विदुर खानेपानीको पाइप ठेकेदारले कबाडीलाई बेच्यो

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सामाग्री ठेकेदारले कबाडीमा बिक्रि गरेको छ । संस्थाको अधिनमा रहेको सामाग्रीहरु बिना जानकारी र कबाडी भएको घोषणा गर्दै सिको/कालिका/तुण्डी जेभीले गए राती विक्रि गरेको हो ।

लाखौं मुल्यका पाइप विक्रि भएको जानकारी पाएपछि संस्थाका सचिव रघुनाथ रिमालले आज बिहान विदुरस्थित ट्राफिक प्रहरी पोष्टमा बसेर उक्त सामाग्री बोकेर गुडी रहेको ट्रक प्रहरीलाई नियन्त्रणमा लिन लगाएका छन् । ट्रक र सामाग्री अहिले प्रहरी नियन्त्रणमा रहेको छ । तुण्डीका लेखापाल सन्तोष लामिछानेले हिजो ढुङ्गे स्थित एक कवाडी गोदाममा पु-याएर उक्त सामाग्री एक लाख तीन सय ७५ रुपैयाँमा विक्रि गरेका थिए । कबाडी गोदाम सञ्चालक जलेश्वर साहका अनुसार यो सामाग्री खरिद बिक्रिमा कुनै कागजात तयार भएको थिएन । सामाग्री राखेपछि पिपल्टार स्थित एक कम्पनीमा लगेर तौल गरिएको कागज मात्रै छ । किट पाइप र पोलिथिन पाइप गरी एक हजार आठ सय २५ किलो भएको र प्रति किलो ५५ रुपैयाँमा खरिद गरेको साहले बताए ।

गए राती तुण्डीले विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सामाग्री कबाडीलाई विक्रि गरेको हल्ला भएपछि ‘बसेर मिलाउने’ प्रयास भएको थियो । जस अनुसार आज बिहानै ‘संस्थाको गोदाम’मा उक्त सामान पु¥याउने सहमती भएको र सोही अनुसार आज विहान ट्रक समातिएको तुण्डीका लेखापाल लामिछानेले बताएका छन् । गए राती विक्रि भएको सामाग्री फिर्ता गर्ने सहमती को बीच भएको भन्ने चाँही उनले खुलाएनन् । उनले आफ्ना कार्यालय वरपर रहेको काम नलाग्ने सामाग्रीहरु सरसफाई गर्ने क्रममा कबाडीलाई विक्रि भएको र उक्त सामाग्री खानेपानी संस्थाको न भएको दावी गरेको छ ।

तर २०७८ साल बैशाखमा नै ठेकेदार कम्पनी सिको/कालिका/तुण्डी जेभीसंग रहेको सम्पूर्ण सामाग्रीहरु विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई हस्तान्तरण गर्ने लिखित सहमती भइसकेको सचिव रिमालले बताएका छन् । ‘उनीहरुकै स्टोरमा रहेको सामान प्रयोग गर्न वा चलाउन परेमा उपभोक्ता संस्थासंग सम्पर्क गरेर वा जानकारी गराएर मात्रै प्रयोग गर्न पाइने छ’ सचिव रिमालले भने ।

छ वर्ष देखि नुवाकोटको विदुर नगरपालिकामा सञ्चालन भइरहेको तेश्रो सहरी खानेपानी आयोजना सम्पन्न गर्नका लागि ठकेदार संस्था सिको/कालिका/तुण्डी जेभीले काम गर्दै आएको छ । अहिले आयोजना निर्माणको अवधी सम्पन्न भइसकेको भएपनि अझ एक वर्ष मर्मतका लागि उनीहरु बस्नुपर्ने छ । उपभोक्ता संस्थाका सचिव रघुनाथ रिमालका अनुसार ठेकेदारसंग रहेको बिग्रिएका वा सग्ला सम्पूर्ण सामाग्रीहरु संस्थाको हो ।

यसरी आयोजनाका लागि खरिद हुने सामाग्री वापत ठेकेदार कम्पनीले अग्रिम रकम लिने गरेको छ । खानेपानी विभागबाट ७५ प्रतिशत र उपभोक्ताबाट २५ प्रतिशत अग्रिम रकम लिएर ठेकेदारले सामाग्री खरिद गर्दै आएको छ । यसरी खरिद भएको सामाग्री प्रयोग नभएको अवस्थामा जुनकुनै अवस्थामा पनि संस्थालाई बुझाउनु पर्ने प्रावधान छ । यस अघि पनि ठेकेदार कम्पनीबाट सग्ला पाइप र फलामहरु कबाडीमा विक्रि भएको थियो ।

यस विषयमा भोली विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बैठक राखिएको र आफुहरु कानूननी प्रक्रियाका लागि अगाडी बढ्ने सचिव रिमालले बताए । त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पाइप सहित समातिएको ट्रक प्रहरी नियन्त्रणमा रहेको आवश्यक छानविन भइरहेको बताए ।

२८ श्रावण २०७९, शनिबार १८:०७



तपाईको प्रतिक्रिया