सशस्त्र प्रहरीको काम नुवाकोटमा प्रभावकारी

विदुर । सशस्त्र प्रहरीका कारण बैशाखमा भएको स्थानीय तह निर्वाचन र मंसीरमा सम्पन्न संघीय तथा प्रदेश निर्वाचन निष्पक्ष गराउनका लागि सहज भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताएका छन् ।

नुवाकोटमा खटिएका सशस्त्र प्रहरीहरुको लगाव र सक्रियताका कारण दुवै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आफुलाई मद्दत मिलेको प्रजिअ रिसालले बताए । सोमवार २२ औं सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वाटर नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । त्यस्तै नुवाकोटमा हुने विपद्को जोखिम न्युनिकरणमा समेत सशस्त्र प्रहरी बलले प्रशंसायुक्त काम गर्दै आएको उनले बताएका छन् ।

२०५७ साल माघ ९ गते सरकराले अध्यायदेश मार्फत् गठन भई स्थापना भएको सशस्त्र प्रहरी बललाई सरकारद्वारा निर्देशित लक्ष्य हासिल गर्न शान्तिसुरक्षा अमनचयन कायम गरी सुशासन कायम राख्ने, सीमा सुरक्षा, राजस्व संकलनमा सहयोग, विपद् उद्धार तथा व्यवस्थापन, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी छ ।

नुवाकोटको विदुरमा २०७५ साल भदौ २६ गते नम्वर १९ गुल्मको नाममा सशस्त्र प्रहरी बल स्थापना भएको छ । नुवाकोटकै ककनीमा सशस्त्र प्रहरी बल रहेपनि त्यो सशस्त्र प्रहरी बल, नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालयको रुपमा मात्रै रहेको छ ।

सशस्त्र प्रहरी दिवसको अवसरमा नुवाकोटमा विभिन्न कार्यक्रमहरु भएका छन् । त्यस अवसरमा सशस्त्र प्रहरीले विपद् जोखिम न्युनिकरण सम्वन्धि जनचेतनामुलक कार्यक्रम, सरसफाई, रक्तदान, असहाय बालबालिकालाई खानाको व्यवस्था र आन्तरिक प्रतियोगिताहरु भएको बताइएको छ ।

सुर्यगढी गाउँपालिका वडा नं. ४ रातमाटेको गणेश मावि र सोही वडा स्थित गणेस्थानको गणेश माविमा (दुवै स्कुलको उही नाम) मा प्रहरीले विपद् जोखिम न्युनिकरण सम्वन्धि जनचेतनामुलक कक्षा एक/एक दिन सञ्चालन गरेको छ । त्यस्तै, विदुर नगरपालिका वडा नंं १ को ढुङ्गे धारा र वडा नं. १ त्रिशुलीको राममन्दिरको सरसफाई गरेको छ । त्रिशुली अस्पतालमा सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा आइतवार रक्तदान समेत गरेको छ ।

विदुर नगरपालिका वडा नंं. २ मा रहेको आमाको माया छात्रावासका असहाय बालबालिकाहरुलाई एक छाक भोजनको समेत व्यवस्था गरेको गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक उत्तम पुडासैनीले जानकारी दिएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्म हेडक्वाटर नुवाकोटमा कार्यरत सशस्त्र प्रहरीहरुबीच विभिन्न प्रतियोगिता समेत सम्पन्न भएको थियो । जसमा व्याटमिन्टन, टेवलटेनिस, रिले दौड र हाजिरी जवाफ रहेको थियो । प्रतियोगिताका विजेता सशस्त्र प्रहरीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

१० माघ २०७९, मंगलवार १७:१०



तपाईको प्रतिक्रिया