नुवाकोटको सान ऐतिहासिक बेल्कोटगढी

नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्व बोकेका स्थलहरूमध्येको एक हो बेल्कोटगढी । बेल्कोटगढी नुवाकोट जिल्लाको साविकको बेल्कोट गाविस हाल बेलकोटगढी नगरपालिका वडा नं. १० मा अवस्थित ऐतिहासिक महत्वको स्थान हो । नेपाल एकिकरणका पिता मानिने तत्कालिन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको क्रममा नुवाकोट आक्रमणका लागि बेल्कोटगढी निर्माण गरेका थिए । समुन्द्री सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा रहेको बेल्कोटगढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।

तत्कालिन बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्य एकीकरणको सिलसिलामा विक्रम सम्बत १८०१ मा नुवाकोट आक्रमण गर्न यस गढीको निर्माण गरेको इतिहासमा उल्लेख छ । गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुङ्गा गढीबाट करिव एक किलोमिटर तल तादीनदी तथा आसपासका क्षेत्रहरूबाट ल्याइएको स्थानीयहरूले बताउने गरेकाछन् । स्थानीय अनुभवी पुस्ताका अनुसार बेलुका सुत्दा केहिपनि नरहेको उक्त स्थानमा विहान मान्छे ब्युझिदा दरवार बनिसकेको थियो । पृथ्वीनारायण शाह र उनका सैन्य वल अत्यन्तै बलिया र बहादुर थिए, उनीहरू आफुले चाहेको कुरा जसरी भएपनि हात पार्थे । यसैको ज्वलन्त उदाहरण एक रातमा निर्माण गरिएको बेल्कोटगढीलाई मान्न सकिन्छ ।

बेल्कोटमा अवस्थित बेल्कोटगढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ । बेल्कोटगढी सदरमुकाम विदुरदेखि ३ कोष दक्षिणतर्फ करिव ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पृथ्वीनारायण शाहले तत्कालीन बेल्कोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि उस्तै हालतमा रहेको छ । उक्त मौलोमा दशैको नवमीमा बली दिनुका साथै मेला समेत लाग्ने गर्दछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेल्कोट, जिलिङ, कुमरी र दुईपिपलको संगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै पनि गढी निर्माण गरेका थिए । यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । त्यस स्थानका अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङ छ ।

बेल्कोटगढीको पुरानो तस्बिर

१७ माघ २०७८, सोमबार ०६:०१



तपाईको प्रतिक्रिया