विदुर । विदुर नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रणको कार्यमा एक करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ ।
विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि विदुर नगरपालिकाले मात्र डेढ करोड रुपैयाँ खर्च गरेको हो । नगरपालिकाको ठूलो खर्च स्वास्थ्य साम्रगी खरिदमा भएको छ ।
यस्तै, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापन, दैनिक ज्यालादारीमा काम गर्नेलाई सङ्क्रमणकालीन अवस्थामा राहत वितरण लगायतको शीर्षकमा ठूलो रकम खर्च भएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । कार्यालयलाई कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि विभिन्न क्षेत्रबाट एक करोड १८ लाख रपैयाँ सहयोग प्राप्त भएको र प्राप्त सहयोगलाई कोरोना विपत् पूर्वतयारी, क्वारेन्टाइन सञ्चालन, प्रचार–प्रसार र जनचेतनामूलक कार्यमा खर्च गरिएको कार्यालयले जानकारी दिएको छ ।
विदुर नगरपालिकाले वडास्तरीय राहत वितरण कार्यक्रममा २३ लाख ८४ हजार, कोरोना विपत् पूर्वतयारीमा नौ लाख ५८ हजार, स्वास्थ्य सुरक्षा सामग्री खरिदमा २५ लाख ८७ हजार, रेडियो र टेलिभिजन मार्फत प्रचारप्रसारमा एक लाख आठ हजार, मास्क खरिदमा चार लाख ४५ हजा खर्च गरेको छ ।
विदुर नगरपालिकाले एम्बुलेन्स, शववाहन र अन्य सवारीसाधनको भाडा र मर्मतमा सात लाख ९४ हजार, सुत्केरी राहत कार्यक्रममा चार लाख नौ हजार, त्रिशूली क्वारेन्टाइनमा १९ लाख ७७ हजार, चैनपुर क्वारेन्टाइनमा १७ लाख २७ हजार, च्वाडी क्वारेन्टाइनमा २० लाख १८ हजार, त्रिशूली अस्पतालको आइसोलेसन निर्माणमा १२ लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।
कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले ६२ लाख रुपैयाँ बिनियोजन गरेकोमा सङ्घीय सरकारबाट तीन लाख ५४ हजार रुपैयाँ, कर्मचारी र शिक्षकको तलब सहयोगबाट १८ लाख २७ हजार, च्वाडी क्वारेन्टाइनका लागि विभिन्न गाउँपालिकाहरूबाट आठ लाख २८ हजार, प्रदेश सरकारबाट १२ लाख रुपैयाँ प्राप्त भएको विवरण सार्वजनिक गरेको हो । नगरपालिकालाई नगर क्षेत्रभित्र रहेका विभिन्न सङ्घ,संस्था तथा सहकारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेका थिए ।
१३ आश्विन २०७७, मंगलवार ११:१९