नुवाकोटको जनगणनामाथी प्रश्न

विदुर । केन्द्रीय तथ्याङ्क विभागले एक महिनाअघि सम्पन्न १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । जसमा नुवाकोटको जनसंख्या घटेको मात्रै छैन, मतदाता भन्दा कम जनसंख्या अनि भुकम्पको लाभग्राही सूचीमा भन्दा कम जनसंख्या देखिएको छ । भुकम्प पिडितको लाभग्राहीको सूचीमा नक्कली भुकम्प पिडितहरू रहेको यस अघिनै देखिएको थियो । तर मतदाता भन्दा कम जनसंख्या भेटिएपछि भने जनगणना माथीनै प्रश्न लागेको छ ।

जिल्लाका चार गाउँपालिका को जनसंख्या मतदाता नामावली भन्दा कम रहेको छ । तारकेश्वरमा मतदाता १५ हजार ८८ जना छन् । तर जनगणनाले १४ हजार १६४ जना मात्रै जनसंख्या उल्लेख गरेको छ । पञ्चकन्यामा मतदाता १५ हजार ३२ जना छन् । तर जनगणनाको तथ्याङ्कले १३ हजार ८६४ जना मात्रै देखाएको छ । म्यागङमा मतदाता संख्या १२ हजार ८५४ रहेको भए पनि जनगणनाले १२ हजार ४१७ जना मात्रै जनसंख्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यस्तै शिवपुरीको संख्यामा अधिक फरक देखिएको छ । मतदाता भन्दा झण्डै ३५ सय कम जनसंख्या रहेको तथ्य जनगणनाले देखाएको छ । शिवपुरीमा मतदाताको संख्या नै २० हजार ४२१ रहेको छ । तर जनगणनाले १६ हजार ९७९ मात्रै जनसंख्या रहेको तथ्य बाहिर ल्याएको छ ।

हाल फोटो सहितको मतदाता नामावली संकलन भइरहेकोले जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क बढी आधिकारिक छ । यसरी मतदाता भन्दा कम जनसंख्या देखिनुमा गणकहरूको लापबाहीलाई प्रष्ट पारेको छ ।

जनगणना अनुसार ककनीमा २४ हजार ३२३, किस्पाङमा १४ हजार १२२, तादीमा १६ हजार ५५, दुप्चेश्वरमा २१ हजार १९, बेलकोटगढीमा ३५ हजार २ सय, लिखुमा १७ हजार ७३७, विदुरमा ६० हजार १११, सुर्यगढीमा १४ हजार ९३९ जनसंख्या रहेको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजालाई आधार मान्ने हो भने चाँही अनुसार नुवाकोटको जनसंख्या ०.५१ प्रतिशतले घटेको छ । नुवाकोटको जनसंख्या २ लाख ६२ हजार ९८१ छ । २०६८ सालको जनगणना अनुसार नुवाकोटको कुल जनसंख्या २ लाख ७७ हजार ४७१ रहेको थियो । अहिलेको गणना अनुसार जिल्लामा पुरुष भन्दा महिला बढी छन् । महिला पुरुष भन्दा ५ हजार २८३ जना बढी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नुवाकोटमा महिला एक लाख ३४ हजार १३२ र पुरुष एक लाख २८ हजार ८४९ जना छन् ।

जनगणना अनुसार कुल ६५ हजार ७३४ घर संख्यामा बेलकोटगढीमा ९ हजार २४४, विदुरमा १३ हजार ९११, दुप्चेश्वरमा ५ हजार २३, ककनीमा ६ हजार १२, किस्पाङमा ३ हजार ८५३, लिखुमा ४ हजार ३७४, म्यागङमा ३ हजार ५९५ घर छ । यस्तै, पञ्चकन्यामा ३ हजार ५३९, शिवपुरीमा ४ हजार ७९५, सुर्यगढीमा ३ हजार ७७६, तादीमा ३ हजार ८६७ र तारकेश्वरमा ३ हजार ७३५ घर संख्या रहेको छ ।

नुवाकोटमा कुल ६९ हजार १६० परिवार संख्या पुगेको छ । तथ्याङ्क अनुसार परिवारमा औसतमा करिव ४ जना बस्ने गरेका छन् ।

बेलकोटगढीमा ९ हजार ४६४, विदुरमा १५ हजार ६०४, दुप्चेश्वरमा ५ हजार १९५, ककनीमा ६ हजार ३८८, किस्पाङमा ३ हजार ९६९, लिखुमा ४ हजार ६०४, म्यागङमा ३ हजार ७५५ परिवार संख्या रहेको छ । पञ्चकन्यामा ३ हजार ६२९, शिवपुरीमा ४ हजार ८७७, सुर्यगढीमा ३ हजार ८४२, तादीमा ४ हजार ३१ र तारकेश्वरमा ३ हजार ७९२ परिवार संख्या रहेको छ ।

राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार नुवाकोट जिल्लाको १२ स्थानीय तह मध्ये विदुर नगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । विदुरको २९ हजार ४३ पुरुष र ३१ हजार ६८ महिला गरी ६० हजार १११ जनसंख्या रहेको छ ।

नुवाकोटमा परिवार संख्याभन्दा भूकम्पपीडित लाभग्राहीको संख्या धेरै देखिएको छ । त्यो पनि ठूलो संख्यामा फरक परेको छ । १२ हजार ७८४ घरधुरी जनगणनामा कम देखिएको छ । जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार ६५ हजार ७३४ घर छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७८ हजार ५१८ घरधुरी भूकम्प पीडित रहेको उल्लेख गरेको छ । यसमा ७६ हजार ५३७ जनासँग अनुदानका लागि प्राधिकरणले सम्झौतानै गरेको छ । ७६ हजार ५३६ जनाले अनुदान बापतको रकम नै बुझेको तथ्याङ्क छ ।

छिमेकी जिल्ला रसुवाको जनसंख्या भने बढेको छ । केन्दिय तथ्याङ विभागका अनुसार रसुवाको जनसंख्या शुन्य दशमलव ४९ प्रतिशतले जनसंख्या बृद्धि भएको छ । रसुवामा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार रसुवाको जनसंख्या ४५ हजार ५ सय ५४ पुगेको छ । २०६८ सालको जनगणनामा रसुवाको जनसंख्या ४३ हजार ३ सय रहेको थियो ।

रसुवामा भने परिवार संख्याभन्दा भूकम्पपीडित लाभग्राहीको संख्या धेरै देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार रसुवामा ११ हजार ३६२ घर छन् । जसमा ११ हजार ८४१ परिवार बसोबास गर्छन् । तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १२ हजार ३०७ जना भूकम्प पीडितसँग लाभग्राहीका रुपमा सम्झौता गरेको देखिएको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिकाका १ हजार ९३६, कालिका गाउँपालिकाका २ हजार ६०८, नौकुण्डका ३ हजार ३६३, आमाछोदिङ्मोका २ हजार ३५ र उत्तरगयाका २ हजार ३६५ जना लाभग्राहीसँग सम्झौता भएको छ ।

प्राधिकरणले गरेको सम्झौता अनुसार रसुवामा १२ हजार ३०७ वटा घर हुनुपर्ने हो । तर बिहीवार सार्वजनिक भएको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार ९४५ कम घर देखिन्छ । परिवारको संख्यालाई आधार मान्ने हो भने पनि ४६६ कम देखिन्छ ।

गोसाइँकुण्ड गाउँपालिकामा २ हजार १४९ घरमा २ हजार ४७७ परिवार, कालिकामा २ हजार ४१२ घरमा २ हजार ४७४ परिवार, नौकुण्डमा २ हजार ८७८ घरमा २ हजार ८९९ परिवार, आमाछोदिङ्मोमा १ हजार ६८८ घरमा १ हजार ७२७ परिवार र उत्तरगयामा २ हजार २३५ घरमा २ हजार २६४ परिवार बसोबास गर्ने प्रारम्भिक नतिजामा उल्लेख छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार गोसाइँकुण्ड गाउँपालिका बाहेक अन्य गाउँपालिकामा परिवार संख्याभन्दा धेरैसँग अनुदानको सम्झौता गरेको देखिन्छ ।

यसै बीच, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

प्रारम्भिक विवरण अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम या जम्मा ०.९३ प्रतिशत पुगेको छ । अघिल्लो जनगणनामा नेपालमा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो । तथ्यांक विभागका अनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको छ । अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसंख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो । प्रदेशगतरुपमा मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी छ भने कर्णाली प्रदेशको कम देखिएको छ । जिल्लागत रूपमा राजधानी काठमाडौँमा सबैभन्दा बढी प्रति वर्ग किमीमा ५ हजार १०८ जना बसोबास गर्ने गरेको र मनाङमा एक वर्ग किमीमा जम्मा ३ जना बसोबास गरेको देखिएको छ । नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको हो । २०६८ को जनगणनामा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसंख्या रहेको थियो ।

१७ माघ २०७८, सोमबार ०६:२७



तपाईको प्रतिक्रिया