अनलाइन फारम निः शुल्क हुँदै

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम जेठ १ गतेबाट निःशुल्क भरिदिने भएको छ । नुवाकोटको विदुर नगरपालिकाले यो सेवा दिन लागेको बताइएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच गएको सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको हो ।

आगामी जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिका मार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । त्यसका लागि सामीमा यस अिघनै कार्यरत कर्मचारीहरूलाई प्रयोग गरिने बताइएको छ । विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था आफैँ मिलाउने भएको छ । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि अनलाइन आवेदन अनिवार्य गरिएको छ । सोही कारण जिल्लाभरका सेवाग्राहीलाई निःशुल्क सेवा दिनका लागि विदुर नपाले जिम्मेवारी लिन लागेको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी थापाका अनुसार अनलाइन आवेदन फाराम भरेवापत अहिले राहदानीका लागि तीन सय रुपैयाँ र राष्ट्रिय परिचयपत्रका लागि एक सय रुपैयाँ शुल्क लिन प्रशासन कार्यालयले तोकेको शुल्कमा निजी क्षेत्रले सेवा दिँदै आएका छन् ।

‘अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावासयिक सेवा प्रदायकहरूले महँगो शुल्क ( पाँच हजार रुपैयाँसम्म) लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ’, प्रजिअ थापाले भने, ‘विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहजसहित आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।’

जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन साता लाग्ने छ । त्यसै गरी पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्र भने सेवाग्राहीले चाहेको समयमै भर्न पाइरहेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सयभन्दा बढी हुने प्रशासनको तथ्याङ्क छ ।

जेठ १ गतेदेखि प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदनको सेवा लिन पुग्नेलाई विदुरले निःशुल्क फाराम भर्नेसहित विदेश जाँदा अपनाउनुपर्ने प्रक्रिया, जान चाहेको देशको कानुनी सेवा, सीपसहितको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने जनाएको छ ।

विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पु-याउँदै आएको सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।

१ जेष्ठ २०८०, सोमबार २०:२९



तपाईको प्रतिक्रिया