याड निर्माण निरन्तरता दिन १२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

जेष्ठ नागरिक वार्षिक चाडपर्ब खर्चको लागि २० लाख ५० हजार रुपैयाँ, बजार क्षेत्रमा सोलारको बति जडान गर्दै जाने नीतिलाई कार्यन्वयन गर्न १५ लाख रुपैयाँ बजेट बिनियोन गरिएको सुर्यगढी गाउँपालिकाले जनाएको छ।

पञ्चकन्याको ४२ करोड ६८ लाख

लाकुरीभञ्याङ । पञ्चकन्या गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ६८ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

गाउँसभामा उपाध्यक्ष सीता खड्का पराजुलीले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल विनियोजनमध्ये चालुतर्फ २३ करोड १७ लाख ५९ हजार अर्थात ५४.२९ प्रतिशत र पुँजीगततर्फ १९ करोड ५० लाख ५७ हजार अर्थात् ४५.७१ प्रतिशतको खर्च अनुमान प्रस्तुत गरे ।

सरकारी ससर्त वित्तीय अनुदान स्वरुप संघीय सरकारबाट प्राप्त १४ करोड ६१ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त ससर्त रकम १ करोड ६८ लाख १९ हजार तथा कृषि, पशु, स्वास्थ्य र शिक्षातर्फका बजेट समेत चालु खर्चमा लेखाङ्कन गर्नुपर्ने प्रावधानले गर्दा चालु खर्चको अंश केही बढी देखिन गएको उपाध्यक्ष पराजुलीले प्रस्ट पारे ।

उपाध्यक्ष खड्का अनुसार आगामी आवको बजेटलाई कोरोना प्रतिरोधी विकासप्रति केन्द्रित गर्ने प्रयास गरिएको छ । १५ औं योजनाले परिलक्षित गरेको सुखी नेपाली समृद्ध नेपालको दीर्घकालिन सोचलाई आत्मासाथ गरी चालु योजनाका लक्ष्यहरु, उद्देश्यहरु तथा दीगो विकासको लक्ष्यहरु हासिल गरी सन् २०३० सम्ममा नेपाललाई मध्यस्तरीय आय भएको मुलुकमा स्तरोन्नती गर्ने अभियानलाई थप टेवा पुग्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट तयार बनाएको गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताएका छन् ।

कृषि र जलविद्युतको विकासबाट स्वाबलम्वी अर्थतन्त्र निर्माण गर्न सक्ने हैसियत समेत गाउँपालिकाले राख्ने भन्दै यस्ता क्षेत्रहरुको प्रस्टिकरण गर्दै गाउँपालिकालाई नमूना बनाउने अभियानलाई सार्थकता प्रदान गर्ने बाटोतर्फ बजेटलाई डो¥याउने प्रयास गरेको उनले बताए ।

नयाँ बजेटले संघीयता कार्यान्वयन, भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुन:निर्माण, रोजगारीको अवसरमा बृद्धि, सडक निर्माण र स्तरोन्नती, गाउँपालिकाको भौतिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा लगानी, पर्यटन पुर्वाधारको विकास तथा प्रर्वद्धन, सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार, कृषिको व्यावसायिकरण, आधुनीकिकरण, यान्त्रिकरण र वैज्ञानिकरण, कृषिजन्य तथा पशुजन्य उत्पादनको भण्डारण तथा वितरण सामाजिक सुरक्षाको सुनिश्चितता, कोरोना प्रतिरोधि विकासको सुरुवात जस्ता प्राथमिकता निर्धारण गरेको छ ।

शिवपुरीको ५० करोड, दुप्चेश्वरको सबै वडामा हेलिप्याड

विदुर । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गर्दै शिवपुरी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको गाउँसभा मंगलवार सम्पन्न भएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले पूर्वाधार निर्माण, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

शिवपुरीमा कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने, व्यवसायिक कृषकहरुलाई उत्प्रेरणा दिने, प्रत्येक वडालाई कृषि तथा पशुपन्छी सेवा केन्द्रको रुपमा विकास गर्ने, नीजि क्षेत्रसँगको सहकार्यमा ‘एक वडा एक उत्पादन’को नीति अबलम्बन गर्ने भएको छ ।

गाउँपालिकाभित्रको पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने, आवश्यकता अनुसार नयाँ सहकारी दर्ता गर्ने, चालू अवस्थामा रहेका सहकारीसँग समन्वयात्मक कार्यक्रम गर्ने छ । शिवपुरी कृषि रिंगरोड सम्पन्न गर्ने, भवन निर्माण बाँकी रहेका वडामा वडा भवन निर्माण सम्पन्न गर्ने नीति लिइएको छ ।

शिवपुरीमा स्थायी घर भई विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने लक्ष्य राखिएको छ । यसका साथै सिञ्चाई, सञ्चार, शिक्षा, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोभिड–१९ संक्रमण नियन्त्रणमा खटिने सबै स्वास्थ्यकर्मीहरु प्रति आभार प्रकट गरे ।

गाउँपालिकाका उपाध्यक्ष मञ्जु केसीले आगामी आर्थिक वर्षका लागि ५० करोड २६ लाख १३ हजारको अनुमानित आयव्यय प्रस्तुत गरे । गाउँपालिकाबाट हुने आम्दानी तथा संघ र प्रदेशबाट प्राप्त बजेटबाट विभिन्न योजनामा विनियोजित बजेट विवरण उनले प्रस्तुत गरेका छन् ।

बजेटमा चालू खर्च ५ करोड १८ लाख, वडा सञ्चालन खर्च ४२ लाख, वडा नं. २, ३, ५ र ७ को फर्निसिङका लागि २० लाख, सामुदायिक भवन निर्माणका लागि ४० लाख, मठ मन्दिर गुम्बा निर्माणका लागि ३० लाख विनियोजन भएको छ । गाउँपालिकाको ८ वटै वडामा मरनपाटी निर्माणका लागि ३० लाख, सार्वजनिक शौचालय निर्माणका लागि १५ लाख, कृषि रिंगरोड स्तरोन्नतीका लागि १ करोड बिनियोजन गरिएको छ ।

एकल पुरुष भत्ताका लागि शिपवुरी गाउँपालिकाले २० लाख, कृषि विकास कार्यक्रममा ३० लाख, पशु सेवा कार्यक्रममा २५ लाख, शिक्षाका कार्यक्रममा १ करोड १४ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्य कार्यक्रममा ९५ लाख ५० हजार, शिवपुरीका उत्पादनलाई बजारीकरण सहयोग गर्न कोशेली घर निर्माणमा १० लाख, कोभिड १९ बाट मृत्यु भएकाहरुलाई किरिया खर्चबापत ५ लाख छुट्याइएको छ ।

प्रत्येक वडालाई ३० लाखका दरले २ करोड ४० लाख, गाउँपालिका स्वागतद्धार निर्माणमा १५ लाख रहेको छ । गाउँपालिकाभरी उपाध्यक्ष आर्थिक पुनरुत्थान कार्यक्रमका लागि ३० लाख, हाईटेक नर्सरी निर्माणका लागि १० लाख विनियोजन भएको छ । शिवपुरी गाउँपालिकामा कोभिड १९ नियन्त्रणका लागि २० लाख, विद्यालय शिक्षण सहयोग अनुदान ५ लाख विनियोजन गरिएको छ ।

नुवाकोटकै अर्को स्थानीय तह दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा हेलीप्याड निर्माण गर्ने भएको छ । गाउँपालिकाको गाउँसभाको नीति तथा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले आर्थिक वर्ष २०७८÷७९ भित्र हवाई उद्दार सेवा र विपदको बेला अत्यावश्यक सामग्री ल्याउन सहजको लागि सातै वडामा हेलीप्याड निर्माण गरिने बताए ।

हेलिप्याडबाट आकस्मिक बिरामी दुर्घटनाका घाईतेहरुलाई तत्कालै उद्वार गरि अस्पतालसम्म पु¥याउन र बिपतमा राहत उपलब्ध गराउन सहयोग पु-याउन गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिन लागेको उनले जानकारी दिए । हेलिप्याड निर्माण गर्न स्थान छनोटका लागि नेपाली सेनाको सहयोग लिइने जनाएको छ ।

ककनीको बजेट ५० करोड

रानीपौवा । ककनी गाउँपालिकाको सातौं गाउँ सभा सम्पन्न भएको छ । सभामा नीति तथा कार्यक्रम गाउँपालिका प्रमुख मानबहादुर लामाले समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माणका लागि स्थानीय स्तरमै सर्वाङ्गिण विकासको आधारशिला तयार गर्न लागेको २०४ बुँदे र विगतको नीति तथा कार्यक्रममा केही परिस्कृत गरि विषय क्षत्रगत सहितको १९६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

सोच, लक्ष्य उद्देश्य र प्राथमिकता अनुसार आगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि जम्मा ५० करोड २१ लाख ८९ हजार ३७० रुपैयाँको आयब्यय प्रस्तुत भएको छ । प्रारम्भिक अनुमान सहित विनियोजन गरि नीति तथा कार्यक्रममा चालू तर्फ ३१ करोड ६ लाख र पुँजिगत तर्फ १९ करोड १५ लाख ८९ हजार ३७० रुपैयाँ आवश्यक वजेटको ब्यबस्था मिलाइएको पालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले बताए ।

१५ असार २०७८, मंगलवार १२:२६



तपाईको प्रतिक्रिया