विदुर । शैक्षिक संस्थाका बसहरू मापदण्ड विपरित सञ्चालनमा हुदैं आएको र जोखिम मोलेर आफ्नो बालबालिकालाई विद्यालय बसमा चढाउनुपरेको गुनासो अभिभावकबाट आएपछि जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसका बसको जिल्ला ट्राफिक प्रहरी कार्यालयले चेकजाँच अभियान थालेको छ ।
सदरमुकाम विदुर, बट्टार, त्रिशुली, कोलनी, तारुका, ढिकुरे, छहरेलगायत जिल्लाका मुख्य बजार क्षेत्र हुँदै गुड्ने विद्यालय तथा क्याम्पस बस र भाडामा चलाईएका विद्यालयका बसको बुधबारदेखि अभियानको रुपमा चेकजाँच सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले बताए । विद्यालय बस चेकजाँचका क्रममा सवारीचालक अनुमतिपत्रलगायत आवश्यक कागजपत्र साथमा नभएको, सिट क्षमताभन्दा बढी विद्यार्थी राख्ने गरेको, तीव्र गतिमा लापरवाही तरिकाले सवारीसाधन गुडाउने, कतिपय बसमा नम्बर प्लेट नै नरहेको पाईएको उनले बताए ।
ट्राफिक नियम विपरित सञ्चालित विद्यालय तथा क्याम्पसका बस चालकलाई सम्झाई बुझाइ पहिलोपटकमा छोडिएको उनले बताए । सडक सुरक्षाको साथै विद्यार्थीको यात्रा सुरक्षित राख्न र दुर्घटनामा न्यूनीकरण गर्न यस किमिसको अभियान थालिएको उनले बताए ।
ट्राफिक नियमको पालना गरी विद्यार्थीहरूलाई बस पूर्ण रुपमा रोकि सकेपछि मात्र चढ्न र ओर्लन दिन, विद्यार्थीहरू राम्रोसँग सिटमा बसिसकेपछि मात्र सवारी साधन गुडाउन, विद्यार्थीहरूको कुनै पनि शारिरीक अंगहरू बसबाहिर निकाल्न नदिन, हतारमा र बढि गतिमा सवारी साधन नचलाउन अनुरोध गरिएको उनले बताए ।
अभियानपछि पनि ट्राफिक नियम विपरित असुरक्षित तरिकाले शैक्षिक संस्थाका सवारीसाधन गुडाईएको पाईएमा कडा कारबाही गरिने चेतावनी समेत उनले दिए ।
चालकको स्वास्थ्य परीक्षण
विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण थालेको छ ।
गएको आइतवारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयले नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालेको हो । उक्त अभियान अन्तरगत विदुरको सडक हुँदै आउजाउ गर्ने विशेष गरेर यात्रुबाहक सवारी साधनको चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित औषधि उपलब्ध गराइएको ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार सवारी दुर्घटना न्यूनीकरण गर्न लागी चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर चिकित्सकको पुर्जीअनुसार उनीहरूलाई अत्यावश्यक औषधि निःशुल्क वितरण थालिएको हो । ‘सवारी दुर्घटनाको कारणमध्ये चालकको लापर्बाहीमा उसको स्वास्थ्य अवस्था प्रमुख समस्या पाइएपछि शिविर सञ्चालनमा ल्याइएको हो ।’ उनले भने, ‘परीक्षणमा सम्लग्न स्वास्थ्यकर्मीले चालक–सहचालको आँखा, ब्लडप्रेसरलगायतको अवस्थालाई प्राथमिकता दिएर परीक्षण गरिएको छ ।’
ट्राफिक प्रहरीले यसअघि ‘चालकसँग दुई मिनेट’ कार्यक्रममार्फत यात्रामा रहेका चालकलाई रोकेर ट्राफिक नियम तथा जनचेतना जगाउँदै आइरहेको थियो । उक्त कार्यक्रम प्रभावकारी भए पनि चालकले गाडी रोकर बस्न बाध्य बनाएकोजस्तो प्रतिक्रिया देखाएपछि उक्त अभियानलाई समेत सहयोग पु-याउने उद्देश्यले परिस्कृत स्वरुपमा स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको हो । यात्रुबाहक सवारी साधनको चालक र सहचालकले यात्रुलाई सेवा पु¥याउने क्रममा आफ्नो घरमा समेत पुग्न नसक्ने, स्वास्थ्य जाँच गराउन समय दिन नसक्ने तथा स्वास्थ्य समस्या देखिएपनि गाडी चलाएर आउजाउ गर्दा बासस्थान परिवर्तनले नियमित औषधि सेवन गर्न नपाएको समस्यालाई समेत शिविरबाट लाभ पुग्ने प्रहरीले जनाएको छ ।
पछिल्लो एक महिनादेखि सबै किसिमका सवारी साधनको पाटपुर्जाको अवस्था जाँच सुरु गरेको ट्राफिक प्रहरीले गएको आइतबारदेखि सुरु गरेको चालकको स्वास्थ्य परीक्षण शिविरलाई नियमितरुपमा अघि बढाउदै लैजाने जनाएको छ ।
स्वास्थ्य परीक्षणको लागि सापकोटा मेडिकल हल तथा पोलिक्लिनिक बट्टारले स्वास्थ्यकर्मी र आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको छ । शिविरमार्फत चालक र सहचालकको स्वास्थ्य परीक्षणसहित उनीहरूलाई ट्राफिक नियमसम्बन्धीको जानकारी गराउने र सोही समयमा सवारी साधनको पाटपुर्जासमेत जाँच गरिने ट्राफिक प्रहरी प्रमुख सिंहले बताए ।
ट्राफिक सचेतना कार्यक्रम
त्रिशुली । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न राष्ट्रिय युवा संघ नेपाल नुवाकोट र नुवाकोट ट्राफिक प्रहरीको आयोजनामा जनचेतनामुलक कार्यक्रम भएको छ ।
युवाको लागि ट्राफिक प्रहरी मेरो साथी भन्ने नाराको साथ भएको उक्त कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मिलनकुमार सिंहले ट्राफिक नियम चिह्न तथा संकेतहरू, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कता, सवारीसाधनको सुरक्षा र चेकजाँच लगायतका सडक दुर्घटना पुर्व सुरक्षित रहन अपनाउनुपर्ने उपाय बारेमा जानकारी दिए ।
त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई जोखिम नियन्त्रण तथा दुर्घटना कम गर्न ट्राफिक नियम सम्बन्धि जानकारी दिन उक्त कार्यक्रम गरिएको संघका अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए । युवामाझ ट्राफिक नियम सम्बन्धि कम
ज्ञान हुने र सवारी दुर्घटना हुनबाट पुर्वसचेत रहनको लागि एक दिने कार्यक्रम गरिएको उनले बताएका छन् ।
कार्यक्रम विद्यालयको व्यवस्थापन समिति, आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र जिल्ला प्रहरी कार्यालयको सहयोगमा भएको उनले जानकारी दिए ।
छ महिनामा ट्राफिक जरिवाना ७० लाख
विदुर । नुवाकोटमा सडक विस्तार र सवारीसाधनको संख्या वृद्धिसँगै ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएको छ ।
जिल्लामा चालू आवको छ महिनामा ट्राफिक प्रहरीको सक्रियता बढिरहेको छ । ट्राफिक कार्यालय नुवाकोटको सक्रियता वृद्धिसँगै चालू आवको छ महिनामा ट्राफिक कारबाहीमा पर्नेको संख्या, जरिवाना र राजस्व बढेको छ । यो अवधिमा सवारी कसुर बमोजिमको कारबाहीबाट ७० लाख १५ हजार राजस्व संकलन भएको छ ।
ट्राफिक कार्यालय नुवाकोटले न्यून जनशक्तिको बाबजुद पनि सचेतनाको कार्यक्रम र आकस्मिक चेकजाँचलाई भने निरन्तरता दिइरहेको छ । जिल्लाको १३ वटा विद्यालयका आठ सय २५ जना विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन चालू आवको छ महिनामा दिइसकेको छ ।
नयाँ चालक एक हजार २२५ जनालाई जिल्लाको २५ स्थानमा ट्राफिक नियमको कक्षा, ४९५ जना यातायात व्यवसायी र चालकलाई प्रशिक्षण, ६ सयभन्दा बढी सर्वसाधारणलाई ट्राफिक सचेतनाको कक्षा सञ्चालन कार्यालयले गरेको थियो ।
कार्यालयले जिल्लाको विभिन्न स्थानमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था त्रिशूलीबजारको सहयोगमा ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड राखिसकेको छ । ट्राफिक जनचेतनाका लागि पर्चा पम्प्लेट र सवारीचालकको स्वास्थ्य चेकजाँच तथा सवारीसाधनको प्राविधिक परीक्षण सडकमै गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक एवं जिल्ला ट्राफिक प्रमुख मिलन सिंहले बताए ।
कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दैनिक मापसे चेकिङलाई कडाइका साथ विभिन्न स्थानमा गरिरहेको समेत उहाँले जानकारी दिए । चालू आवको ६ महिनामा जिल्लामा मापसे गर्नेको संख्या २७६ छ । सबैभन्दा कम साउनमा ३२ जना र पुसमा बढी ८३ जना मापसे कारबाहीमा परे । यो अवधिमा २७ हजार ६ सय मापसे जरिवाना उठेको छ । छतमा यात्रु राख्ने १५ साधनबाट १५ हजार, ओभरलोड बोक्ने १६ सय ८८ वटाबाट १४ लाख ६७ हजार पाँच सय राजस्व संकलन भएको हो ।
सिटबेल्ट र हेलमेट नलगाउने सवारीसाधनका ६९८ चालकबाट चार लाख २८ हजार पाँच सय, कागजपत्र साथमा नबोक्ने सवारीचालक तीन हजार ५५२ बाट २४ लाख ३८ हजार पाँच सय, सवारीचालक अनुमतिपत्र नभएका एक हजार २०५ बाट ११ लाख ९५ हजार, बत्तीको अवस्था ठीक नभएको २८९ सवारीसाधनबाट १९ हजार, रूट परमिट नभएका ४६५ सवारीसाधनबाट चार लाख ६२ हजार ५०० राजश्व संकलन भएको छ ।
प्रयोजनविपरीत लगेज लोड बोक्ने १३८ सवारीसाधनबाट एक लाख ३८ हजार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सय ५० सवारीसाधनबाट तीन लाख १७ हजार पाँच सय र १७४ अन्य कारबाहीबाट ८७ हजार कसुरबमोजिमको राजस्व उठेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
ट्राफिक नियम उल्लंघन गर्नेको संख्या घटाउने अभियानमा कार्यालय रहे पनि जनशक्तिको अभावमा सफल हुन सकेको छैन ।
२५ माघ २०७९, बुधबार १४:१४