विदुर । विदुर नगरपालिकाले कृषि तथा पशुपन्छीजन्य कृषि उद्योगको उत्थानका लागि नेपाल बैंक लिमिटेडसँग एकीकृत ब्याज अनुदान र बिनाधितो ऋणसम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतासंगै विदुर नगरपालिकाका नागरिकले विना धितो र विना ब्याज बैंकको रकम चलाउन पाउने भएका छन् ।
विदुर नगरपालिकाभित्रका वैदेशिक रोजगारीमा गएर आएका र परम्परागत सीप र पेशालाई आधुनिकीकरण गर्न चाहने युवाले अवसर पाउने भएका छन् । नगर प्रमुख उद्यमशीलता विकास कार्यक्रम निर्देशिका अनुसार विदुर नगरपालिकाले नेपाल बैंकसँग एकीकृत ब्याज अनुदान र बिनाधितो ऋणसम्बन्धी सम्झौता गरेको हो ।
विदुर नगरपालिकाको जमानतमा नेपाल बैंकले निर्देशिकामा तोकिएका मापदण्ड अनुसार कृषि कर्जा प्रवाह गर्नेछ । जसका लागि विदुर नगरपालिकाले सहजीकरण गर्नेछ । नगरपालिकाको जमानतमा बिनाधितो ऋण प्रवाह तथा ब्याजमा अनुदान दिँदै स्वरोजगारको प्रवद्र्धन गर्न कार्यक्रम सञ्चालन गर्न लागेको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूको सीप र दक्षतालाई नगरपालिकामै पुनरुत्थान गर्न बैंकसँग बिनाधितो ऋण र ब्याजमा अनुदान दिने कार्यक्रमलाई अगाडि बढाएको उनले बताएका छन् । विदुर नगरपालिकाको नगर प्रमुख उद्यमशीलता विकास निर्देशिका अनुसार महिला उद्यमशीलता बिकास गर्ने, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गने जनजाति सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिँदै आयआर्जनमा सहजता प्रदान गर्ने बताइएको छ ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण अधिकारी र विदुर नगरपालिकाका प्रमुखु सञ्जु पण्डितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा नेपाल बैंक लिमिटेड बागमती पदेश प्रमुख सुन्दर पन्थी र नेपाल बैंक त्रिशुली शाखाका प्रबन्धक सुजन राजकर्णिकार, विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलको सहभागिता थियो । बिनाधितोको ब्याजमा नेपाल बैंकले ६ प्रतिशत र नगरपालिकाले ३ प्रतिशत अनुदान दिने सम्झौतामा उल्लेख छ ।
२८ कार्तिक २०७७, शुक्रबार १०:१९