बालुवाको हलुवा

विदुर । विदुर नगरपालिकाले पाँच दिन अघि नदी उत्खननको अनुमती दिएको बर्डस्टोन क्रसर उद्योगको काम हिजो आइतबार दिउँसोबाट रोकिएको छ । क्रसरको काम रोकिएसंगै बाहिर आउन थालेको तथ्य र जानकारीका आधारमा कम्पनी भन्दा बढी दोषि विदुर नगरपालिका देखिएको छ । पक्की पुलको साढे तीन सय मिटरसम्म खन्न मिल्ने गरी तयार भएको आइईई, बेलकोटगढी नगरपालिकाको भुगोल पनि आफ्नै हो भनेर नगरपालिकाले कम्पनीलाई नदी उधिन्न दिइनुले विदुर नगरपालिका तर्फ औला तेर्सिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला घरेलु, बन कार्यालय लगायतका सरकोकारवाला कार्यालयका प्रतिनिधि अनुगमनमा जाँदा कार्यक्षेत्र भन्दा बाहिर र तोकिएको भन्दा बढी खनेको पाइएपछि तत्कालका लागि बन्द गराएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । उनका अनुसार हिजो (आइतवार) साँझ अवेरसम्म जिल्ला प्रशासन कार्यालयमा क्रसर उद्योगी, सरोकारवाला कार्यालयका प्रमुख र उत्खननको अनुमती दिने विदुर नगरपालिकाका मेयर र उपमेयरबीच छलफल भएको थियो ।

विदुर नगरपालिकाले बर्डस्टोन क्रसर उद्योगलाई ३१ दिनको लागि १५ हजार घनमिटर उत्खनन् गर्न अनुमती दिएको थियो । कात्तिक १७ गते क्रसरले पाएको अनुमतीको आधारमा नदी उत्खनन् हुनथालेको थियो । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठकै बलमा क्रसरलाई अनुमती दिइएको र कानूनी प्रक्रृया पुरा नभएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय आइतवार दिउँसो अनुगनमा गएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्ड र क्षेत्रधिकार भन्दा बाहिर गएर नदी खनिरहेको भेटेपछि आइतवार दिउँसो नै प्रशासनले तत्काल उक्त कार्यमा रोक लगाएको हो ।

हिजो (आइतवार) साँझ जिल्ला प्रशासन कार्यालयमा भएको छलफल अनुसार विदुर नगरपालिकाले उत्खनन् गर्न दिएको क्षेत्रको चारकिल्ला प्रमाणित गर्ने, दैनिक कत्ति घनमिटर सामाग्री संकलन भएको हो त्यसको विवरण नगरपालिमा अद्यावधिक हुने व्यवस्था मिलाउने, बगिरहेको नदी भन्दा पर जानुपर्ने लगायतका मापदण्ड पुरा भएमा मात्रै काम गर्न दिने प्रमुख जिल्ला अधिकारीले अडान लिएका छन् । छलफलमा सहभागी विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जसरी पनि उक्त क्रसरलाई नदी उत्खनन्को काम दिनुपर्ने अडान राखेका छन् । उनले क्रसरको उक्त काम रोक्ने भएर प्रदेश वा संघबाट नगरपालिकालाई ९/१० करोड रुपैयाँ आउने व्यवस्था सिडिओ वा जिल्ला समन्वय समितिका प्रमुखले मिलाउनु पर्ने तर्क गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी रिसालले विदुर नगरपालिकाको अनुमतीमा बर्डस्टोन क्रसरले बेलकोटगढी नगरपालिका पट्टी गएर नदी उत्खनन् गरेको, पुलको साढे तीन सय मिटर वरपर मेसिन चलाएको, ९० सेमि भन्दा गहिरो खनेको जस्ता प्रमाण अनुगमनका क्रममा फेला परेकोले यो काम अबैध भएको ठोकुवा गरेका छन् । उनले विदुरका मेयर श्रेष्ठलाई कम्पनीको आधिकारिकता र फिल्डमा गरिरहेको काम पनि हेर्न आग्रह गरेका छन् । ‘कम्पनीसंग सम्झौता गरेर काम मात्रै अगाडी बढाउने भन्दा पनि त्यसको आधिकारिकता र बैधानिकता पनि हर्न म विदुर नगरपालिकानलाई अनुरोध गर्छु’ बैठकमा सिडिओ रिसालले भने ।

विदुर नगरपालिका मेयर राजन श्रेष्ठले भने आफुहरुलाई जानकारी नै नदिई सहायक प्रमुख जिल्ला अधिकारी अनुगमनमा गएको प्रति आपत्ति प्रकट गरे । ‘स्थानीय सरकारलाई बाइपास गरियो, तपाईहरु आफुखुसी अनुगमनमा जाने हो सिडिओ साप, मलाई त भन्नुभएन कम्तिमा उपमेयरलाई जानकारी दिनुपर्दैन थियो, स्थानीय सरकारलाई मिनिमाइज गर्न खोजेको हो ?’ प्रजिअ रिसालले जनगुनासो अधिक आएकोले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितकै टोली अनुगमनमा गएको बताए । क्रसर व्यवसायीहरुलाई सम्वोधन गर्दै प्रजिअ रिसालले भने– ‘तपाईहरुले टन्न कमाउनु भयो, हामीले पाएनौं भनेर पेट भतभत पोलेर अनुगनमा लागि पठाएको होइन, अवैध काम भइरहेको छ भन्ने गुनासो धेरै आएपछि सत्यतथ्य हेर्नको लागि पठाएको हुँ । र हामीले कानून भन्दा बाहिर हुने कामको निगरानी र नियन्त्रण गर्नुपनि पर्छ ।’ उनले थप– अनुगनम टोलीले अबैध काम गरेको नै भेटेको छ, अहिले तत्काललाई खोला उत्खनन् गर्नका लागि हामीले दिन सक्दैनौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले मेयर राजन श्रेष्ठले जनप्रतिनिधि भन्दा पनि उद्योगी व्यवसायीको जस्तो अभिव्यक्ति दिएको बताए । क्रसरले गरिरहेको काम रोकिनु हुँदैन भन्नेमा मात्रै मेयर श्रेष्ठको रटान रहेको उनले बताए । उनका अनुसार जिल्ला समन्वय समितिले विदुर नगरपालिकाले दिएको अनुमती र त्यस अन्र्तगत कम्पनीले गरिरहेको कामको अनुगमन समेत गर्ने भएको छ । यस विषयमा समन्वय समितिले सरोकारवाहरुसंग छफलफल राखेर मात्रै निष्कर्ष दिने बताइएको छ । त्यत्तिबेलासम्म नदी उत्खनन्को कार्य रोक्नु पर्ने समहती भएको छ । यस विषयमा चुनाव पछि मात्रै छलफल गर्ने प्रस्ताव सिडिओले गरेका छन् । चुनावको अन्य काममा व्यस्त हुनुपर्ने भएकोले यस विषयमा मंसिर ४ पछि छलफल राख्नका लागि विदुरका मेयर र समन्वय प्रमुखसंग रिसालले आग्रह गरे ।

अनुमती विदुरको, उत्खनन् बेलकोटगढीमा

बेलकोगढी नगरपालिका तर्फ खोला खनिरहेको मेसिन र गाडी

विदुर नगरपालिकाको अनुमती लिएर नदीमा बालुवा र ढुङ्गा सोहोर्न खोलामा मेसिन हालेको बर्डस्टोन क्रसरको हिजो अनुगमन गर्न गएका सरकारी अधिकारीहरु सुरुमा अलमलमा परे ।

तीन वटा स्क्याभेटर/जेसिभि र केही थान टिपर तादी खोला पारी थियो । त्यही खोलाले नै विदुर र बेलकोटगढी नगरपालिकाको सिमा निर्धारण गर्छ । तर खोला तारेर बेलकोटगढी नगरपालिका वडा नं. १२ मा पर्ने नदीको मध्य भागमा बालुवा खनिरहेको अवस्थामा मेसिन र गाडीहरु भेटिए । ‘हामीले ति सबै सामाग्रीलाई तत्कालन नियन्त्रणमा लिएका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भने । बेलकोटगढी नगरपालिकाका मेयर जगत गुरुङ्गले आफ्नो कार्यपालिकाले नदी खन्नका लागि कही कसैलाई अनुमती नदिएको र त्यस्तो भेटिए तत्काल कारबाही गर्न सहायक प्रजिअ अर्याललाई फोनबाटै भने । तर क्रसर उद्योगका मालिकहरुले खोला पारी बेलकोटगढी नभई विदुरकै क्षेत्र रहेको तर्क गरेका छन् । हिजो साँझको बैठकमा उनीहरुले यसपालि खोला वर आएको भएपनि त्यो क्षेत्र विदुर नगरपालिकाकै भएको तर्क गरेका हुन् । मेसिन नियन्त्रणमा लिइएको क्षेत्र कुन नगरपालिकाको भुगोलमा पर्ने हो एकिन गर्नका लागि भने जिल्ला समन्वय समितिले भोलि दुवै नगरपालिकाको मेयरलाई छलफलमा राख्ने तयारी गरेको समाचार श्रोतले जनाएको छ ।

कम्पनीका अध्यक्ष विनोदराज श्रेष्ठले भने विदुर नगरपालिकाले चिन्ह नलगाएपनि मौखिक रुपमा खोलापारी पनि नगरपालिकाकै क्षेत्र भनेकोले उत्खनन् गरेको बताएका छन् । विदुर नगरपालिकाले पठाएको प्राविधिक टोलीले खोलामा चिन्ह लगाउन मिलेन पारी पनि तपाईहरुले काम गर्ने क्षेत्र हो भनेर हामीलाई दिएपछि हामीले काम गरेका हौं’ श्रेष्ठले भने ।

अनुगमनमा के देखियो ?

मेसिन प्रयोग गर्न नपाइने सम्झौता गरेको बर्डएस्टोनले मेसिन बगिरहेको खोलामा प्रयोग गरेको छ । मेसिन प्रयोग गर्ने नै गरि विदुर नगरपालिकाले लिखित अनुमती दिएकोले उनीहरुले मेसिन लगाएका हुन् । ९० सेमी गहिरो हुनुपर्नेमा धेरै ठाउँमा एक मान्छे गहिरो खालड पर्ने गरी बालुवा उभाइएको छ । विदुर नगरपालिकाको अनुमतीमा बेलकोटगढी नगरपालिका तर्फ उत्खनन् भएको छ । निर्माण भइरहेको पक्की पुलको साढे तीन सय मिटर वरपरसम्म मेसिन लगाएर बालुवा र ढुङ्गा निकालिएको छ । बगिरहेको नदीमै मेसिन लगाएर सामाग्री निकालिएको छ । १२ वटा सवारी साधनको अनुमती लिएकोमा प्रयोगमा आएको र पार्किङमा राखिएको गरी १६ वटा सवारी साधन भेटिएको छ । उत्खनन् गर्ने क्षेत्रको चारकिल्ला तोकिएको छैन । दैनिक कत्ति उत्खनन् भयो भन्ने विवरण कम्पनी र विदुर नगरपालिकाले राखेको छैन ।

२१ कार्तिक २०७९, सोमबार १७:५८



तपाईको प्रतिक्रिया